सुँइकुच्चा

0
52

राष्ट्रिय स्तरको परीक्षाको परीक्षा फल प्रकाशित भएपछि वरपर सर्वत्र त्यसको चर्चा हुन थालेको थियो । कुन विद्यालयबाट कति विद्यार्थी उत्तीर्ण भए भन्ने लेखाजोखा गरेको सुनिन्थ्यो । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा यो कुराले उच्च प्राथमिकता पाएको थियो । सुखद परिणाम प्राप्त भएका शिक्षालय प्रमुखहरूको नाक निकै बढेको आभास हुन्थ्यो । अति न्यून परिणाम प्राप्त शिक्षालय प्रमुखहरूलाई अनुहारै देखाउन गाह्रो परेको प्रष्ट बुझिन्थ्यो ।

केन्द्र मिलाई मिलाई शिक्षालयका प्रमुखहरूलाई प्रभाव पारेर कतिपय विद्यालयहरूले शत्प्रतिशत परिणाम प्राप्त गरेका कुराहरु पनि गाईगुई हुन थालेका थिए । राजकिशोर आफै एक शिक्षालयका प्रमुख थिए । उनको शिक्षालयमा केही विद्यालयहरूको परीक्षा केन्द्र परेको थियो । राजकिशोरले एकपटक भनेका थिए– ‘मैले चाँहे भने वातावरण अनुकूल बनाएर परिणाम उच्च निकालिदिन सक्छु । तर त्यसको बदला मैले के पाउने ?’ उनले भने जस्तै देखियो । उनको शिक्षालयमा केन्द्र परेका विद्यालयको परिणाम शत्प्रतिशत भयो । उनले महँगो घडी, चस्मा र सुट फेरे। विद्यालयमा केही सामग्रीहरू पनि प्राप्त गरे। उनको जन्मदिनमा खै कहाँका विद्यालयका प्रमुखहरुले निकै राम्रो उपहार पठाइदिएको कुरा पनि सुनियो ।

शिक्षालय प्रमुखहरूको भेलामा राजकिशोरको अनुहार मलिन देखिन्थ्यो । आफ्ना विद्यार्थीहरूलाई आफ्नो शिक्षालयमा थाम्न पनि हम्मे–हम्मे परेको घटना सबैलाई थाहा थियो । उनले बजारको चिया दोकानमा मानिसहरूले कुराकानी गरेको सुनिहाले ।

एकजनाले भन्दै थिए– ‘अरु स्कूलकालाई भित्रबाट मिलाई मिलाई पास गराउनेले आफ्ना विद्यार्थीबारे चाहिँ किन नसोचेको ?’ अर्कोले उत्तर दिइहाल्यो– ‘रातोदिन खट्नुभन्दा केही नगरी गोजी भर्न आनन्द हुँदैन त ?’ छेउको पान पसलमा पान खाँदै गरेका राजकिशोरले उँधो मुन्टो लगाएर सुइँकुच्चा ठोके ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here