लागूऔषधको प्यास मेटाउन यौनधन्धा

0
428

गैरकानूनी कार्य गर्नेहरु कारवाहीको दायरामा ल्याउँछौंः प्रजिअ
होटल व्यवसायलाई अपराधको थलो बन्न दिनुहुँदैनः अध्यक्ष श्रेष्ठ

नरेन्द्र ढकाल
बिर्तामोड ।

घटना नम्बर–१ः बिर्तामोडका सुरक्षा र सम्भव (नाम परिवर्तन) बीच सामाजिक सञ्जालमार्फत चिनजान हुन्छ । दुवै जना लागूऔषध प्रयोगकर्ता भएपछि कहिले एक जनाको खर्चले एक दिनको डोज टर्छ । यसरी नै उनीहरुबीच निरन्तर प्रक्रिया चल्दै गएपछि रकम अभाव हुन्छ त्यस पछि सम्भवले सुरक्षालाई एक होटलमा यौन कर्म गर्न लगाउँछन् । यसरी संकलित रकम पुनः उनीहरु लागूऔषध खरिदमा खर्च गर्छन् ।

घटना नम्बर–२ः लागूऔषधको दलदलमा फसेका केही युवतीहरुले राति यौन प्यास मेटाइदिने भन्दै रकम लिने र उक्त रकमले लागूऔषध खरिद गर्न प्रयोग गर्ने गरेको पाइएको छ । युवतीहरुले रातको समयमा होटल नजिकै, राजमार्ग आसपास रहेका पुलको छेउ लगायतका स्थानमा बसेर पुरुष देख्ने बित्तिकै इशारा गरेर मोलमोलाई गर्ने गरेका छन् ।

घटना नम्बर–३ः छिटो धनी हुने लोभमा फसेर युवतीदेखि महिलाहरु समेत सडक किनार केही उपयुक्त स्थानको खोजी गर्दै लागूऔषधको कारोबार गर्ने गर्छन् ।

यीमाथिका घटनाले झापामा हुने लागूऔषध र यौनजन्य घटनालाई छर्लङ्ग बनाउँछ । प्रहरीले दैनिकजसो लागूऔषध प्रयोगकर्ता पक्राउ गरे पनि कारोबारी पक्राउ गर्न तथा ओसारपसार नियन्त्रणमा ध्यान नदिँदा झापामा लागूऔषधको अवस्था भयावह बन्दै गएको छ । बिर्तामोडसहितका शहरी क्षेत्रका होटलहरुमा यौनधन्धासहित लागूऔषध कारोबार हुने गरे पनि त्यसतर्फ सुरक्षा निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

झापामा लागूऔषध प्रयोगकर्ताको अवस्था डरलाग्दो रुपमा बढेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले पूर्वाञ्चलसँग कुरा गर्दै झापाको अवस्था चिन्ताजनक रहेको प्रतिक्रिया दिए । लागूऔषध नियन्त्रणका लागि आफू लागीपरेको भन्दै उनले प्रहरीले निगरानी र कारबाहीलाई तीब्र बनाएको दावी गरे ।

उनले भारतीय क्षेत्रबाट नेपालमा लागूऔषध भित्रिने गरेको गुनासो आउने गरेकाले अहिले भारतीय सुरक्षा निकायसँगको समन्वयमा निगरानी बढाएको जानकारी दिए । उनले भने– खुल्ला सीमानाको फाइदा उठाउँदै अपराधमा संलग्नहरुले विभिन्न स्थानको प्रयोग गर्ने गरेको खुलेको छ । त्यसतर्फ हामीले निगरानी बढाएका छौं । अवाञ्छित गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्नेछौं ।

होटलहरुमा यौनधन्धा र लागूऔषध मात्र होइन कुनै पनि आपराधिक गतिविधि भएमा तत्काल कानून अनुसार कारवाही गर्ने प्रजिअ अधिकारीले बताए । उनले होटल व्यवसायीहरुले यस्ता गतिविधि गरेको पाइए उनीहरुलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

यता होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले होटल व्यवसायीहरु जिम्मेवार बन्नुपर्ने बताएकी छन् । झापामा १८ सयभन्दा धेरै होटलहरु सञ्चालनमा रहेको र १७ हजारभन्दा बढीले रोजगारी पाइरहेको अवस्थामा कुनै पनि होटलले यौनजन्य गतिविधि तथा अपराधजन्य कार्य गरे तत्काल पक्राउ गर्न सुरक्षा निकायसँग आग्रह गरिन् । पूर्वाञ्चलसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भनिन्– केही ठाँउबाट यौनजन्य घटनाका गुनासोहरु आएका छन् हामीले सचेत पनि गराएका छौं । होटल व्यवसायीहरु जिम्मेवार बन्नुपर्छ अपराधमा संलग्न कसैलाई हामी संरक्षण गर्दैनौं ।

