बिर्तामोड ।
झापाको बिर्तामोडमा कलेजका छात्राहरुलाई लक्षित गरेर आत्म सुरक्षा सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिला मुक्ति अभियान झापाको आयोजनामा बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयमा कलेजका विद्यार्थीलाई लक्षित गरेर आत्म सुरक्षाका लागि लैंगिक हिंसा तथा यौनजन्य हिंसा सम्बन्धि कानुनी प्रावधान तथा सुरक्षाका विषयमा प्रशिक्षण दिइएको हो ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्रिन्सिपल डा. रुपक खनाल, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, बिर्तामोड–४ की महिला वडा सदस्य निर्माला राजवंशी, उद्यमशिल महिला समूह झापाकी अध्यक्ष पार्वता विमली खरेल, अधिवक्ता हेमकला कट्टेल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष शर्माले महिला हिंसा विरुद्धका अभियाानले समाजमा सचेतना जगाउने भन्दै महिला मुक्ति अभियानले झापाका विभिन्न स्थानमा हिंसा विरुद्धका सचेतना मुलक कार्यक्रम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा अधिवक्ता कट्टेलले आत्म सुरक्षाका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइकी थिइन् । उनले हिंसाबाट जोगिन अप्नाउनुपर्ने सुरक्षाका विषय तथा हिंसामा परे त्यस विरुद्ध हुने कानुनी दण्ड र सजायका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन् । पछिल्लो समय लैंगिक हिंसाका घटना बढदै गएको र त्यसविरुद्धका सचेतना कार्यक्रहरुलाई अझ ब्यापक बनाउनुपर्नेमा जोड दिइन् ।
गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्रिन्सिपल डा. खनालले लैंगिक हिंसा विरुद्धका कार्यक्रमले समाजमा हुने हिंसालाई उजागर गर्ने बताए । उनले विद्यालय तथा कलेज तहमै हिंसा विरुद्धका सचेतना मूलक प्रशिक्षणले महिलाको सुरक्षामा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
महिला मुक्ति अभियानकी सह–सचिव सम्झना गिरीले स्वागत गरेको कार्यक्रममा पूर्वसचिव विनिता तामाङले औचित्यमाथि प्रकाश परेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव देवका भट्टराईले गरेकी थिइन् ।