बिर्तामोडका तीन मुख्य सडकमा धमाधम कालोपत्रे

0
49

बिर्तामोड, बिर्तामोड नगरपालिकाभित्रका तीन वटा प्रमुख सडक खण्डमा कालोपत्रे कार्य तीव्र रुपमा भइरहेको छ। बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र हर्कलाल मार्गको विभिन्न खण्डहरूमा कालोपत्रे हुँदैछ।

वडा नम्बर ५ स्थित पूर्व–पश्चिम राजमार्ग देउराली होटल पछाडिदेखि २ सय ५७ मिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ। यो सडक १०।५० मिटर चौडाइमा निर्माण गरिएको हो। निर्माण कार्य धनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स भद्रपुरले १ करोड १३ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको हो।

यसैगरी, वडा नम्बर २ मा पर्ने गोकुल जोशी मार्गको दाहाल गाउँदेखि लालमाटी पश्चिमसम्मको १ हजार ३४ मिटर सडकमा कालोपत्रे कार्य भइरहेको छ। बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा कालोपत्रे निर्माण भइरहेको हो । सडकको ठेक्का २ करोड ४८ लाख रुपैयाँमा सिद्दीथुम्का निधिल जेभीलाई दिइएको छ। निर्माण कार्य भोलि बेलुकीसम्म सम्पन्न हुने नगरका सव–इन्जिनियर डिल्ली ओलीले जानकारी दिए ।

वडा नम्बर ६ मा पर्ने बुट्टाबारी–प्याकुरेल चोक सडक खण्ड अन्तर्गतको माथिल्लो भागमा कालोपत्रे कार्य सुरु गरिएको छ। पूर्व–पश्चिम राजमार्गदेखि ९ सय ५० मिटर दुरीसम्म ७ मिटर चौडाइमा दुई लेनको कालोपत्रे गरिएको हो। यद्यपि, अर्जुनधारामा निर्माण गरिएको प्लान्टमा स्थानीयको अवरोधका कारण केही समस्या उत्पन्न भएको निर्माण कम्पनीका सञ्चालक मनोज उप्रेतीले जानकारी दिए ।

यस सडक योजना वडा नम्बर ६ देखि ७ हुँदै वडा नम्बर ८ को प्याकुरेल चोकसम्म ६ हजार २ सय ५८ मिटर लम्बाइको हो। विश्व बैंकको लगानीमा सञ्चालित यो योजना आरपी साप समता जेभीले ५८ करोड रुपैयाँ ठेक्कामा काम गरिरहेको छ।

योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाइ, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले अनुगमन गरेका थिए ।
नगर प्रमुख प्रसाइले निर्माणमा गुणस्तर कायम राख्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here