विनोद सापकोटा
झिलझिले, झापाको शिवसताक्षी ८ झिलझिलेस्थित झिलझिले माध्यमिक विद्यालयमा अक्षय कोष स्थापनाको क्रम विस्तार हुँदै गएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय राजकुमार रिजालको स्मृतिमा उहाँकी धर्मपत्नी दुर्गा रिजाल र छोरीहरू रोशनी रिजाल (काठमाडौँ) तथा रिना रिजाल (अस्ट्रिया) ले नगद रु १ लाख १ हजार विद्यालयको खातामा जम्मा गरिदिएपछि कोषको रकम विस्तार हुदै गएको हो ।
विद्यालयका प्रधानाध्यापक खेम निरौलाका अनुसार अक्षय कोषको प्राप्त ब्याज रकमबाट आधारभूत तह (कक्षा १ देखि ५) मा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका एक छात्र र एक छात्रालाई हरेक वर्ष छात्रवृत्ति वा पुरस्कार प्रदान गरिनेछ । यसले विद्यालयमा शिक्षा पहुँच र गुणस्तर सुधारमा योगदान दिने अपेक्षा गरिएको छ । स्व. राजकुमार रिजालले २०४४ भदौ १४ गतेदेखि २०५५ मंसिर २७ गतेसम्म तत्कालीन झिलझिले निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा काम गरेका थिए । प्रधानाध्यापकका रूपमा उहाँले विद्यालयमा शैक्षिक सुधार, पठनपाठनमा नियमितता र अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
राजकुमार सरले विद्यार्थी अनुशासन र शिक्षकहरूबीच सहकार्यलाई प्राथमिकता दिनुभएको थियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुँगानाले भने । ‘विद्यालयको भौतिक पूर्वाधार सुधार र अभिभावक सहभागिता अभिवृद्धिमा समेत उहाँको योगदान स्मरणीय रहेको छ ।’ रिजालले २०७० चैत्र १ गते स्वैच्छिक अवकाश लिएका थिए भने २०८० मंसिर २५ गते उनको स्वर्गारोहण भएको थियो । झिलझिले माविमा अक्षय कोष स्थापना गर्ने पहिलो व्यक्ति पूर्व प्रधानाध्यापक दीपक कुमार न्यौपाने हुन् । उनले रु १ लाख ११ हजार को अक्षय कोष स्थापना गरेका छन् ।
त्यसपछि स्थानिय अभिभावक विश्वराज ओझाको परिवारले रु १ लाख ५१ हजार को अर्को अक्षय कोष स्थापना गरेका थिए । अहिले स्व. रिजालको परिवारले थप गरेको रकमले अक्षय कोषको जम्मा रकम रु ३ लाख ६३ हजार पुगेको विद्यालयका प्रधानाध्यापक खेम निरौलाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुङ्गानाले विद्यालयमा कम्तिमा २५ लाखको अक्षय कोष स्थापना गर्ने लक्ष्य समितिको रहेको बताएका छन् । गरिब, अल्पसंख्यक, आदिवासी जनजाति, दलित र अन्य समुदायका बालबालिकाका लागि अक्षय कोषको ब्याजले विद्यार्थीलाई शिक्षा सुलभ र विद्यालय जाउँ जाउँ हुने उनले बताए ।
स्व. रिजालकी धर्मपत्नी दुर्गा रिजालले विद्यालयको योजना अनुकरणीय रहेको बताउँदै आफू विद्यालयको अक्षयकोषमा सहभागि हुन पाउँदा सन्तुष्ट भएको जनाइन् । “आफ्ना श्रीमानको नाम जीवन्त राख्न पाएकोमा र विद्यालयको छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउँदा सन्तोष लागेको छ,” उनले भनिन् ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिले आम सर्वसाधारणलाई दिवंगत आफन्तको स्मृतिमा अक्षय कोष स्थापना गरी शैक्षिक गुणस्तर सुधार अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।