राजनीतिले देश समाजका हरेक क्षेत्रहरूको नेतृत्व गर्दछ । राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक, पूर्वाधार, सांस्कृतिक आदि समग्रको विकासमा राजनीतिको ठूलो भूमिका रहेको हुन्छ । हामी कतिपय कहिलेकाहीँ सामान्य बोलीचालीमा राजनीतिसँग धेरै दिक्क भएर पनि होला राजनीतिले हाम्रो भाडामा चामल हाल्दिन्छ र भन्ने प्रश्न गर्छौं । तर, गहिरिएर साँच्चै यथार्थमा हेर्ने हो भने राजनीतिले हाम्रो भाडामा चामल पनि हाल्ने गर्छ । उदाहरणका लागि अहिले इजरायलमा, प्यालेस्टाइनमा, इरानमा, लेबनानमा जे भइरहेको छ, राजनीति कै परिणाम हो । र यसले समग्र तह र तप्काका नागरिकहरुलाई दुःख दिइराखेको छ ।
देशमा अशान्ति फैलियो भने अथवा देश गृहयुद्धको चपेटामा फस्यो भने हामी शान्तिपूर्ण ढंगले भाडामा भात पकाएर खान कहाँ सक्छौँ र ? अथवा घरमा शान्तिपूर्ण रूपले सुत्न कहाँ सक्छौँ र ? त्यसैले राजनीतिले ठूला राजनीतिक गतिविधिहरु मात्र होइन सामान्य हाम्रो दैनिककी जीवनमा पनि ठूलो असर पार्न सक्छ र राजनीतिले राजनीतिमा लाग्ने व्यक्तिहरुलाई मात्र होइन सर्वसाधारण राजनीतिसँग चासो नभएका नागरिकहरूलाई पनि उत्तिकै असर पार्न सक्छ । त्यसैले हरेक नागरिकले देशको राजनीतिका बारेमा एउटा हदसम्म चासो राख्नुपर्छ अन्यथा देश बर्बादीतिर धकेलिन सक्छ ।
हुन त अहिले नेपालको राजनीतिमा चासो नराख्ने थोरै मात्र होलान्, आम नागरिकहरू कुनै न कुनै तरिकाले देशको राजनीति माथि चासो राखिरहेका छन् । तर, पनि देशको राजनीतिले सही बाटो लिए झैं लाग्दैन । हाम्रो देशको राजनीति विडम्बना झैं लाग्न शुरु भएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रणको विषय एउटा निश्चित दल विशेषले आफू इतर फरक विचार राख्नेहरुलाई नियन्त्रण गर्ने हतियारको रुपमा प्रयोग भइराखेको आभाष हुन्छ भने त्यस्तो अवस्थामा देशको राजनीति कसरी सप्रन्छ र ? अहिले तल्लो भुइँबाट नै देखिने गरी राजनीतिमा विकृति आउन शुरु भएको देखिन्छ । कुनै पनि दर्शन शत्प्रतिशत उपयुक्त वा राम्रो हुँदैन, प्रजातन्त्रको पनि केही सीमाहरू वा बेफाइदाहरु छन् नै ।
हामीले प्रजातन्त्र त किन चुनेको हो भने यो अरु व्यवस्थाभन्दा बढी लाभदायक छ, अरु राजनीतिक सिद्धान्तहरु मध्येको सबैभन्दा उत्तम विकल्प प्रजातन्त्र हो, त्यसैले प्रजातन्त्रले अहिलेसम्म समर्थन पाएको हो । यदि यो भन्दा अर्को विकृति रहित राजनीतिक सिद्धान्त वा दर्शन प्रचलनमा आयो भने संसारभरि त्यसैलाई बढी अपनाइन्छ । तर, दुर्भाग्यबस नेपालमा त प्रजातन्त्रको सीमा वा बेफाइदाहरुलाई बढी कार्यान्वयन गरिँदैछ । यस्तो लाग्छ नेपालका राजनीतिज्ञहरू प्रजातन्त्रको पाठ्यपुस्तक पढेर होइन, प्रजातन्त्रको गाइड र गेस पेपर पढी पासगरेर आएजस्तो लाग्छ । सरकार आफू इतर विचार भएका र सरकारको विरोध गर्नेहरूलाई अख्तियार दुरुपयोग तथा अनुसन्धानको मुद्दा लगाएर रोक्ने प्रयासमा देखिन्छ, त्यस्तै सम्पत्ति शुद्धिकरण लगायतका संवैधानिक विभागहरू विपक्षीलाई तर्साउन, नियन्त्रण गर्न प्रयोग गरिने हतियारका रुपमा जब प्रयोग गरिन्छ, राष्ट्रमा कहाँ सुशासनको कल्पना गर्न सकिन्छ र ?