अपराध कर्ममा लाग्नेहरुको पहिलो रोजाई नै होटल भएकाले आफ्नो होटलमा कस्ता मानिस आएका छन्, के गतिविधि गर्दैछन्, त्यसतर्फ ध्यान दिन आवश्यक छ– अध्यक्ष श्रेष्ठले भनिन् । लागूऔषध प्रयोगकर्ता महिला तथा युवतीहरु कसैलाई होटलमा काम नलगाउन आग्रह गर्दै उनले कानूनले बर्जित गरेका काम गरेर कानूनको फन्दामा नपर्न सुझाव दिइन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले ९० प्रतिशत मुद्दाहरु लागूऔषधको रहेको जानकारी दिए । बिर्तामोड लगाायतका स्थानहरुमा हुने लागूऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको उनको भनाइ छ । होटलहरुमा हुने यौनजन्य घटनाका साथै यौनकर्मी महिलाहरुबाटै लागूऔषधको कारोबार तथा प्रयोग हुने गरेको गुनासो आएको डीएसपी श्रेष्ठले स्वीकार गरे । १८देखि ३० वर्ष उमेर समूहका युवाहरु धेरै लागूऔषधको दल–दलमा फसेको पाइएको उनको भनाइ छ ।

झापामाा मात्रै २८ हजार लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क सुरक्षा निकायसंग रहेको छ । लागूऔषधले भयावह अवस्था सिर्जना गरेको हुँदा अब सबै पक्ष जिम्मेवार नभए केही वर्षमा नै लागूऔषधको कुलतमा नफसेका युवाहरु भेट्न झापामा मुस्किल पर्ने सुरक्षा निकायमा अधिकृतहरुको भनाइ छ । झापाका १५वटै पालिकामा लागूऔषाध प्रयोगकर्ताहरुको संख्या उच्च रहेको र धेरै अभिभावकहरु आफ्ना सन्तानबाट प्रताडित रहेको पााइएको छ । नेपालमा लागूऔषध प्रयोगकर्ताको उमेर समूहमा २५देखि २९ वर्षसम्मका धेरै रहेका छन् ।

ब्राउनसुगर प्रयोगकर्ता धेरै

झापामा लागूआौषाध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । झापामा २८ हजार लागूऔषध प्रयोगकर्ता रहेको स्रोतको भनाइ छ । झापासहित कोशी प्रदेशमा दैनिकजसो लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ पर्ने गरेका छन् ।

झापामा अधिकांश लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गर्ने गरेको पाइएको स्रोतको दावी छ । खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय नाकाबाट सहज रुपमा ब्राउन उपलब्ध हुने र अधिकांश प्रयोगकर्ताको सहज पहुँच हुने भएकाले लागूऔषधको दलदलमा युवाहरु फसेका हुन् ।

लागूऔषध नियन्त्रण व्यूरोलाई गृहको उपेक्षा

लागूऔषध अपराधको रोकथाम तथा नियन्त्रण गर्न भन्दै २०४९ जेठ २४ गते ‘लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई’ को स्थापना गरेर २०६९ मंसीर १४ गते मन्त्रीपरिषदको वैठकले प्रहरी नायव महानिरीक्षकको दरबन्दी कायम गरी लागूऔषध नियन्त्रण व्युरोको रुपमा स्तरोन्नति गरेर लागूऔषध नियन्त्रणको प्रयास शुरु गरेको पाइन्छ ।

व्यूरोले लागूऔषध उत्पादन, सञ्चय, ओसारपसार, बेचबिखनलाई नियन्त्रण गर्न तथा कारबाही प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिएको छ । झापाको काँकरभिट्टासहित देशभर नौवटा लागूऔषध नियन्त्रण व्यूरोको इकाईहरु रहेको छ । नेपाल प्रहरीले एउटा सुरक्षा युनिट नै बनाएर लागूऔषध नियन्त्रणको प्रयास थालेको भए पनि गृहमन्त्रालयको उपेक्षामा पर्ने गरेको छ । लागूऔषध नियन्त्रण व्यूरोमा पर्याप्त दरबन्दी नहुनु, लागूऔषध नियन्त्रण व्यूरोकै युनिटबाट मुद्दा चलाउने अधिकार नदिनु, व्यूरोलाई सक्रिय बनाउनुको सट्टा अन्यत्र लागूऔषध नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुले व्यूरो गृहको उपेक्षामा परेको बताइन्छ । यस विषयमा लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरु बोल्न चाहँदैनन् ।

आज अन्तर्राष्ट्रिय लागूपदार्थबिरुद्धको दिवस

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९८७को घोषणापत्रको ४२को ११२ खण्डमा उल्लेख गरिएको छ ।

यसैसन्र्दभमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो दिवस मनाउन नेपालका सबै स्थानीय तहलाई र गृह मन्त्रालयले मातहतका सबै कार्यालयलाई यो दिवस मनाउन पत्राचार गरेको छ । सोही अनुसार झापामा पनि लागूऔषध दुरुपयोग एवम् ओसारपसारबिरुद्ध अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइएको प्रजिअ अधिकारीले बताए । विहीवार आज बिहान बिर्तामोड, भद्रपुर र दमक लगायतका स्थानमा प्रभात फेरीसहित सप्ताहव्यापी कार्यक्रम समापन गरिने अधिकारीको भनाइ छ ।

उनका अनुसार यो अवधिमा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र वडामा सचिवको संयोजकत्वमा समिति गठन गरी कार्यक्रमलाई थप प्रभावकारी बनाइएको थियो । जिल्ला प्रशासन कार्यालयले सात दिनसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै प्रजिअ अधिकारीले लागूऔषध नियन्त्रणका लागि घर–घरबाटै निगरानी र सचेतना आवश्यक रहेको उल्लेख गरे । उनले झापामा लागूऔषध नियन्त्रणका लागि सबै पक्षलाई एकजुट हुन आव्हान समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here