कनकाईको ७० करोड ६९ लाखको बजेट सार्वजनिक

0
28

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड ६९ लाख २५ हजार १ सय १ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार सम्पन्न नगरपालिकाको १८ औं नगर सभाको पहिलो बैठकबाट आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भई पारित भएको हो । नगरसभाका अध्यक्ष नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको नगर सभामा नगर सभा उपाध्यक्ष उपप्रमुख आशा शिवाकोटीले चालु आर्थिक वर्ष २०८१/०८२ कै हाराहारीमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेकी छन् ।

सभा उपाध्यक्ष शिवाकोटीले नगर सभामा निर्णयार्थ पेश गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ मा व्यापक छलफल गरी नगर सभाले अनुमोदन गरेको छ । सभाको अध्यक्षता गरेका नगर प्रमुख पोखरेलले न्युनतम साधन स्रोतलाई अधिकतम क्षेत्रमा उपयोग गरी दिगो विकासका लक्ष्य हासिल गर्नु पर्ने आजको आवश्यक्ता रहेको बताएका छन् ।

आन्तरिक स्रोतसाधनको समेत भरपुर सदुपयोग गर्ने प्रयास गरिरहेको कनकाई नगरपालिकाले नगर क्षेत्रका वडाहरूको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजेट बिनियोजन गरेको सभामा जानकारी गराए । चालु आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेट रु.६९ करोड, ८९ लाख ८४ हजार विनियोजन भएको थियो । जसमध्ये जेठ मसान्त सम्ममा कुल चालु खर्च ७४.६८ प्रतिशत र कुल पुँजीगत खर्च ४४.०५ प्रतिशत गरी कुल खर्च ६३.६८ प्रतिशत रहेको सभा उपाध्यक्ष नगर उपप्रमुख शिवाकोटीले सभामा जानकारी दिएकी छन् ।

आगामी आ.व. २०८२÷०८३ को लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समानीकरण, राजश्व बाँडफाँट, विशेष अनुदान, विभिन्न संघ संस्था तथा दातृ निकायबाट अनुदान तथा ऋण र नगरको आन्तरिक श्रोतबाट समेत प्राप्त हुने अनुमानित (चालु तथा पूँजीगत समेत) गरी बजेट तर्जुमा भएको बताइएको छ ।

कूल बजेटको सीमा भित्र रही ज्येष्ठ नागरिकहरु तथा तोकिएका अन्य समूह र वर्गले सामाजिक सुरक्षा भत्ताबापत प्राप्त हुने रकम सोही कानुन बमोजिम नै खर्च हुने भएकाले उक्त भत्ता बापत अनुमानित रकम रु.३० करोड यस वजेट कार्यक्रममा समावेश नभएको नगर सभा उपाध्यक्ष उपप्रमुख शिवाकोटीले जानकारी दिएकी छन् ।

यसरी विभिन्न शीर्षकबाट प्राप्त हुने अनुमानित कुल आय रकमबाट बिनियोजन भएको रु. ७०,६९,२५.१०१।–(सत्तरी करोड उनान्सत्तरी लाख पच्चिस हजार एक सय एक)मध्ये सशर्त अनुदान (संघीय) तर्फ चालु र पूँजीगतमा रु.२४,२५,००,०००।–(चौविस करोड पच्चिस लाख), सशर्त अनुदान (प्रदेश) तर्फ चालू र पूँजीगतमा रु.१,४३,८३,०००। –) एक करोड त्रिचालिस लाख त्रियासी हजार रुपैंया) रहेको छ ।

त्यस्तै संघ समपुरक अनुदानतर्फ पूँजीगतमा रु.५२,०००००। ( बाउन्न लाख), प्रदेश समपूरक अनुदान तर्फ पूँजीगतमा रु. १,२९,००,०००।– (एक करोड उनान्तीस लाख रुपैया), विशेष अनुदान संघ तर्फको पूँजीगतमा रु.३,६६,००,०००।– (तीन करोड छैसठ्ठी लाख) रहेको बताइएको छ । स्थानीय आन्तरिक श्रोत रु.९,८५,४०,०००।– (नौ करोड पचासी लाख चालिस हजार रुपैया) मौज्दात तर्फ रु. २,९९,९२,०००– (दुई करोड उनान्सय लाख बयानब्बे हजार रुपैया) रहेको बताइएको छ ।