देशमा राजनीति यतिबेला बहुदलीय प्रजातन्त्र होइन, दलीय सिन्डिकेट भएर रहेको अनुभव सबैले गर्न थालेका छन् । देशमा रहेका तीन ठूला–ठूला दलहरुले राजनीति भागबण्डा गरेर राजनीतिलाई ‘कार्टेलिङ’ गरिराखेको आभास हुन्छ । नेपालको राजनीतिमा २०४८ सालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएपछिको व्यवस्थापिकामा रहेका व्यक्तिहरूको नियन्त्रण कायमै रहेको छ । यसैले गर्दा नेपाली नागरिकहरूले कहिले पनि परिवर्तनको अनुभव गर्न सकेनन्, लामो समयसम्म एउटै समूहको हाली मुहालीले जस्तोसुकै परिवर्तनलाई पनि सर्वसाधारण आमनागरिकमाथि अनुभूति गर्न सक्ने परिवर्तनलाई रोकेको अनुभूत हुन्छ । अहिले सत्ता वरिपरि बस्ने केही दलका कार्यकर्ताहरू र सत्ताबाट फाइदा लिइराखेका मानिसहरु मात्र यस व्यवस्थाप्रति सन्तुष्टि जनाइरहेका छन् भने धेरै मानिसहरु, विभिन्न प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले यस व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । यो असन्तुष्टि अहिले व्यवस्थापिका संसदभित्र पनि देखिन शुरु भएको छ । बाहिर सडकमा तथा सामाजिक सञ्जालहरूमा छताछुल्ल भइराखेको पाइन्छ ।
सामान्य व्यक्तिहरुले नै अनुभूति गर्ने गरी एउटै प्रकारको अपराधहरुमा फरक–फरक प्रकारका सजायहरू प्रयोग भइराखेको अवस्था देखिन्छ । एकै प्रकारका विषयहरूमा फरक–फरक प्रकारका निर्णयहरू भएको पाइन्छ । हिजो आफूलाई मन नपर्ने प्रतिपक्षी गृहमन्त्री हुँदा अहिलेका गृहमन्त्रीले नैतिकताका पाठहरू ठेलीका ठेली पढाए तर आज तिनै अर्ति बुद्धि दिने गृहमन्त्री हुँदा उस्तै प्रकारका अपराधमा भिन्नै प्रकारको निर्णय हुनु लज्जास्पद विषय हो । गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले कुनै अपराध गर्दा स्वभाविक रूपले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बाध्यकारी छैन । तथापि अनुसन्धानमा हस्तक्षेप पनि गरिनुहुँदैन । तर, आजका गृहमन्त्रीले अनुसन्धानलाई प्रभाव पारिराखेको अनुभूत सबैले गरिराखेको अवस्था छ, यसका विषयमा कोही किन मुख खोल्दैन ? यो एउटा अनौठो विषय हो । जनताका आवाजहरूलाई किन नजरअन्दाज गरिन्छ, यो पनि आजको प्रमुख विषय हो । प्रजातन्त्र भनेको चुनावी सरगर्मी मात्र होइन, वि.सं. २०४८ सालदेखि लगातार चुनाव जित्नेहरू के जनताका अत्यन्तै लोकप्रिय नेताहरु हुन् त ? अथवा कुनै कार्यकर्ताले यसलाई हो भन्न सक्छ ?
एउटा ठूलो महत्वकांक्षाका साथ देश गणतन्त्रमा त प्रवेश ग¥यो, तर त्यसपछाडि गणतन्त्रलाई संस्थागत गर्दै अन्य थुप्रै क्षेत्रमा गर्नुपर्ने काम राजतन्त्रपछि आएका सरकारहरुले गर्न सकेनन् । राजनीतिक दलहरु मूल मुद्दाबाट पन्छिएर सामान्य आफ्ना दलगत तथा नेताहरूको व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुन थाले । गणतन्त्र स्थापना गर्नका लागि भएका घोषित तथा अघोषित मान्यताहरुलाई बिर्सिएर अनावश्यक बखेडामा अल्झिए फलस्वरूप देशमा स्थापना हुनुपर्ने सुशासन तथा गणतन्त्र एवम् संघीयताको संस्थागत विकास लामो समयसम्म हुनसकेन र मुलुकमा लामो समय सम्म संक्रमण कालको अवस्था देखा प¥यो, यसैले देशमा एकप्रकारको अराजकताको अवस्था देखापर्न शुरु भयो, यतिमात्र होइन देशमा भ्रष्टाचारमा वृद्धि भएको देखियो, साथै नीतिगत भ्रष्टाचारले प्रश्रय पायो ।
दलीय व्यवस्थामा आफूलाई मनपर्ने दलमा लाग्नलाई त सबैलाई स्वतन्त्र छ, तर दलहरु अपराध लुकाउने कवच बन्न शुरु गरे जसले गर्दा दल बाहिरका एउटा ठूलो जनमत निराश बन्न थाले । वास्तवमा भन्ने हो भने हाम्रो देशमा गणतन्त्र स्थापना हुनुको एउटा मुख्य कारण मुलुकमा सुशासनको कमि तथा भ्रष्टाचार मौलाउँदै जानु थियो । तर गणतन्त्र शुरु भइसकेपछि भ्रष्टाचार र सुशासन शुरु हुन्छ भनेर आशमा बसेका आम नागरिकहरूलाई दलका नेताहरुले निराश बनाइदिए । वास्तवमा भ्रष्टाचार झन् संस्थागत रुपले अगाडि बढ्यो । सुशासनको त कुरै भएन ।
अहिले राजनीति प्रतिशोधको राजनीति चले झैं देखिन्छ । देशका हरेक अङ्गहरू दलीय दलदलमा फसेका छन्, देश र प्रजातन्त्र दलीय स्वार्थमा लपेटिएको छ । वास्तवमा अहिले भन्ने हो भने दलका केही कार्यकर्ताहरु जो नेताका नजिक छन् । उनीहरुलाई मात्र यो गणतन्त्रको अनुभूति भइरहेको छ अन्यथा आम नागरिकलाई गणतन्त्र आउनु कागलाई बेल पाक्नु झैं महशुस भएको छ । यसरी आज हाम्रो देशको राजनीति समस्यासँग नराम्ररी जेलिएको छ । यसबाट हामीले पार पाउनका लागि अब हरेक स्थानीय निकायहरूदेखि नै युवा, व्यवसायी, अभियन्ता तथा राष्ट्रिय राजनीतिमा थोरै चासो राख्नेहरु सबै मिलेर घनिभूत रूपले छलफल गर्दै आगामी निर्वाचनमा हाम्रालाई होइन राम्रालाई मत दिएर पठाउनु आजको टत्कारो आवश्यकता हो । एउटा कुनै निश्चित दलको कार्यकर्ता भएर सेवा गर्दैगर्दा एउटा व्यक्तिले दललाई सहयोग गरेको ठहरिन्छ भने दलभन्दा माथि उठेर अब राष्ट्रलाई सघाउनुपर्छ, यसो गरे भविष्यमा यो पुस्तालाई कुनै दोष लाग्ने छैन ।
(निरौला समकालीन राजनीति, विपद् व्यवस्थापनमा तथा पर्यटन क्षेत्रमा कलम चलाउँछन् ।)