झापा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना ब्यबसायी स्वरोजगार कोषको रकम दुरुपयोग भएको पाइएको छ ।
- नक्कली ऋणी तयार पार्दै रकम लिएको खुलासा
- अध्यक्ष बस्नेत सहकारीका कागजात बोकेर फरार
- १८ परिवारको सम्पत्ति रोक्का हुँदा मच्चियो हंगामा

झापाको बाह्रदशी गाउँपालिका–५ स्थित लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्थामा गरिएको लगानी दुरुपयोग भएको हो । कोषले त्यहाँका बेरोजगार युवाहरुलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आय आर्जनमा बृद्धि गर्न सहज बनाउन प्रतिव्यक्ति न्यूनतम् ३० हजारदेखि दुई लाख रुपैयाँसम्म लगानी गर्ने गरी सहकारीसंग सम्झौता गरेको थियो । सम्झौता बमोजिम २०७६ सालमा लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थामा ५० लाख रुपैयाँ लगानी गरेको थियो ।
कोषले वार्षिक ५ प्रतिशत व्याजदरमा सहकारीलाई लगानी गरेको थियो । सहकारीलाई २५÷२५ लाख रुपैयाँ दुई किस्तामा उपलब्ध गराएको थियो । कोषले सहकारीमा लगानी गर्दा बढीमा पाँच वर्षभित्र सबै रकम फिर्ता गरिसक्नुपर्ने सम्झौता गरेको थियो । तर, कोषले लगानी गरेको रकम लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवेन्द्र बस्नेतले सदस्यको किर्ते हस्ताक्षर गरी एकलौटी चलाएपछि सहकारीमा विवाद उत्पन्न भएको हो ।
बेरोजगार युवाहरुलाई उद्यमी बनाउन कोषले गरेको लगानी सहकारीका सञ्चालक र सदस्यले नपाएपछि तत्कालीन सहकारीका उपाध्यक्षसहितका के ही पदाधिकारीले सहकारीबाट सामुहिक राजीनामा दिएका थिए । कोषले लगानी गरेको पहिलो किस्तामा नै विवाद भएपछि संस्थाका तत्कालीन उपाध्यक्ष प्रेम पौडेल, सचिव धर्म साह, ऋण समिति सदस्य केशव बराल, सञ्चालक समिति सदस्य नौमान आलम, लेखा समिति सदस्य देवी संग्रौला लगायतले सामुहिक राजीनामा दिँदै गाउँपालिकामा उजुरी गरेका थिए ।
सोही उजुरीका आधारमा गाउँपालिकाले चेतनाथ न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय (घनेन्द्र ढकाल, खड्ग राजवंशी) छानविन समिति बनाउँदै सहकारी संस्थाका अध्यक्ष बस्नेतले गरेको कैफियतलाई मध्यनजर गर्दै ११ हजार एक सय ११ रुपैयाँ जरिवाना गराएको थियो । उपाध्यक्षसहितको उजुरीको आधारमा गाउँपालिकाले छानविन समिति बनाएर अध्यक्ष बस्नेतले कैफियत गरेको ठहरसहित जरिवाना गरे पनि जरिवाना रकम समेत अध्यक्ष बस्नेतले गाउँपालिकामा जम्मा नगरी फरार भएको बताइएको छ । बाह्रदशी गाउँपालिकाका सहकारी शाखाका अधिकृत प्रकाश अधिकारी भन्छन्– लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था र संस्थाका अध्यक्ष बस्नेतले यहाँ रकम जम्मा गरेको देखिँदैन ।
अध्यक्ष बस्नेत फरार भएसंगै सहकारीको कार्यालय समेत उठेको छ । आफ्नै घरमा संस्थाको कार्यालय राखेका बस्नेतले कागजपत्र झोलामा लिएर हिँडेपछि कुनै सदस्यको हिसाब समेत सहकारीमा नरहेको बताइएको छ । जसका कारण सहकारीका सदस्य प्रत्यक्ष पीडामा छन् भने सञ्चालक समिति सदस्य, लेखा समिति सदस्य र ऋण समिति सदस्यहरु समेत मारमा परेपछि पुनः गाउँपालिकामा अध्यक्ष बस्नेतलाई कारवाहीको माग गर्दै उजुरी गरेका छन् ।
