सरकारले पर्याप्त अवसर उपलब्ध नगराउँदा नेपालीहरु लुटिने गरेको घटना नयाँ होइन । स्वदेशमा रोजगारी नपाउँदा रोजगारीकै निम्ति भौंतारिनु पर्नेदेखि अनेक शारीरिक, मानसिक एवम् भौतिक कष्ट व्यहोर्नुपर्ने नेपालीको नियति नै बनिएको छ । सरकारले आमनागरिकको अभिभावक बन्नुपर्नेमा राज्य सञ्चालकहरु र राज्य सञ्चालन गर्छौं भन्नेहरु नै मानव बेचबिखनका आरोपमा विवादित छन् । नक्कली भुटानी शरणार्थी प्रकरण र पछिल्लो समय भिजिट भिसाको आवरणमा भइरहेको यस्तो अमानवीय घटना त्यसका उदाहरण हुन् । दुबै प्रकरणमा स्वदेशमा रोजगारीको अवसरको अभाव नै प्रमुख कारक रहेको टिप्पणी भएकै छ ।
पछिल्लो समय हिमालदेखि तराई र मेचीदेखि महाकालीसम्मका युवाहरु आकर्षक रोजगारीको प्रलोभनमा संगठीत गिरोहद्वारा बन्धक बनाइएको समाचार सार्वजनिक भएको छ । भारतको उत्तराखण्डस्थित प्रहरी र त्यहाँ कार्यरत सामाजिक संस्थाको सहयोगमा गत बिहीबार पैंतीस जना नेपालीको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । बन्धक बनाइएको अवस्थामा उद्धार गरिएका नेपालीहरुको आधारमा विभिन्न ठाउँमा अझै दुई सय जना नेपाली रहेको हुनसक्ने नेपाली अधिकारीहरुले बताएका छन् । उनीहरुले विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा बन्धक बनाइएका नेपालीहरुको पनि उद्धारको प्रयत्न भइरहेको बताएका छन् । उद्धार अभियानमा भारतस्थित गैरसरकारी ‘किन इन्डिया’ नामक संस्थाको सहयोग रहेको नेपाली अधिकारीले बताएका छन् । उत्तराखण्डस्थित रुद्रपुर भन्ने ठाउँमा थप नेपाली बन्धक अवस्थामा रहेको हुनसक्ने र उनीहरुलाई पनि चाडै उद्धार गरिने नेपाली दूताबासको भनाइ छ । नेपाली दूतावासका नियोडा उपप्रमुख सुरेन्द्र थापाले आकर्षक रोजगारीका नाममा बोलाएर बन्धक बनाउने र रकम असुल्ने ‘नयाँ शैली’ देखिएको उल्लेख गरेका छन् ।
स्वदेशमा रोजगारीको अवसर नपाएर बसेका नेपालीलाई आकर्षक रोजगारीको प्रलोभनमा भारत पु¥याउने र उनीहरुबाट बैंक खाता, आधार कार्ड, तालिमका लागि भन्दै घरबाट पैसा मगाउने गरेको अनुसन्धानबाट खुलेको छ । ताप्लेजुङदेखि डोटीसम्मका साधारण पढेलेखेका युवा नयाँशैलीको ठगीबाट पीडित भएका छन् । भारतीय प्रहरीले यस्तो अपराधमा संलग्न मध्ये केहीलाई पक्राउ पनि गरेको छ । तर, यसको जालो व्यापक हुनसक्ने बताइन्छ । यस्तोमा ठगिनुपर्ने नियतिबाट नेपालीलाई जोगाउन बेलैमा सचेतना कार्यक्रम साथ सीमानाकामा निगरानी बढाउन जरुरी छ । सरकारमा रहेकाहरु नै नक्कली शरणार्थी र भिजिट भिसा प्रकरणको विवादबाट मुक्त नभइरहेका बेला यस्ता घटना नियन्त्रण होला अनुमान गर्न गाह्रो छ । त्यसका लागि सरकारको दृढ इष्छाशक्ति चाहिन्छ र सत्य–तथ्य सार्वजनिक गरेर दोषीलाई दण्डित गर्नुपर्छ । यसका साथै मानव बेचबिखन जस्तो अमानवीय अपराधको अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्छ ।