अर्जुनधारा ।
झापाको बिर्तामोड नगरपालिका–५ स्थित सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा आयोजित पाँच दिने प्राकृतिक रेसाजन्य हस्तकला तालिम मंगलबार सम्पन्न भएको छ ।
स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै स्थानीयस्तरमा रहेका महिलाहरुलाई ज्ञान र सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त तालिमको आयोजना गरिएको संस्था सञ्चालक समितिका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए ।
अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारस्थित सामुदायिक भवनको सभाहलमा गत असार १३ गतेदेखि सञ्चालन भएको तालिममा ३३ जना प्रशिक्षार्थी सहभागी भएका थिए । प्रशिक्षक सिर्जना याताले प्रशिक्षण दिएको तालिममा प्रशिक्षार्थीहरुले केराको रेसाबाट ऐना, डालो, वाल घडी, मायाको चिनो आदि बनाएका छन् ।
समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी कठेतले तालिमको अनुभव प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
समिति अन्र्तगतको महिला उपसमितिकी संयोजक शर्मिला अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक झलेन्द्रप्रसाद दाहालले गरेका थिए ।