शिवशताक्षी ८ को जनमुखी अभ्यास : दशैंका लागि दौरा–सुरुवाल, जाडोकालागि मजेत्रो

0
114

विनोद सापकोटा
झिलझिले,
हरेक वर्ष झैँ यो वर्ष पनि दशैं आउँदैछ । कसैले मिठा परिकार बनाउने तयारी गरिरहेका छन् । कसैले नयाँ लुगा किन्नका लागि बजार डुल्न थालेका छन् । तर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा भने वडाका जेष्ठ नागरिकलाई आउने दशैं केही फरक हुने रहेछ । वडाका जेष्ठ बुबाहरूका लागि दौरा–सुरुवाल र आमाहरूका लागि जाडोमा ओड्ने मजेत्रो यस वर्ष वडाले नै किनिदियो ।
जेष्ठ नागरिकलाई सम्मान र सान्त्वना दिने कार्यक्रम वडाले एक वर्ष अघिनै योजना बनाएको रहेछ । योे योजना सोमबारबाट कार्यान्वयनमा आयो । वडाका ८० वर्ष नाघेका १ सय ४४ जना जेष्ठ नागरिकहरूलाई दौरा–सुरुवालको कपडा र मजेत्रो वितरण गरियो ।
यो कुनै देखावटी कार्यक्रम थिएन । न त भाषण भुषण नै । कार्यक्रम भव्यताको पगरी गुथिएको जमघट पनि थिएन । वडाध्यक्ष सन्त कुमार फेउदिन आफैंले वडा कार्यलय आउन नसक्ने जेष्ठ नागरिकको घर–घरमा पुगेर कपडा पु¥याए । सक्नेहरू भने वडा कार्यालय आएर दौरा–सुरुवाल र मजेत्रोको झोलालाई काखमा च्यापेर घर फर्किए । उनिहरुको अनुहारमा खुसी र मनमा शान्तिको अनुभुती देखिन्थ्यो ।
९१ वर्षीय टेकनाथ खापुङ त दौरा–सुरुवाल पाउनेबित्तिकै गदगद् भए । ‘अब यो दशैंमा सिलाएर लगाउने हो । बडो गज्जब देखिनेछ,’ उनले हाँस्दै भने । ‘घरमा पुरानै कोट छ । तर अब यो नयाँ सेट मिल्यो ।’
८३ वर्षीय नेत्रप्रसाद भट्टराईको भनाइ पनि उस्तै थियो । ‘वडाले सालिन्य हामीलाई बिर्सेको छैन । हरेक वर्ष केही न केही कार्यक्रम ल्याउने गर्छ । यो चोटि दौरा र मजेत्रोले न्यानो मात्र होइन, हामीलाई आत्मसन्तुष्टि पनि दियो ।’
महिला जेष्ठ नागरिकका लागि छुट्टै मजेत्रोको व्यवस्था गरिएको थियो । सबै महिलाले एउटै प्रकार र रङ्गको मजेत्रो पाए । न त झिलीमिली डिजाइन थियो । न त बजारको नाम चलेको ब्रान्ड नै । मजेत्रोको उपयोगिता भने सबैलाई ठिक्क लाग्थ्यो ।
पवित्रादेवी दाहालले हाँस्दै भनिन्, ‘जाडोमा झ्याप्प ओडेर शरीरलाई न्यानो बनाउन त निकै काम लाग्ने रहेछ । बडो गज्जबको रहेछ । फेरि पनि यस्तै कार्यक्रम पाइयोस् ।’
वडाध्यक्ष फेउदिनले यो कार्यक्रम महिला सदस्य रिता तामाङको प्रस्तावमा ल्याइएको बताए । ‘प्रभावकारी, रचनात्मक र जनमुखी प्रस्ताव ल्याउनुभयो म्याडमले । हामी सबैले ताली बजाएर समर्थन ग¥यौँ,’ फेउदिनले भने । वडासदस्य ज्ञानप्रसाद लुइटेल, विवेक थिङ दोर्जे र अन्य सदस्यहरूको समेत सक्रिय सहभागिता थियो ।
कार्यक्रमका लागि वडाले १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो रकम सानो भए पनि यसको प्रभाव र सन्देश ठूलो भएको नगर उपप्रमुख नरमाया कार्कीले बताईन् । मजेत्रोको लाभग्राही लक्ष्मी माया कार्कीले भनिन् ‘वडाले हामीलाई सालिन्य सम्झेको छ । हामीलाई चिनेर र आवस्यक्ता अनुसार हाम्रो पक्षमा काम गर्छ भन्ने भावनाले जेष्ठ नागरिकहरूको मन छोएको छ ।’
फेउदिन नेपाली कांग्रेस शिवशताक्षीका उपसभापति हुन् । उनी नेतृत्वमा रहेको वडा टिमको तालमेल निकै मिलेको छ । योजनाहरू वडास्तरमै छलफल हुने, सुझाव सँगाल्ने, निर्णयमा सामूहिकता हुने र अन्ततः कार्यान्वयनसम्म पु¥याइने संस्कार नैे बसिसकेको छ ।
शिवशताक्षी ८ को यो अभ्यास अब अरू वडाहरूका लागि पनि नमूना बन्न थालेको छ । वडाबाट सुरु हुने परिवर्तन, समाजको मूल कडीलाइ छुन सक्ने भावनात्मक कार्यक्रमहरूको प्रभाव नगरमा अरू जनप्रतिनिधिले पनि महसुस गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here