नेपालमा घर–घरको कहानी

0
15

म अटो चढेर आफ्नो गन्तव्यतिर लागे । अटो चालक कमल खतिवडा (नाम परिवर्तन)को नम्र र मिठो बोलीबाट म निकै प्रभावित भएँ । ती चालक मलाई परिचित झैं आफ्नो कथा सुनाए । आज मैले मेरो घर बेच्न एउटा ग्राहक लिएर घर पुगेँ । सायद अब मेरो घर जग्गा बिक्छ होला । अस्ति आधि जग्गा बेचेँ, उनी लगातार बोल्न थाले ।

अस्तिको पैसा के गर्नुभयो ? र फेरि घर बेचेर के गर्नुहुन्छ ? अनि कहाँ जानुहुन्छ ? कहाँ बस्नुहुन्छ ? भनेर मैले सोधेँ । मेरो सबै छोराछोरी विदेशी भए । अब उतै जाने, नभए काठमाडौं जाने, उतै बस्ने, उतै खाने नि ! यहाँ बस्न मन मान्दैन । साथीभाइ, आफन्तले पनि त्यति वास्ता गर्दैनन् । आफूलाई एक्लो र दुःखी राख्नुभन्दा उनीहरुसँगै बसोबास गर्नुपर्छ भन्ने हामी बुढाबुढीको निष्कर्ष हो । अनि यहाँ बसेर के गर्नु पीडा, तनाव लिनु कि त रूँदै जीवन बिताउनु ? उनका प्रति प्रश्नहरू निरन्तर जारी रहे ।

सानोभाइ शर्मा (नाम परिवर्तन) एउटा विवाहमा भेटीयो । राम्रो व्यापार गर्ने बुढेसकालमा बुबाआमासँग नेपालमा नै बस्ने अठोट लिएर बसेको सुनाए । तर, विवाहपछि श्रीमती यूरोपतिर लागिन् । उतै बसोबासको व्यवस्था मिलाउनुपर्छ, नानीबाबुको भविष्य उतै बन्छ भन्न शुरु गरेको बताए । यहाँको अवस्था हेर्दा म पनि उतै लाग्नुपर्ला उनले आफ्नोे भावी योजना सुनाए ।

नाम बताउन नचाहने एक महिलाले आफ्नो बुबाको मृत्युुपछि चार दिनसम्म अस्पतालमा राख्नुपरेको गुनासो सुनाइन् । पछि परिवारका सदस्यहरू विदेशबाट आएपछि मात्र दाहसंस्कार गरिएको आफ्नोे व्यथा पोखिन् ।

जीवनको पचहत्तर बसन्त पार गरेका मिलन थापा (नाम परिवर्तन) श्रीमती र आफूमात्र घरमा बस्दै आएको धेरै वर्ष बितेको बताए । बिरामी पर्दा औषधि पानी दिने, दुःख बिराममा हेरचाह गर्ने, बुढेसकालमा हुने सहारा आफ्ना दुई छोराहरु र छोरीहरु घरजम गरी विदेशमा नै बसेकाले यहाँ हामीहरू एक्लोपनले बिरोक्तिएको सुनाए । आफूहरुलाई पनि उतै बोलाइरहेका छन्, तर हामीहरू यहाँ नै बस्ने गरेको दुखेसो पोखे ।

यहाँ प्रस्तुत गरिएका उदाहरणहरुले हाम्रो समाजको बिम्बको प्रतिनिधित्व गरेको देखिन्छ । पूर्वीय सभ्यतामा, संस्कारमा, परिवेशमा, अभ्यासमा, आफ्नो परिवार, धर्मसंस्कार, रीतिरिवाजलाई अनुशरण गर्न आफन्तको साथ, सहयोग, सहभागिता अहम् मानिँदै आएको देखिन्छ । धर्मकर्ममा, संस्कारमा, मर्दापर्दा, तीर्थ घुमाउन, धर्म कमाउन, परलोक सुधार्न, सामाजिक प्रचलन, प्रथा तथा प्रणाली चलाउन परिवार, नातागोता, ईष्टमित्र, कुल, कुटुम्बको आवश्यकता अनिवार्य मानिँदै आएको छ ।

भौतिक सुख, पेशा, रोजगारी, शिक्षा, अवसर, भ्रमण जस्ता उद्देश्यले मानिसहरू एक भौगोलिक स्थानदेखि अर्को भौगौलिक स्थानमा, एक ठाउँबाट अर्कोतिर, दुर्गमबाट सुगमतिर, गाउँबाट शहरतिर, एक देशबाट अर्को देशतिर बसाइँ सर्नेक्रम ह्वात्तै बढेको देखिन्छ ।

परम्परागत व्यापार, व्यवसाय, चालचलन, अभ्यास, संस्कार, संस्कृति, मूल्य–मान्यतामा भइरहेको फेरबदलले कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय, पुख्र्याैली पेशा ओझेलमा पर्दै गएको देखिन्छ । आधुनिकताको परिचय शहर केन्द्रित बसोबास बनिरहेको देखिन्छ । रहर होस वा बाध्यता, रोजगारी होसकी अवसर, गुणस्तरीय जीवनशैली, मनावैज्ञानिक जस्ता कारणले मानिसहरू शहर पस्ने वा विदेशिने दरमा वृद्धि भएको देखिन्छ । देशको वर्तमान अवस्था, देखासिखी, प्रतिष्पर्धा, व्यक्तिगत इच्छा तथा महŒवकांक्षा, उच्च शिक्षा अध्ययन गर्न तथा वैदेशिक रोजगारीका लागि अधिकांश युवायुवतीहरुको कर्म विदेशी भूमि बन्न पुगेको देखिन्छ ।

