प्रतिमाका ‘मनका तरङ्गहरु’

0
9

भारतको शिलगढी निवासी ‘प्रतिमा क्षेत्री’का जीवनपयोगी काव्यहरुले भरिएको सुन्दर कृति मनका तरङ्गहरुले पाठकवर्गका मनमा साँच्चै तरङ्गहरु फैलाउँदछन् । यी काव्यहरु तथा कृति नेपाली साहित्य प्रेमीहरुका लागि प्रेरणादायी छन् । किनकि यो कृति एउटा सुन्दर उपहार हो नेपाली साहित्य जगतका लागि । कृतिभित्र विभिन्न साहित्यकारहरुले राखेका विचारहरुले प्रतिमा क्षेत्रीका कविताहरुमा सामाजिक मनोविज्ञान, जातीय विभेद र अपमान, समाजमा पु¥याएका पीडा, जीवनमा अरुबाट लुटेका चिजहरु मृत्यपछि साथमा लान सकिँदैन, मानिस मरेको ठाउँमा रुनेको चित्रण, परिश्रमिहरुको महŒव आदि आयमहरु समेटिएका छन् । कविता समाजमा रहेका विकृति र अमेल व्यवहारहरुको बारेमा समाजलाई चेतनाबोध गराउँदछन् । गरिखाको देख्न नसक्ने आरिसेहरुको जमातलाई व्यङ्ग प्रहार समेत गरिएका छन् ।

कवि प्रतिमा जीवन चेत भएकी कवि हुन् र गहिरो चेतना भर्ने उनका कविताहरु छन् । उनका रचनाहरुले मानिस जिउँदो हुँदा सम्मान नगर्ने अनि लाशमा फूल चढाउने परम्पराको बिरोध गर्दछन् । गोहीको आँशुहरुको कुनै काम छैन भन्ने भावका कविताहरु सिर्जना गरिएका छन् । कवि प्रतिमा काव्यहरु मार्फत गरिखाको देख्न नसक्ने आरिसेहरुलाई, अरुलाई गिज्याएर ठूलो हुने ओठ लेप्राउने मानिसहरुको जमातलाई व्यङ्ग प्रहार गर्छिन । कवि गरिखानेहरु वर्गलाई माया गर्छिन्, तर अर्काको रिस गर्नेहरुलाई उनी ओठे जवाफ दिन पनि पछि पर्दिनन् । अनि कवि प्रतिमा परिश्रमिहरुको सम्मान गर्दछिन् ।

कृतिभित्र कवि प्रतिमाले उल्लेख गरे अनुसार, उनले १३ वर्षको उमेरदेखि जानी नजानी लेख्न थालेकी हुन् । धेरैजसो रेडियो नेपालको बाल कार्यक्रममा रचनाहरु पठाउने गर्दथिन् । चौतारी समूह, साहित्य प्रवाह लगायत विभिन्न पत्रपत्रिका, म्यागजिनहरुमा फुटकर कविताहरु पठाउने गर्दथिन् । सन् २०१८ देखि नागरिक दैनिक पत्रिका र नागरिक अनलाईनमा पनि उनका कविता र गीतहरु प्रकाशित भएका छन् । कसैको सहयोग बिना नै महाकवि देवकोटाको गरीब कविता र आदिकवि भानुभक्तको घाँसी कविताहरु पढेको र ती कविताहरुबाट प्रभावित भएकी उल्लेख गरेकी छिन् । अनि बारीको कुनामा बसेर ससाना कागजमा लेखेर कसैलाई नदेखाई लुकाउने गर्थिन् । त्यसरी उनले आफ्नो प्रतिभा यात्रा शुरुआत गरेकी थिइन् । यो कृति प्रकाशित गर्न गीतकार एन.बी. दाहाल नवीनको सहयोग रहेको उनले कृतिभित्र उल्लेख गरेकी छिन् ।

