झापामा सत्ता साझेदार दलबीचको सहकार्य हुन नसक्ने चेतावनी

0
2072

बिर्तामोड , नेपाली कांग्रेसले पटक–पटकको धोखा र एमालेको बेइमानीका कारण झापामा सत्ता साझेदार दलबीचको सहकार्य हुन नसक्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेस अर्जुनधारा नगरसमितिको आज बसेको आकस्मिक बैठकले नेकपा एमालेसंगको राजनीतिक संयन्त्रमा उप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो । सरकार संयुक्त भएपनि एमालेले एकलौटी शासन चलाई नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नगरले यस्तो निर्णय गरेको नगर सभापति हेमराज खरेलले जानकारी दिए । नेकपा एमालेका नेताहरुले बोलीमा एउटा कुरा र ब्यवहारमा अर्कै काम गर्दै आएपछि दुईदलको जिल्लास्तरीय राजनैतिक संयन्त्रको बैठक समेत लामो समयदेखि बस्न सकेको छैन ।

पछिल्लो समय अर्जुनधारा ५ का रिता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सिमा बिवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष गिताराज खँडका बिरुद्ध जातीय बिभेदको मुद्दा दर्ता गरिएकोप्रति नेपाली कांग्रेस अर्जुनधाराले खेद प्रकट गरेको छ । बिवाद मिलाउन गएका वडाध्यक्षलाई आफ्नो पक्ष नलिए जातीय बिभेदमा मुद्दा लगाइदिने भन्दै थर्काउँदै आएकी रिता नेपालीले २० असारमा गिताराजसँग मेलमिलाप गर्ने सहमति पनि गरेकी थिइन् । तर एमाले नेताहरुको दोहोरो भूमिकाका कारण रिताले सिमानाको बिवादको बिषयलाई जातीय बिभेदको झुठा मुद्दा लगाएकी हुन् । जिल्लास्तरमा समेत एमाले र काँग्रेसका नेताहरुबीच जातीय बिभेद नभएको अवस्थामा बिभेद भयो भनेर मुद्दा लगाउन नहुने निष्कर्ष पनि निकालिएको बिश्वस्त स्रोतले जनाएको छ ।

चुनावदेखि नै बिवाद गर्दै आएकी रिता नेपाली वडाध्यक्ष गिताराजलाई अप्ठयारोमा पार्न मौकाको पखाईमा थिइन् । अति बिपन्न रैथाने आदिवासी समुदायका सदस्य राजवंशी परिवारको चारधुर मात्र जमिनको सिमानामा बारम्बार किचलो गर्दै आएकी रिता नेपालीले आफू जिल्ला समन्वय समितिको सदस्य भएको र आफ्नो राजनैतिक पहुँच माथिसम्मै रहेको भन्दै गरीब राजवंशी परिवारलाई धम्क्याउँदै आएको पीडित परिवारकी सदस्य सुमित्राले बताएकी छिन् । हुँदै नभएको जातीय बिभेदको मुद्दामा वडाध्यक्षलाई फँसाउन एमालेले पुलिसलाई दुरुपयोग गरेकोप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टीको माथिल्लो निकायमा कुराकानी गरेर एमालेसँगको सहकार्य झापामा कठिन मोडमा पुगेको भनी जानकारी गराएकोे समाचार स्रोतले जनाएको छ ।

नगर समितिको बैठकमा कोशी प्रदेश सदस्य राजकुमार बराइली, महासमिति सदस्य दिपक तामाङ, ९ नम्बर वडाध्यक्ष भिष्म मिश्र, ६ नं. वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोला, ५ नं. वडा सदस्य अर्जुन कडेल, नगर उपसभापति प्रशान्त भण्डारी लगायतले बैठकमा धारणा राख्दै कानूनको दुरुपयगो र झुठा मुद्दा गर्नेहरुबिरुद्ध कानूनी र राजनैतिक संघर्ष गरेर परास्त गरेरै छाड्ने अठोट लिएका थिए । एमालेको मनोनित कोटाबाट जिल्ला समन्वय समिति झापाका सदस्य समेत बनेकी रिता नेपालीले नेपाली कांग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष गिताराज खड्कासँगै अत्यन्तै बिपन्न सुनिता र सुमित्रा राजबंशीलाई पनि झुठा मुद्दा लगाएको नेपाली कांग्रेस अर्जुनधाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here