कुटपिटबाट गम्भीर घाइते भएका अर्का एक युवक आदित्यको पनि मृत्यु

0
4263

विनोद सापकोटा

शिवसताक्षी , झापाको शिवसताक्षी नगरपालिका–९ का एक युवकको कुटपिटबाट मृत्यु भएको छ। यो सँगै शिवसताक्षीमा कुटपिटबाट घाइते भएर उपचार गराइरहेका दुईजनै युवकको मृत्यु भएको छ। संगम चोक का १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएपछि यो सङ्ख्या दुई पुगेको हो।घटना स्थलको तस्वीर ।

झापाको बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो। मृतकका छिमेकी तथा नेकपा एमाले झापा क्षेत्र नं. ४ का अध्यक्ष धनबहादुर थेबेले आदित्यको निधनको पुष्टि गरेका छन्। केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। प्रत्यक्षदर्शी एक विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि “जा” भनेर पठाइएको थियो। तर केही समयपछि पुनः बोलाएर धेरै बेरसम्म बेस्सरी कुटपिट गरिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार कुटपिट गर्ने समूह निकै आक्रामक थियो र घटनास्थलमा छुट्याउने प्रयास गर्ने अवस्था थिएन। कुटपिटपछि आदित्यले आफ्ना आमाबुवासँग घटना बारे जानकारी सायदै दिएका थिएनन्। एक साथीका अनुसार, “सायद घरमा गाली खानुपर्ला वा कुटपिट होला भन्ने डरले उनले केही भनेनन्। यदि घरमा भनिएको भए समयमै उपचार हुन्थ्यो र उनको ज्यान जोगिन्थ्यो।” कुटपिट भएको भोलिपल्ट आदित्य ट्युसन सेन्टरमा आएनन् तर विद्यालयमा भने उपस्थित भएका थिए। विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए।

त्यसपछि स्वास्थ्य बिग्रँदै गएपछि मात्र उनलाई बिएन्डसी अस्पताल लगिएको थियो । बुधबार दिउँसो उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। कुटपिट घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले हालसम्म ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरेको जनाएको छ। यसअघि आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्ता सिटी अस्पतालमा मृत्यु भएको थियो।

रोमन पनि सोही ट्युसन सेन्टरमा आउँथे र आदित्यसँगै देखिन्थे। दुवै जनाको शारीरिक समस्या मिल्दोजुल्दो रहेको दुबै परिवारको भनाइ छ। आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थी थिए। कुटपिटको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि बदला लिनुपर्ने बताएका थिए। तर आदित्यले “छोडिदेऊ, झगडा नगरौँ” भनेर साथीहरूलाई सम्झाएको उनको साथीहरूले बताएका छन्। दुवै मृतक परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here