सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका-३ स्थित कनकाई फुटसलमा यही असार १४ गते शनिवारका दिन फुटसल टुर्नामन्ट हुने भएको छ ।
आरएफसी युथ क्लब सुरुङ्गाको आयोजना तथा एसियालिङ्क सर्भिसेस् काठमाण्डौको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ ।
आयोजक समितिका अध्यक्ष बाबु लिङ्लेकु लिम्बूका अनुसार युवा पुस्तालाई लागुऔषध दुव्यर्सन र अन्य विकृतिबाट टाढा रहँदै खेल जीवनमा फर्कन सन्देशसहित यो प्रतियोगिता कनकाई फुटसलमा आयोजन गर्न लागिएको हो । कनकाई फुटसल यहाँका स्थानीय व्यवसायी मोहन थापाले सञ्चालनमा ल्याएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र दोस्रो हुने टिमले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट प्लेयरलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजक समितिका उपाध्यक्ष मन्दिप राईका अनुसार देशभरका २० वटा फुटसल टिमहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
खेल सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी हुन र प्रतियोगिता अवलोकनका लागि आउन सबै कनकाई नगरवासी र जिल्लावासी खेलप्रेमीहरुलाई राष्ट्रिय फुटबल खेलाडी समेत रहेका आयोजक आरएफसी क्लबका सदस्य रोहन कार्कीले अनुरोध गरे ।
कनकाई फुटसल सुरुङ्गा चौकदेखि २ किलोमिटर दक्षिण झापा मेरिगोल्ड अंग्रेजी मावि पूर्व रहेको छ । पत्रकार भेटघाटमा शिवसताक्षी नगर खेलकुद समितिका संयोजक सुरज राई, कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई, एमाले नेता रवीन्द्र लम्साल लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन नेपाल खेलकुद महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष भीम लिवाङले गरेका थिए ।
पत्रकार भेटघाट पश्चात् बिहीबार नै राजनीतिक दल र पत्रकार वीच मैत्रीपूर्ण खेल भएको थियोे । मैत्रीपूर्ण खेलमा राजनीतिक दल तर्फबाट खेल क्याप्टेन श्याम राई, खेल मेनेजर रविन्द्र लम्साल, माेहन थापा , सुरज राई र गाेल किपर माैसम मगर सहभागी थिए भने पत्रकार टिम तर्फ खेल मेनेजर तीर्थराज खरेल, खेल क्याप्टेन रामप्रसाद निराैला , चन्द्र बस्नेत, गाेपाल पाेखरेल, खेमराज सुवेदी गाेल किपर सहभागी थिए । लोकप्रिय खेलको रूपमा युवामाझ आकर्षण बन्दै गएको फुटसल खेल प्रतियोगिता सुरुङ्गामा हुन लागेको यो पहिलो पटक हो ।