स्थानीय कमलदीप गणेश, प्रेम पौडेल, नौमान आलम, देवी संग्रौला, केशव बराल, धमेन्द्र साह, जयप्रकाश गणेशले असार २ गते बस्नेतविरुद्ध गाउँपालिकामा उजुरी गरेका हुन् । उनीहरुले अध्यक्ष बस्नेतले सहकारीको रकम हिनामिना गरी सम्पर्कविहीन भएको र आफूहरुको हस्ताक्षर समेत दुरुपयोग गर्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५० लाख रुपैयाँ लिएर फरार भएको उल्लेख गरेका छन् ।
आफूहरुको हस्ताक्षर किर्ते गर्दै कोषबाट रकम सहकारीमा भित्र्याएको र सो रकम कहाँ र कसलाई लगानी गरिएको भन्ने विषयमा समेत कसैलाई जानकारी नदिई सहकारी नै बन्द गरेर अध्यक्ष बस्नेत हिँडेपछि १८ जनाको बैंक एकाउण्टसहित सबै सम्पत्ति रोक्का भएको भन्दै पालिकामा निवेदन दिएका हुन् । अध्यक्ष बस्नेतले कोषबाट रकम लिनका लागि नक्कली ऋणी देखाए त्यसमाथि आफूरुहको हस्ताक्षर नै किर्ते गरे– पीडितमध्येका एक सदस्यले भने– हाम्रो त सबै सम्पत्ति रोक्का हुँदा परिवारकै बिल्लीबाठ भयो ।
जिल्ला प्रशासन कार्यालयलाई जानकारी
आफूहरुमाथि लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बस्नेतले नियोजित रुपमा ठगी गरेको भन्दै गाउँपालिकामा पटक–पटक उजुरी परेपछि बाह्रदशी गाउँपालिकाले यो विषयमा जिल्ला प्रशासन कार्यालय झापालाई जानकारी गराएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले गाउँपालिकामा दर्ता भएको निवेदनको छायाँकपीसहितको जानकारी जिल्ला प्रशासन कार्यालय झापालाई पठाएका हुन् । उनले पठाएको जानकारी पत्रमा सहकारीका अध्यक्ष बस्नेतले सञ्चालक समिति र पदाधिकारीको हस्ताक्षर किर्ते गर्दै युवा स्वरोजगार कार्यक्रमका लागि लिएको ऋण आफूखुशी चलाएको गुनासो आएको र ऋणको सावा र व्याज कोषमा भुक्तानी नगर्दा संस्थाका पदाधिकारीहरु समेत जोखिममा परेको उल्लेख छ ।
ऋण नखाई ऋणी
बाह्रदशी गाउँपालिका–५ स्थायी ठेगाना भएकी रिना ओडारी हाल बिर्तामोडमा बसोवास गर्छिन् । लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय समेत नदेखेकी उनलाई सहकारीका अध्यक्ष बस्नेतले ऋणी बनाउँदै दुई लाख रुपैयाँ लगानी गरेका छन् । बस्नेतले रिनालाई २०७६ जेठ १५ गते ऋण लगानी गरेको पाइएको छ । तर, उनले सहकारीबाट एक रुपैयाँ पनि नलिएको बताएकी छिन् । रिनाका श्रीमान देवी संग्रौला हुन् । उनी सो सहकारीको लेखा समिति सदस्य थिए । तर, उनले युवा स्वरोजगार कोषले उपलब्ध गराएको २५ लाख रुपै याँ सदु पयो ग नभएपछि सहकारीबाट राजीनामा दिएको बताउँदै आएका छन् । संग्रौला आफ्नै श्रीमतीलाई सहकारीको ऋणी सदस्य देखेपछि अचम्मित छन् ।
उनीमात्र होइन सं स्थाकी व्यवस्थापक मिरा अधिकारीलाई समेत ऋणी बनाइएको छ । उनको नाममा पनि दुई लाख रुपैयाँ ऋण लगानी गरिएको छ । तर उनले सहकारीबाट एक रुपैयाँ पनि ऋण नलिएको दावी गरेकी छिन् । पूर्वाञ्चलसंगको कुराकानीमा उनले भनिन् – मैले एक रुपैयाँ पनि ऋण लिएको छैन, मेरा श्रीमान् विदेशमा हुनुहुन्छ । मलाई पैसाको खाँचो थिएन किन सहकारीबाट ऋण लिनु र ।
