महँगीले थिचिएको जनजीवन

0
85

नेपालका अधिकांश नागरिक अहिले महँगीको ठूलो चपेटामा परेका छन् । विगत केही वर्षदेखि नेपालमा महँगी एक स्थायी समस्याको रुपमा उभिएको छ । दैनिक अति आवश्यक वस्तुहरूको मूल्य असामान्य रुपमा बढ्दै गएको कारण साधारण जनताको दैनिकी कष्टकर बन्दै गएको छ । चामल, दाल, तेल, नुन, ग्यास पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनताको जीवनस्तरमा प्रत्यक्ष असर पारेको पाइन्छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिको दर आममानिसको आम्दानी वृद्धिको दरभन्दा धेरै छ ।

महँगीका कारण आमउपभोक्ताले पोषिलो खान नपाउने, स्वास्थ्य उपचारमा ढिला सुस्ती गर्ने, गुणस्तरको शिक्षा प्राप्त गर्न नसक्ने जस्ता बाध्यता देखापरेको छ । यस्तो अवस्थामा निश्चित तलबमा गुजारा चलाउने कर्मचारी, मजदुर वर्ग तथा कृषक माथि अझ गहिरो आर्थिक बोझ थपिएको छ । कृषकहरू आफ्नै उत्पादनको मूल्य निर्धारण गर्न सक्दैनन् । किनभने बजार प्रणाली व्यापारीको हातमा छ । सहरी क्षेत्रमा बस्ने मजदुर वर्ग भने घरभाडा, ग्यास, चामल र लत्ता कपडाका लागि तलबको सानो हिस्सा जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । तलब तथा आम्दानी स्थिर हुँदा मूल्य वृद्धिले उनीहरूको जीवनस्तरलाई तल झारी रहेको छ ।

नेपालमा महँगी बढ्नुका पछाडि केही प्रमुख कारणहरु छन् । उत्पादनभन्दा बढी उपभोग हुने, आयातमा निर्भरता बढ्ने, स्वदेशी उद्योगहरूको अविकाश, कृषि क्षेत्रमा आधुनिकीकरणको अभाव, बजार व्यवस्थापनको कमजोरी र सरकारी नीतिगत अस्थिरता महत्वपूर्ण छन् । महँगीले मानिसको पेट र लत्ताकपडासँग मात्र सम्बन्धित नरहेर मन, सोच र व्यवहारमा समेत गहिरो प्रभाव पारेको छ । कहिलेसम्म यस्तो महँगीले घर चलाउने भन्ने चिन्ताले मानिसलाई मानसिक रोगतर्फ धकेलिरहेको छ ।

आत्महत्या जस्ता घटना बढिरहेका छन्, कारण प्रायः आर्थिक समस्या नै हुने गर्छ । परिवारमा झगडा, सम्बन्धविच्छेद, अपराध दर बढ्न थालेको महँगीले पनि हो भन्न हिचकिकाउन नपर्ला । यसैगरी नेपालमा महँगी नियन्त्रणमा सरकारको भूमिका अत्यन्तै कमजोर रहँदै आएको छ । बजार अनुगमन प्रणाली देखावटी मात्र छ, वास्तविक बजारमा मूल्य नियन्त्रण छैन । त्यसैगरी आपूर्ति व्यवस्थापनमा भएको कमजोरी, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीहरूको चलखेल, भ्रष्टाचार महँगी बढ्ने प्रमुख कारण हुन् ।

महँगी नियन्त्रण समाधान दीर्घकालीन रणनीतिबिना सम्भव छैन । उत्पादनमुखी नीति अवलम्बन गरी स्वदेशी उद्योगधन्दा र कृषिलाई प्रवद्र्धन गर्नु अपरिहार्य छ । कृषिमा आधुनिक प्रविधिको व्यवस्थापन गर्नु, साना तथा ठूला घरेलु उद्योगहरूलाई प्रोत्साहन दिनु अति आवश्यक देखिन्छ । सरकारी तहमा बजार अनुगमन कडा पार्न, भ्रष्टाचार नियन्त्रण गर्न र मूल्य स्थिरीकरण जस्ता आर्थिक उपकरण सशक्तरूपमा प्रयोग गर्नुपर्ने देखिन्छ । स्वदेशी वस्तुहरू प्रयोग गर्ने, बचत गर्ने, अनावश्यक वस्तुको उपभोग घटाउने जस्ता कुराहरुमा सबै नागरिकले ध्यानाकर्षण गर्नुपर्ने हुन्छ ।

महँगी नियन्त्रण एउटा साझा जिम्मेवारी हो । सरकार, निजी क्षेत्र र नागरिकबीचको सहकार्यले मात्र दीर्घकालीन समाधान सम्भव छ । अहिले नीति निर्माताहरु जागरुक नभए देश केबल आयातमा आश्रित उपभोक्ता राष्ट्रिय बन्नेछ । उत्पादनमुखी सोच, स्वदेशी प्रवद्र्धन र बजार अनुशासनले मात्र जनजीवन सहज र सन्तुलित बनाउन सकिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here