हाम्रो समाज परापुर्खादेखि नै सामुहिक परिवारमा रहने बस्ने भएता पनि एकल परिवारमा रहने, रम्नेक्रम बढिरहेको देखिन्छ । मानिसको जीवनभरको कमाई, समय, उमेर, जोश, जाँगर, मिहिनेत, पसिना, परिश्रम घर निर्माणमा लगानी गर्ने गरेको देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानीले भौतिक सुख बाहेक उत्पादन र उत्पादकत्व, रोजगारी तथा अर्थाेपार्जन स्रोतहरु बढ्न सकेको देखिँदैन । सामाजिक विचलन, स्वार्थीपन, परम्परागत धर्म, संस्कार तथा प्रचलनलाई पन्छाउने क्रम वृद्धि हुँदै गरेको देखिन्छ । बुवा आमाको सपना, आफ्नो सपना, परम्परा, संस्कारमा, सोचमा महŒवपूर्ण परिवर्तनको परिस्थितिमा हाम्रो समाजमा, परिवेशमा, हामी समायोजन हुन तयार भइसकेको अवस्था देखिँदैन ।

नेपालीहरूको गुणस्तरीय जीवनयापनको लागि वैदेशिक रोजगारी तथा वैदेशिक अध्ययनका लागि जानेहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको देखिन्छ । छोरा वा छोरी जो भए पनि विदेश जाने र उतै पलायन हुनेक्रम बढीरहेको देखिन्छ । युवा जमात, काम गर्न सक्ने जनशक्ति विदेशिनेक्रम बढेसँगै हाम्रो गाउँ, छर–छरछिमेक, परिवार, आफन्तमा वृद्धवृद्धा बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्तिहरु मात्र, रहन सक्ने अवस्थामा पुगेको भान हुन थालेको छ ।

युवायुवतीहरु जीवन निर्वाह गर्नका लागि विदेशिन थालेपछि नेपालीको घर–घरमा बालबच्चा, वृद्ध–वृद्धाहरु शारीरिक रुपमा अशक्त व्यक्तिहरु मात्र रहने अवस्था सिर्जना भएको देखिन्छ । भोकै, तिर्खै दश नङ्ग्रा खियाई सन्तानको भविष्यको लागि आफ्नो पूरा जीवन गुजारेका आफ्ना अभिभावक, आफन्त, साथीसंगी, घरगाउँ, मातापितालाई यहाँ छोडी विदेशिन परेको बाध्यता, पिडाभाव नेपालीको मर्म कसैले बुझ्न सकिने देखिँँदैन ।

कुनै पुस्तकमा, ग्रन्थमा उल्लेख गरेको पाइँदैन । आफ्नो भविष्य आफ्नो सन्तानमा देख्ने, आफ्नो जीवन समर्पित गरेका बुबाआमालाई उनीहरुको योगदानको महŒव उनीहरुको सन्तानले बुझ्नु आवश्यक देखिन्छ । छोराछोरी विदेशिएपछि बृद्ध बुबाआमा नेपालमा घरमा वियोगमा, रोगमा, शोकमा, आँशुमा, पश्चातापमा, वेदनामा आफ्नो दैनिकी गुजार्न बाध्य रहेको देखिन्छ । उनीहरुको आफ्नो बुढेसकालको लाठ्ठी र साथीबिना, सहारा बिना बाँच्न र जीवनयापन गर्न बाध्य देखिन्छन् ।

बुढेसकालमा, अस्वस्थतामा औषधि पानी दिने, घाउचोटमा मल्हमपट्टि लगाईदिने, दुख, पिरमर्का साटासाट गर्ने, मर्दापर्दा साथ दिने कोही कतै पनि देखिन, भेटिन छोडेको अवस्था देखिन थालेको छ । सामाजिक, सांस्कृतिक, धार्मिक संस्कारजन्य किरिया कर्ममा सहयोग गर्ने आफन्त तथा परिवारका सदस्यहरूको जमघट हुन मुस्किल हुन थालेको देखिन्छ । भौतिक उपस्थिति जनाउन नसके पनि आधुनिक प्रविधिको प्रयोग गरि फोन तथा भिडियोबाट कुरा गर्ने, सान्त्वना दिने कार्य आजकल निकै लोकप्रिय बन्दै गएको देखिन्छ ।

हाम्रो समाजमा आफ्नो दर सन्तानको दया, माया, सद्भाव, आत्मियता, सहिष्णुता प्राप्त हुन नसक्दा कैयन वृद्धवृद्धाहरु बेवारिसे भएका, घरपरिवार आफन्तविहीन भएका, कतिपय वृद्धाश्रमको शरणमा पुगेका यहाँ कैयन उदाहरणहरु भेटिन्छन् । कति वृद्धवृद्धाको जीवन नर्क बन्दै गएको, विक्षिप्त भएको, हालबेहाल भएको, विभिन्न घट्नाहरु, खबरहरु हाम्रो समाजमा बढ्दै गएको देखिन्छ । गाँस, बास, कपासको लागि विदेशिनेको परिवारको यस्तो पिरमर्का, दुःख, कष्ट, वेदना, गुनासो हामी सबै नेपालीको घरघरको कहानी बन्दै गएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here