उनीहरु मात्र होइन स्थानीय शम्भुप्रसाद गणेश, सावित्रीकुमारी राजवंशी, देवनारायण कार्की, लालकुमार गणेश, देवीमाया भट्टराई, निमेशकुमार गणेश, मो. सञ्जात आलम, प्रकाशकुमार सिंह, डिल्लीमाया कार्की, वीरेन्द्र पोद्दार, मुक्तिनाथ गणेशलाई प्रतिव्यक्ति दुई/दुई लाख रुपैयाँ लगानी गरेको अध्यक्ष बस्नेतले देखाएका छन् । तर, उनीहरुले सहकारीबाट ऋण नलिएको बताइएको छ ।
कतिपयलाई सरकारबाट आउने अनुदान रकम गुम्छ भन्दै घर घरमै गएर ऋण लगानी गरेको नक्कली कागजात बनाउन लगाएको र तत्कालै ऋण चुक्ता गरेको कागज समेत बस्नेतले थमाउँदै हिँडेको पीडितमध्येका देवी संग्रौलाले बताएका छन् ।
अध्यक्ष बस्नेतले कोषबाट आएको २५ लाख रुपैयाँ दुरुपयोग गरेको थाह पाउना साथ सहकारीका अन्य साथीहरुसंग सल्लाह गरेर राजीनामा दिएका थियौं । त्यो कागज हामीले गाउँपालिकालाई पनि दियौं । सहकारीबाट राजीनामा पनि स्वीकृत भयो । गाउँपालिकाले पनि राजीनामा गरेको हो भन्ने प्रमाणित ग¥यो । तर, युवा स्वरोजगार कोषले हाम्रो सम्पत्ति रोक्का गरेको छ । जसका कारण अहिले म पीडित बनेको छु– उनले भने ।
यता यस विषयमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषसंग लिखित जवाफ मागे पनि कोषले यो समाचार तयार पार्दासम्म कुनै जवाफ दिएको छैन । कोषको कार्यालयमा सम्पर्क गर्दा सूचनाको हक प्रयोग गर्दै मागिएको पत्र प्राप्त भएको तर आर्थिक वर्षको अन्त्य भएकाले क्लोजिङ नसकी कुनै जवाफ नदिने बताएको छ ।
के भन्छन् अध्यक्ष बस्नेत ?
सहकारी संस्थाका अध्यक्ष बस्नेतले आफूले कोषको रकम दुरुपयोग नगरेको दावी गरेका छन् । तर, कोषबाट लिएको रकम कसलाई लगानी गरियो भन्ने पूर्वाञ्चलकर्मीको प्रश्नमा उनले ऋणीको नाम भने बताउन सकेनन् । धेरै समय भयो, सहकारी अहिले बन्द छ । लगानी गरिएको ऋण उठाउने बातावरण छैन उनले भने – यो समाचारको विषय होइन, यसलाई समाचार नबनाउँदा हुन्छ । म त्यो सबै मिलाउँछु । अध्यक्ष बस्नेतले पूर्वाञ्चलकर्मीसँग सहकारीका विषयमा थप कुरा गर्न चाहेनन् । उनले टेलिफोन सम्पर्कमा एउटै मात्र वाक्यांश पटक–पटक दोहो¥याए त्यो हो– यो समाचारको विषय होइन, होइन ।
न्याय माग्दैै पीडित कोषको कार्यालयमा
सहकारी संस्थामा आवद्ध भएकै कारण आफूहरुलाई सहकारीका अध्यक्ष बस्नेतले पीडित बनाएको भन्दै स्थानीय प्रेम पौडेलसहितका केही व्यक्ति युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यालयमा पुगेका छन् ।
आफूहरु संलग्न नै नभएको विषयमा आफ्नो सम्पत्ति रोक्का भएको र रोक्का भएको सम्पत्ति फुकुवाको माग गर्दै उनीहरु कोषको कार्यालयमा पुगेका हुन् । उनीहरुले कोषमा पुगेर आफूहरुको हस्ताक्षर समेत किर्ते गर्दै कोषबाट रकम लिएको हुँदा त्यस्तो कार्यमा संलग्न अध्यक्ष बस्नेतलाई कारवाहीको माग समेत गरेका छन् ।






























