बिराटनगर,
कोरोना भाइरसबाट संक्रमित एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम घर भएकी ३९ वर्षीया लामा थरकी महिला रहेकी छन्। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।
सूर्योदय नगरपालिका-१० की ती महिलालाई उपचारका लागि मंगलबारै बिहान ४:२० बजे अस्पतालमा भर्ना गरिएको भएपनि बिहान करिव ६ बजेतिर उनको मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक निर्देशक दिपेश राईले जानकारी दिए।
भर्नाका लागि ल्याउँदा नै बिरामीको अवस्था गम्भीर रहेको र आकस्मिक कक्षमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको थियो । ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएको थियो भने ज्वरो समेत आएको थियो ।
सोमबार झापाको बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । त्यस क्रममा उनमा कोरोना संक्रमण पाइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी डीएसपी तथा प्रवक्ता कोपिला चुँडालका अनुसार जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी प्रक्रिया पूरा गरेर महिलाको शव परिवारको जिम्मा लगाइएको बताईन्।