झापामा डेङ्गी संक्रमण बढ्न थालेको छ । झापाको पनि बिर्तामोड नगरपालिकामा यसको संक्रमण बढी रहेको बताइएको छ । चालू आर्थिक वर्षको असार १३ गतेसम्ममा एक हजार दुई सय एकानब्बे जनामा डेङ्गीको संक्रमण देखिएको स्वास्थ्य शाखा बिर्तामोडका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काले बताएका छन् । अहिलेसम्मको परीक्षणमा बिर्तामोडका मात्रै चौवन्न जनामा संक्रमण फेला परेकाले ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको छ । गत बैशाखदेखि असार १३ गतेसम्ममा मात्रै एकसठ्ठी जनामा डेङ्गी संक्रमण देखा परेकोले अभियान शुरु गरिएको हो । अहिलेसम्ममा गौरादहमा छ, दमकमा एकजना संक्रमित देखिएको हो ।
बिर्तामोडमा उपलब्ध स्वास्थ्य सेवाका कारण यहाँ अन्य जिल्लाबाट समेत बिरामी उपचारका लागि आउँछन् । त्यस्तै जनघनत्व बढी भएका कारण मानिसद्वारा उत्सर्जन हुने फोहर, व्यावसायिक प्रतिष्ठान तथा ग्यारेजहरु बढी भएका कारण डेङ्गीको लार्भा उत्पन्न हुने दर उच्च रहन्छ । यद्यपि अहिले सरसफाईमा विशेष ध्यान दिइएको छ । घर–घरबाट उत्सजर्न हुने फोहरको व्यवस्थापन पनि गरिँदैछ अनि पनि चेतनाकै अभावका कारण हुनसक्छ सार्वजनिक स्थल, खोला किनारामा फोहर फ्याल्ने क्रम रोकिएको छैन । यस्तोमा बढेको संक्रमण नियन्त्रण गर्न नगरपालिकाको स्वास्थ्य शाखाले अभियानका रुपमा डेङ्गी नियन्त्रण कार्यक्रम प्रारम्भ गरेको छ ।
डेङ्गी एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । लामखुट्टेले टोकेपछि उच्च ज्वरो आउने टाउको दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने, मांसपेशी, जोर्नी, ढाड दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने स्वास्थ्यविद्हरुको भनाइ छ । यस्तो लक्षण देखिनासाथ तत्काल उपचार नगर्दा यसले महामारीको रुप लिन सक्छ । त्यसकारण पनि मनसुनको समयमा किटजन्य संक्रमण बढी हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्छ । बिर्तामोड नगरपालिकाको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख नगेन्द्र संग्रौलाले रोग लाग्नै नदिने वातावरण बनाउन आग्रह गरे । उनले अभियानमा बैंक, सहकारी लगायतका संघ–संस्थालाई अभियानमा सहकार्य गर्न आग्रह गरे । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुने हुँदा सबैले सचेत हुनु नै यस्ता महामारीबाट जोगिनु हो । तसर्थ, सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर साझा कर्तव्य पूरा गरौं ।