झापा, निर्माणाधीन ‘एसियन हाइवे’को काम चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काँकरभिट्टा लौकही सडक आयोजना (पूर्वी) खण्डलाई निर्देशन दिएका छन् । आयोजना प्रमुख सुनिलबाबु पन्तलाई निर्माणाधीन सडकको डाइर्भसन बनाइएको ठाउँमा पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिएका हुन् । ठूलो पानी आएको समयमा पानीले निकास नपाएर राजमार्ग नै अवरुद्ध पार्न सक्ने कुरालाई मध्यनजर गर्दै अहिले नै व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीले पन्तलाई निर्देशन दिए ।
यस अघि परेको पानीले निकास नपाउँदा सडक अवरुद्ध भएको भन्दै प्रमुख जिल्ला अधिकारीले डाइभर्सनका कारण सडक अवरुद्ध हुन नदिन समयमा नै डाभइभर्सन र पानीको निकासलाई व्यवस्थित गर्न निर्देशन दिए ।
निर्माणाधीन पूर्व – पश्चिम सडकको पूर्बी खण्डको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारीले सडक पूर्वाधार आयोजना प्रमुख सहित निर्माण व्यवसायीसंग छलफल समेत गरेका छन् ।
सडकका कारण कुनै पनि दुर्घटना हुन नहुने भन्दै प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी र आयोजना प्रमुखलाई जोखिमपूर्ण क्षेत्रको पहिचान गर्दै त्यस्ता ठाउँमा इन्धन भरेको स्काभेटरसहितका उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न सचेत गराएका छन् । वर्षाका कारण कुनैपनि विपद् आइलागे तत्काल त्यसको समाधानका लागि सचेत रहन उपकरण सहितको जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । झापाका चार स्थान अति जोखिमपूर्ण क्षेत्र रहेको औल्याएका प्रमुख जिल्ला अधिकारीले अन्य जोखिमपूर्ण क्षेत्रमा समेत सडक दुर्घटना न्यूनीकरणका लागि ‘रिफ्लेक्टिर’ राख्न भनेका छन् । जसका लागि ट्राफिक प्रहरी र सडक आयोजनाको संयोजनमा काम हुनु पर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
सडक निर्माणाधीन अवस्थामा रहेकाले सवारीलाई तीब्र गतिमा नकुदाउन उनले सवै सवारी चालकलाई अनुरोध गरेका छन् । यदि तीव्र गतिमा सवारी चलाइएको खण्डमा ट्राफिक प्रहरीले तत्कालै जरिवाना गर्ने प्रजिअ अधिकारीको भनाई छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी मात्र नभई यातायात व्यवसायी र सवारी चालक समेत गम्भीर बन्नु पर्ने प्रजिअ अधिकारीको भनाई छ ।
यसैबीच आयोजना प्रमुख पन्तले ट्राफिक प्रहरीसंगको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका विषयमा छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । उनले निर्माणाधीन सडकको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउँदै वर्षाको समयमा समेत सडकलाई अवरुद्ध हुन नदिने र त्यसका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने प्रतिवद्धता जनाए ।
छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय झा पाका प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी वल नेपाल नं. २ गण नेपालका सशस्त्र प्रहरी उपरीक्षक तुलवहादुर भण्डारी, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेल लगायत सहभागी थिए ।
पूर्वी खण्डमा २० प्रतिशत प्रगति
एशियाली विकास बैंकको ८४ दशमलव १ प्रतिशत र नेपाल सरकारको १५ दशमलव ९ प्रतिशत लगानीमा ‘एसियन हाइवे’ निर्माणाधीन छ । काँकरभिट्टादेखि लौकही सडक खण्डसम्मलाई पूर्वी खण्ड सडक योजना नामाकरण गर्दै निर्माणाधीन ‘एसियन हाइवे’को हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । २०८० साल माघ १९ गतेदेखि निर्माण शुरु भएको काँकरभिट्टा – केर्खा पूर्वी खण्डको ४५ किलोमिटर सडक निर्माणको समष्टिगत रुपमा २० प्रतिशत काम भएको काँकरभिट्टा लौकही सडक आयोजना (पूर्वी खण्ड) प्रमुख सुनिलवावु पन्तले जानकारी दिए । उनका अनुसार झापाको चारआली, बिर्तामोड र चारपानेमा तीन वटा ओभरपास निर्माण गरिने छन् । जहाँ वीच विन्दूबाट २५० मिटर पूर्व र २५० मिटर पश्चिमसम्म ओभरपास रहने छन् । त्यस्तै चारआली पश्चिम हात्तीका लागि समेत ओभरपास निर्माणको काम भइरहेको छ । त्यस्तै दुई लेनका २१ वटा पुल निर्माण गरिने छ ।
योजना प्रमुख पन्तका अनुसार हालसम्म १५१ वटा कल्भट निर्माण मध्ये ६० वटा सम्पन्न भएका छन् । त्यस्तै ५१ वटा चालू अवस्थामा रहेका छन् । २० वटा पुलको जग तथा सबस्ट्रक्चर निर्माण कार्य चालू रहेका छन् । त्यस्तै १० वटा मध्ये तीन वटाको वक्स ब्रिज निर्माण सम्पन्न भएका छन् ।
काँकरभिट्टादेखि केर्खासम्म ४५ किलोमिटर सडक निर्माणका लागि २०२३÷१०÷१९ मा सम्झौता भई २०२७ ÷०२÷०१ मा निर्माण सम्पन्न हुने छ । ४÷६ लेनको सडक निर्माणका लागि १० अरव ६ करोड रुपैयाँमा डेक्का लागेसंगै काम भइरहेको र सडक निर्माणका क्रममा २१दशमलव ४९ प्रतिशत प्रगति भएको योजना प्रमुख पन्तको भनाई छ ।
यता सोही मितिमा सम्पन्न गर्ने गरी ५ अरव ९७ करोडमा निन्दा, विरिङ र कनकाई पुलको काम भइरहेको छ । जसको प्रगति १८ दशमलव ११ प्रतिशत काम भएको छ ।
हाल आयोजनाका लागि सडक फिलिङ गर्ने माटोको अभाव, विद्युत पोल हटाई साइड क्लियरेन्स कार्य सुस्त रहेको आयोजना प्रदुख पन्तले बताए । उनका अनुसार दुई हजार ४ सय पोल हटाउनु पर्नेमा ७० प्रतिशत मात्रै पोल सार्ने काम भएको छ । सडक निर्माणका लागि सिमेन्ट तथा डण्डीमा मूल्य उतारचढाव , दक्ष कामदारको अभावका कारण पनि सडक निर्माणले गति लिन नसकेको उनको भनाई छ ।
पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
‘एसियन हाइवे’ निर्माणका क्रममा पश्चिम खण्डमा पूर्वी खण्डमा भन्न्दा बढी प्रगति भएको पाइएको छ । पश्चिम खण्डमा २३ प्रतिशत काम भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा झापा , मोरङ र सुनसरी जिल्लामा पर्छ । शुरु विन्दू सितापुरीदेखि पश्चिम खण्ड लाविपूर सुनसरी सम्म हो । यसको लम्वाई ५० दशमलव ७६ किलोमिटर रहेको छ ।
आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मङ्गलबार देखि लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ ।
एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ ।