‘मायालु सडक’ नाममै सीमित, न माया न निगाह

0
30

युद्धबहादुर बोहोरा
पाँचथर।

सडकको नाम ‘मायालु’ राखेर माया दिने नाटक भयो, तर व्यवहारमा माया पाउञ्जेल कसैले नजर फर्काएनन् ।

संघीय सरकार र एशियाली विकास बैंकको सहकार्यमा पाँचथरको फिदिम–घुर्बिसेपञ्चमी जोड्ने ३३ किलोमिटर लामो ग्रामीण सडक आयोजना शुरु भएको झण्डै सात वर्ष बितिसक्दा पनि अधुरो छ, सपना अधुरो छ, पीडा भने सिंगो भूगोलमा फैलिएको छ ।

२०७४ साल चैतमा करिब ४० करोड लागतमा ‘स्वछन्द कन्काई जेभी’ कम्पनीले निर्माण थालेको साम्दिन–नवमीडाँडा खण्डमा करिब १४.८ किलोमिटर सडक कालोपत्र भइसके पनि नवमीडाँडा–घुर्बिसे खण्डको अवस्था भने जस्ताकोतस्तै छ । निर्माणको नाममा पुल, कजवे र केही भित्ता नवमीडाँडासम्म बन्यो तर त्यसबाट अगाडि घुर्बिसे पञ्चमी खण्डमा भने बाटो माटोले पुरिएर सवारी नचल्ने भएको छ ।

‘मायालु’ नाम, तर पीडादायक यात्रा

मायालु सडकको साँचो अर्थमा मायालु हुन सक्ने आधार थियो । जोडिने दूरी छोटिने, कृषि उपजको ढुवानी सहज हुने, विद्यालय, कार्यालय जाने र स्थानीयलाई सजिलो हुने । तर नवमीडाँडा–फाक्तेप–घुर्बिसे खण्डको करिब १८ किलोमिटर दूरी अझै अँध्यारो सुरुङझैं बनेको छ । फाल्गुनन्द गाउँपालिका–५को फाक्तेप र वडा नम्बर–१ सतेरुपाको बीचमा पर्ने निवुखोलामा २० मिटर लामो पक्की पुल बनेको छ, तर त्यसपछि बजेट नहुँदा बाँकी काम अलपत्र छ ।

फाक्तेपको कोल्बुङदेखि पञ्चमी बजारसम्मको बाटो सवारी गुड्नै नसक्ने मटाइलो माटोले भरिएको छ । यही बाटो हुँदै हाल निर्माणाधीन प्रशासकीय भवनमा सामग्री ढुवानी भइरहेकाले समस्याको दोब्बर भार थपिएको छ ।

राजनीतिक पहुँच छ, तर प्राथमिकता छैन

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वो ‘मौसम’, सांसद मैया श्रेष्ठ लावती र नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ जस्ता नेता यही क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । तर, पनि सडकको दयनीय अवस्थाले ती नेताहरुप्रति जनताको आक्रोश बढेको छ । नेताहरूले भाषणमा मात्रै विकास देखाउँछन्, हाम्रो हालत भने वर्षा लागेपछि जुत्ता बोकेर हिँड्नुपर्ने– स्थानीय एक वृद्ध नागरिकले गुनासो गरे ।

विकासको असमानता, मायालुको उपेक्षा

पाँचथरकै फिदिम–फालोट सडक, फिदिम–याशोक सडक र उत्तरे–यासोक सडक केही भाग निर्माण सम्पन्न, केही निर्माणाधीन छन् । तर, मायालु सडकजस्तो रणनीतिक, मुख्य र सम्भावनायुक्त सडक ओझेलमा परेको छ । यस सडकले करिब १० किलोमिटर यात्रा छोट्याउने हुँदा यसले गाउँपालिकाभित्र आवागमन मात्र होइन, आर्थिक गति समेत ल्याउने थियो । तर, निर्माण प्रक्रिया राजनीतिक प्राथमिकता र प्रशासनिक ध्यानको अभावमा ठप्प छ ।

सरकारप्रति जनताको गुनासो

तीन दशक अगाडि नै खोलिएको यो सडक अहिलेसम्म कालोपत्रले पूर्णता नपाउँदा जनताले आफूलाई ‘अभागी’ महशुस गर्न थालेका छन् ।

योजनाको नाममा शुरु भएको काम, बजेटको बहानामा अलपत्र परेको देख्दा उनीहरूले अब सरकारसँग आशा गर्नु नै बेकार भएको प्रतिक्रिया दिएका छन् । नेपालका ग्रामीण सडक विकास योजनामा स्थानीय आवाजभन्दा ठेक्कापट्टाको हित, योजना तर्जुमा भन्दा राजनीति प्राथमिकता हावी देखिन्छ ।

‘मायालु सडक’ त्यो असमान विकासको स्पष्ट प्रमाण हो । अन्य ठाउँका भित्री सडकहरु धमाधम स्तरोन्नति, अलवेदर र कालोपत्र भइरहँदा यो सडक भने सौताको सन्तान सरह उपेक्षित भइरहेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here