स्थापित साहित्यकार, गीतकार र गायक, गायीका, संगीतकारहरु, नरबहादुर दाहाल, कर्म योञ्जन, चम्पा योञ्जन, शान्ति ठटाल, पेमा लामा, जीवन अधिकारी, बद्री खरेल, प्रा.डा. जस योञ्जन प्यासी, युवराज काफ्ले, जेके बराइली, नैना बराइली, देवीका मग्राती राई, देवीका सुब्बा खवास लगायतका प्रतिभाहरुसँगका भेटघाटले पनि साहित्य लेखनका लागि ठूलो प्रेरणा मिलेको यस कृतिमा उल्लेख गरेकी छिन् ।
स्कूले शिक्षा दार्जिलिङ्गको उच्चतर कन्या माध्यमिक विद्यालयमा पूरा गरेकी प्रतिमाले आरोग्य निकेतन नर्सिङ्ग होमबाट नर्सिङ्ग कोर्स पूरा गरी लाखौँ बिरामीहरुलाई सेवा गरेकी छिन् । नर्सिङ्ग पढेकाहरु साहित्य क्षेत्रमा कमै मात्र आउँदछन्, तर प्रतिमाले नेपाली भाषा साहित्यको सेवामा पनि आफूलाई समर्पित गरेर महान योगदान गरेकी छिन् । कवि प्रतिमा अरु कविहरु जस्तै भावुक पनि छिन् । उनी समुद्रको राज जान्न चाहन्छिन् । समुद्रसँग आफनो नाता र सम्बन्ध सोध्छिन् । यसरी सृष्टिका निर्जिव उपहारहरुसँग बातचित गर्छिन् उनी ।

काव्यकार प्रतिमाका सिर्जनाहरुबारे रुपा क्षेत्री (मल्लागुरी सिलिगुढी)को भनाई कृतिमा समेटिएका छन् । बहिनीले सानैदेखि लुकि–लुकि लेख्दिरहेछिन् हामीलाई थाहा थिएन । सानै छँदाखेरी कहिल्यै नछुटेका हामी ठूला भएर पनि साथ मै छौँ । एकदिन उसले एक बन्डल कागज बटारेर मलाई दिँदै भनि यो मेरो रचना यहाँ राखेकी छु ल । जबदेखि प्रतिमाले लेखेको मैले थाहा पाएँ सबै समेटेर राखिदिन्थेँ । उसले लेख्दै कता–कता घुसारेर राखेकी भेटाए समालेर राखिदिन्थेँ । ऊ प्राय बाहिरतिरै बसेर जति बेला पनि खुसुक्क कोरी राख्ने । एकदिन अचानक नेपालबाट एकजना सर आइपुग्नु भयो अनि कुरैकुरामा भन्नुभयो बहिनीले राम्रो लेख्छिन् र किताब निकाल्नु भनेको भन्नुभयो । खुशी भएर सबै रचना लगिदिनुभयो र हामी पनि सबै खुशी भयौँ ।

प्रकाशकीयमा कवि तथा गीतकार एन.बी. दाहाल नवीनका शब्दहरु अनुसार, निरन्तर लेखिरहने नारी पात्र हुन् प्रतिमा क्षेत्री । मामा लक्ष्मीदास बस्नेतको प्र्रेरणाले पनि प्रतिमाले कविता लेख्न थालेकी हुन् । उनी लेखनमा यथार्थता पस्किने र बिम्बलाई ख्याल गर्दै सामाजिक विकृतिहरुको पर्दाफास गर्छिन् । प्रतिमा निकै अध्ययनशील नारी प्रतिभा हुन् । आफ्नो जीवनमा भएका, देखिएका, भोगिएका कुराहरुलाई पाठकहरु माझ ल्याउने जमर्को गरिरहन्छिन् । विद्वान तथा साहित्यकार कृष्ण प्रधानको विचारबाट पनि यस कृतिकार प्रतिमाबारे जान्न सकिन्छ । प्रतिमा क्षेत्री प्रचारप्रसारदेखि कोश टाढा रहने तर कविता, गजल, गीत आदि लेखनमा आफूलाई सक्रिय राख्दछिन् । यिनका धेरैजसो कवितामा प्रणय रागका स्वरहरु नै सुनिन्छ । कतिपय कविताहरु गीतको भाखा र लोकलयका देखिन्छन् । जीवनप्रति पनि कविको वितृष्णा देखिन्छ, तर यो वितृष्णा एक्लो कविको मात्र नभएर आमा मान्छेको जीवनप्रतिको वितृष्णा हो । सामाजिक विषमता, अन्याय, अत्याचार, वर्गीय शोषण, कहालीलाग्दो अवस्थाले कवि प्रतिमा विचलित बनेकी देखिन्छिन् ।