त्यस्तै संघीय तथा प्रदेश सरकार समेतबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ रु.१४,१२,९९,०००।– (चौध करोड बाह्र लाख उनान्सय हजार रुपैया) राजश्व बाँडफाँड संघ तथा प्रदेशबाट प्राप्त हुने रकम रु १२,५५,०३,१०१।(बाह्र करोड पच्पन्न लाख तीन हजार एक सय एक)गरी तय भएको बजेटलाई कनकाई नगरपालिकाले आगामी आ.व. २०८२/०८३ मा नगर तथा वडामा सञ्चालन गर्ने योजना तथा कार्यक्रम सहित अन्य विभिन्न चालु तथा पूँजीगत शीर्षकमा खर्च गर्ने गरी प्रस्तुत भएको बजेट नगर सभाले अनुमोदन गरेको बताइएको छ ।

आ.व. २०८२/०८३ मा आर्थिक विकास तर्फ जम्मा रु.२ करोड ७१ लाख ८० हजार, सामाजिक विकास तर्फ जम्मा रु.५ करोड ५६ लाख ५५ हजार , पुर्वाधार विकास तर्फ जम्मा रु.९ करोड २६ लाख, संस्थागत विकास तथा सुसासन तर्फ जम्मा रु.२० करोड७० लाख ५५हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ जम्मा रु.३२ करोड ४४ लाख ३५ हजार १०१ गरी बजेटमा अनुमानित व्यय विवरण प्रस्तुत गरिएको छ ।

बजेटको कार्यान्वयनबाट नगरको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो उपलब्धी हासिल हुने साथै पूर्वाधार विकास , संस्थागत विकास तथा शुसासन, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ भएको प्रगतिले कनकाई नगरको समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ । नगरमा रहेका प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै श्रम,शक्ति र पुँजीको अधिकतम उपयोग गरी गरिवी न्यूनिकरण गर्ने कार्यलाई बजेटको मुख्य उद्येश्यका रुपमा लिएको छ ।

त्यस्तै संघ तथा प्रदेश सरकार र अन्य निकायबाट प्राप्त अनुदान र सहयोगलाई नागरिकको आवश्यकता परिपूर्ति गर्ने कार्यमा लगानी गरी प्राकृतिक विपत्तीबाट हुन सक्ने क्षतिलाई रोकथाम तथा नियन्त्रण गर्न र नागरिकहरुको जीउ, धनको सुरक्षा गर्नु बजेटको उद्येश्य रहेको बताइएको छ । कृषि र पशुपालन जस्ता उत्पादनशिल क्षेत्रलाई उच्चतम परिचालन गरी गुणस्तरीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै समतामूलक आर्थिक विकासको आधार तयार गर्नु र स्थानीय उत्पादनलाई निर्यातसँग आबद्ध गर्नु बजेटको उद्येश्य रहेको पाइन्छ ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा खानेपानीको सुनिश्चिता गर्दै सामाजिक न्यायसहितको समुन्नत समाज निर्माणमा बजेटले जोड दिएको छ । यसका साथै गुणस्तरीय पूर्वाधारको विकाससँगै समृद्धिको आधार तयार गरी स्थानीयस्तरमा नै रोजगारीको सृजना गर्नु बजेटको महत्वपूर्ण उद्देश्य रहेको बताइएको छ ।

नगरलाई समय सापेक्षरुपमा प्रविधिको भरपुर उपयोग गरी प्रविधीलाई सुशासनमा जोड्दै नगरले अवलम्बन गरेको ‘सम्मुनत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार’ भन्ने नारालाई आत्मसात गर्ने कार्यलाई बजेटको मुख्य उद्देश्यका रूपमा लिएको छ ।

नगर सभामा सभाका सदस्यहरूले उठाएको जिज्ञासालाई सभाध्यक्ष नगर प्रमुख पोखरेलले सम्बोधन गरेका थिए । सभाका सचिव प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले नगर क्षेत्रमा भएका असल कार्यको समेत गलत प्रचार गर्ने परिपाटीको न्युनीकरण गर्न सबैले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए ।

नगर सभा सचिव न्यौपानेले प्रारम्भिक चरणमा सहजीकरण गरेको सभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम नगर सभा उपाध्यक्षको अनुमतिले कनकाई वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले प्रस्तुत गरेका थिए । सभामा वडाअध्यक्षहरु सुशिल पोखरेल, बलराम राई, लक्ष्मीप्रसाद ओली, लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, वडासदस्यहरू रीता उप्रेती, बलभद्र ढुङ्गेल लगायतले बजेटका विषयमा आआफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here