धान दिवसको सार्थकता

0
14

नेपाल आज पनि कृषि प्रधान देश हो । देशका बहुसंख्यक जनता अहिले पनि जीवन निर्वाहका निम्ति कृषि पेशामा आबद्ध छन् । कृषि पेशाको मुख्य बाली धान नै हो र विश्वका अधिकांश मानिसको जीवनको बाँच्ने आधार पनि । तर, आधुनिकताका नाममा आएको जीवनशैलीको परिवर्तनले नेपालको सन्दर्भमा कृषि अब मुख्य पेशा हुन नसक्ने अवस्थामा पुगेको छ । त्यसैको प्रभाव हुनसक्छ देशको अर्थतन्त्रको मूल आधार यतिबेला वैदेशिक रोजगारीबाट आर्जित विप्रेषण भएको छ । एक त परम्परागत भनाइ अनुसार ‘घोकन्ती विद्या धावन्ती खेती’ थियो कुनै दिन । तर, आज विद्या त्यसमा रहेन र खेतीको हिलो, मैलो, पसिना र ठेलाले यसमै निर्भर परिवार र युवाशक्ति विकर्षित हुँदै गए ।

संयुक्त राष्ट्र संघले भोकमरीबाट बच्ने सबैभन्दा ठूलो र महत्वपूर्ण बालीका रुपमा धानलाई स्वीकार ग¥यो र यसकै आधारमा विश्वभर धानको उत्पादन बढाउने अभियान थाल्न अनुरोध ग¥यो । त्यसयता धानले विश्वव्यापी रुपमा प्रश्रय पायो । त्यसकै आधारमा नेपालमा वि.सं. २०६१ देखि धानको मुख्य खेतीको समय असार १५ लाई धान दिवसका रुपमा मनाउन प्रारम्भ ग¥यो । त्यही दिनको स्मरणमा आज १५ गते नेपालमा कृषि तथा पशुपंक्षी मन्त्रालय, त्यस अन्तर्गतका निकाय, दलका भातृ संगठन लगायतले विभिन्न कार्यक्रमको आयोजना गरी धान दिवस मनाउँदै आएका छन् ।

देशका सतहत्तर जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धानखेती गरिन्छ । नेपालको कूल खेतीयोग्य जमिनमध्ये करिब सड्चालीस प्रतिशतमा धानखेती गरिन्छ । तर, सरकारले कृषिलाई प्राथमिकता दिने भनेर ओठे प्रतिबद्धता जनाए पनि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यताका कारण समयमा रोपाइँ गर्न नपाउँदा किसान हैरान छन् । अहिले नै मनसुन चाँडै सक्रिय भएको भनिए पनि पानीकै अभावमा धान रोपाइँ हुन सकेको छैन ।

त्यसो त दिवस नमनाए पनि नेपाल संस्कृतिमा असार १५ को बेग्लै महत्व थियो । दही च्यूरा खाने दिनका रुपमा हाम्रा पुर्खाले मनाउने गरेको आजको दिन विज्ञानको कसीमा पनि प्रमाणित छ । शरीरमा उत्पन्न हुने तापको समन गर्ने उपायका रुपमा लिइएको च्यूराको संस्कृति असाध्यै पुरानो हो । आदिमकालदेखि नै किसान प्रकृतिसँगै मिलेर चल्दै आएका हुन् । असारे झरीमा रुझ्दै ‘माना रोपेर–मुरी फलाउने’ असार शरीरमा हिलो दलेर, धानको रुख कि बीऊ नचिन्नेले कोदालो समातेर किसानलाई गिज्याउने दिन बन्नु हुँदैन । नेपाल विगतमा भारत, बंगलादेश लगायतका देशलाई धानचामल निर्यात गथ्र्यो । पञ्चायतकालमा स्थापित धानचामल कम्पनी छोटो समयमै बन्द भए । अहिले धानचामल मै हामी परनिर्भर छौं । सरकारले नीति–नियम किसानमैत्री बनाएन, किसानलाई सम्मान गरेन र कृषि क्षेत्र निराश भयो । जलवायु परिवर्तनले पानी पर्न कम भयो, खेतीयोग्य जमिन कंक्रिटमा रुपान्तरण भयो, रासायनिक मलको अभाव छ, यस्तोमा सरकारको दिवसको सान्दर्भिकता नारामै सीमित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here