साहित्यकार राजन तामाङका शब्दहरु अनुसार कवि प्रतिमा आफूले भोगिसकेको अनुभवबाट हृदयस्पर्शी भाव कवितामा उतार्छिन् भने मनैमनमा रमाउँदै उनी गीत लेख्छिन् । कहिलेकाँही प्रेमिल कविता लेख्छिन् तर प्रतिमाले आफूलाई साहित्यको शीर्षस्थानमा राख्ने सोच कहिले पनि गरिनन् । साहित्यकार देवीका मग्रांती राईका शब्दमा, मनका तरङ्गहरु नै हुन् प्रतिमाका हृदयमा यतिका वर्षहरुसम्म गुम्साएर राखेका भावनाहरु । लामा तथा छोटा कविता, मुक्तक र गीतहरुका मिश्रण पाइन्छन् कृतिमा । उनका सिर्जनाहरुमा नारी हुनुको सन्त्रास पोखिएका, लक्ष्य पूरा गर्न बाहिर निस्किएका नारी असुरक्षित रहेका भाव पाइन्छन् । कविताहरुमा जीवनका व्यथा, असफलता, धोका, बिछोडहरुलाई प्रस्तुत गरेकी छिन् ।

साहित्यकार विष्णु ठकुरीका विचार अनुसार कवि प्रतिमाका सिर्जनाहरुमा सायद उनको आफ्नो जिन्दगीको उताबचडाबले प्राय उनका कविताहरुमा निराशाका भावहरु पाइन्छन् । निराशादेखि बाहिरिन खोज्छिन्, थुप्रै आशाका किरणहरु बटुल्ने कोशिश गर्छिन् फेरि किन हो कुन्नि त्यही विन्दुमा पुग्छिन् । सामाजिक विषयवस्तुले प्रभावित कवि प्रतिमा क्षेत्रीलाई यस्तै गम्भीर विषयमा आफ्नो कलम चलाउने प्रेरणा मिलेको हो कि जस्तो लाग्छ । कवि प्रतिमा क्षेत्री गमेर, मुटुमा ढुंगा राखेर लेख्छिन् । आशावादी पनि छिन् उनी । निराशाभित्र आशाका किरणहरु पनि देखेकी छिन् ।
कवि प्रतिमाका केही कविताका शीर्षकहरुः चिहाएरु हेर्दा, मत्थु, विधवालाई, अन्धो भगवान्, अनौठो जवानी, परदेशीको व्यथा, मिठो व्यथा, आँशु, कोरीबाटी, अधुरो नै रह्यो । अन्धो भवगान कविताको केही हरफ पढौँ ः

क्रुर निष्ठा लिएर चेतनाहरु हराएर
बाँच्न खोज्छन् बनी ती नै दानवहरु
ठूला मानिस बन्ने चाहामा
डुबीसके ती पापका दहमा
भरियो आँशु गरीबको गहमा
देह बग्यो समुन्द्री तहमा
कुन गरीबको हत्या कहाँ भयो
विधुवाको संख्या आज फेरि बढ्यो
उता अमिरले खुब मजा ग¥यो
कलियुगको यस्तो धन्दो
भगवान पनि आज अन्धो ।

यी हरफहरुबाट नै जान्न सकिन्छ कवि प्रतिमा क्षेत्रीका कविताहरु कति गहन र मन छुने छन् ? यसैबाट उनका कविताहरुका शक्ति र विशेषता जान्न सकिन्छ । कवि प्रतिमा जीवनको दुःख–सुख र समाजका आयामहरुबाट कविता जन्माउँछिन् तर विभिन्न विषय मिलाएर मिश्रित सृजनाको कोशेली हो कृति । यसमा कविता बाहेक गीतहरु र लघुकथाहरु पनि समेटिएका छन् । कृतिमा ५० वटा कविता, ६४ वटा गीतहरु र आठ वटा समीक्षात्मक छोटा लेखहरु समेटिएका छन्, तर यसलाई एक काव्यकृति नै मान्न सकिन्छ । कबि तथा गीतकार एन.बी. दाहान नवीनले प्रकाशन गरेको यस सुन्दर बान्कीको कृतिले पक्कै पनि पाठक वर्गका मनमा बेग्लै तरङ्गहरु फैलाउँदछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here