स्तरोन्नतिमा ढिलाइ नगर

0
12

नेपालको पूर्वी सीमान्त क्षेत्र काँकरभिट्टा र पश्चिमी क्षेत्र बनबासालाई जोड्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग शिलान्यासको छ दशकपछि स्तरोन्नति गरिँदैछ । नेपाल र नेपालीको भाग्यरेखाको उपमा पाएको यो राजमार्ग निर्माणको आरम्भ वि.सं. २०१९ बैशाख १ गते तत्कालीन राजा महेन्द्रले गरेका थिए । पाँचखण्डमा निर्माण गरिएको राजमार्ग भारत, रुस, एशियाली विकास बैंक र बेलायतको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । हाल जीर्ण बन्दै गएको सडक र पुल तथा बढ्दै गएको सवारी चाप र जनसंख्याका कारण पनि राजमार्गको स्तरोन्नति आवश्यक थियो । त्यसमाथि एशियाली देशहरुलाई स्थलमार्गबाट जोडेर व्यापार तथा पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यका साथ सडक बिस्तार गर्ने र आपसी सम्बन्ध नजिक तथा बलियो बनाउन पनि यसैलाई आधार बनाइयो ।

एशियाली राजमार्गको अवधारणा अनुरुपमा नेपालमा बनाइँदै गरेको राजमार्गलाई अहिले पाँच खण्डमै विभाजन गरी पहिलो चरणको काम भइरहेको छ । एशियाली विकास बैंकको सहयोगमा काँकरभिट्टादेखि सीतापुरी र सीतापुरीदेखि मावा खोलासम्म निर्माण कार्य भइरहेको छ । तर, निर्माणको गति अति सुस्त भएकाले सवारीसाधन र यात्रीहरुले सास्ती व्यहोर्नु परिरहेको छ । अझ समय अगावै मनसुन शुरु भएकाले थोरै पानी पर्दा पनि आवागमन अवरुद्ध हुने अवस्थाले सास्ती अझै थपिने निश्चित छ । यद्यपि सडक विभागले वैकल्पिक तथा आपतकालीन अवस्थाको सामना गर्ने तयारी भएको भन्दै तीन वर्षसम्ममा राजमार्गको स्तरोन्नति भइसक्ने दाबी गरेको छ । पश्चिमको गड्डाचौकीसम्मको राजमार्गको लम्बाइ एक हजार २७ किलोमिटरभन्दा बढी छ र कतिपय खण्डमा निर्माणले गति लिन सकेकै छैन ।
सरकारले प्रमुख रणनीतिक सडक भन्दै दुई लेनको राजमार्गलाई चार लेनको बनाउने योजना अनुसार काम थालेको छ । स्तरोन्नतिबाट सम्पर्क सञ्जाल विस्तार हुने तथा अन्तर्राष्ट्रिय व्यापारिक करिडोरहरु समेत बलियो हुने बताइएको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुनुमा सडक क्षेत्रमा रहेका घर–टहरा, घना आवादी र आवास क्षेत्र, ओभर पास विवाद लगायतका कारणले निर्माण कार्यले गति लिन नसकेको सडक योजना कार्यालयले जनाएको छ । त्यस्तै कति ठाउँमा सडक क्षेत्रमा रहेका विद्युत, पोल अझै नहटाइएकाले स्तरोन्नतिको कार्य सुस्त रहेको हुनसक्छ ।

नेपालीको भविष्य निर्माण गर्ने लक्ष्यका साथ राजा महेन्द्रले पूर्वलाई पश्चिम नेपालसँग जोड्न शुभारम्भ गरेकै कारण महेन्द्र राजमार्ग नामकरण भएको यो सडकले स्तरोन्नतिले कस्तो आकार लिन्छ हेर्न अझै कति वर्ष कुर्नुपर्ने हो । उच्च कोटीको राजनीतिक र कुटनीतिक चातुर्य भएका दूरदर्शी राजाको बाँकी सपना यसको स्तरोन्नतिले पूर्ण गर्ला नै । बाँकी लक्ष्यहरु पूरा गर्न निर्माणाधीन यो राजमार्गले चाँडै पूर्णता पाउनुपर्छ, आर्थिक, पर्यटकीय एवम् व्यापारिक दृष्टिले पनि लाभ दिने हुनुपर्छ । यसका लागि सरकार सम्बद्ध मन्त्रालय, निकाय तथा संस्थाहरुको साथ र सहयोग हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here