पथरी नगर अस्पतालको ६ औं वार्षिकोत्सवमा निःशुल्क दन्त शिविर

0
22

पथरी शनिश्चरे।

पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

आज पथरी शनिश्चरे वडा नं. २ को छ्यालिस बिघेमा नगर अस्पतालको छैटौ स्थापना दिवसको अवसरमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ९८ जना बिमारीहरूले दाँत सम्बन्धी सेवा प्राप्त गरेको पथरी नगरअस्पतालका प्रशासन प्रमुख याम खड्काले जानकारी दिनुभयो। वार्षिकोत्सवको अवसरमा अस्पताल कार्यरत उत्कृष्ट कर्मचारी एल्डिना गुरुङलाई सम्मान–पत्र, दोसल्ला र नगद रु. १० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।

यसै गरी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका मेडिकल सुपरिटेन्डेन्ट डा. रवि कुमार शाहलाई पथरी नगर अस्पताललाई पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओडाएर सम्मानित गरिएको थियो। सोहि अस्पतालमा कार्यरत रही अन्यत्र सरुवा भई जाने कर्मचारीहरुलाई विदाई पनि गरिएको थियो ।

हाल ६४ जना कर्मचारी कार्यरत रहेको सो पथरी नगर अस्पतालको ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँ बराबरको आम्दानी तथा खर्च सम्बन्धी वार्षिक बजेट पनि नगरका स्वास्थ्य शाखा प्रमुख मुरारीप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो। उहाँले खर्च तर्फ १० करोड ४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ उल्लेख गर्दै १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ बचत रहेको जानकारी दिनुभयो।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत मन्तव्य वडा नं. २ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले राख्नुभएको थियो ।
पञ्चायत माविको वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राई समेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here