जनसंख्या वृद्धि अवसर पनि हो

0
63

अंग्रेजी सम्वत्को जुलाइ ११ का दिन विश्वभर मनाइने जनसंख्या दिवस हो आज । जनसंख्या सम्बन्धी विषय उजागर गर्दै समस्याको समाधानका विषयमा जनचेतना जागृत गर्न यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको आह्वानमा मनाइने यो दिवस तीन दशकअघि देखि मनाइँदै आइएको छ । जनसंख्या विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वले मानिसहरुलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो । खासगरी महिला पहुँचले प्रजनन् हेरचाह सुधार गर्ने, मातृ मृत्युमा कमी ल्याउने र लैङ्गिक सुधारहरु गर्ने अनुमान गरिएको थियो । यसका लागि गुणस्तरीय तथ्यांक संकलन, मूल्यांकन र उचित सुधार आवश्यक हुन्छ ।
आज विश्वको जनसंख्या आठ अर्ब नाघेको छ । पाँच अर्ब जनसंख्या भएका समय घोषणा गरिएको यो दिवस जनसंख्या सम्बन्धी समस्या, समाधान र सचेतना विस्तार गर्ने उद्देश्यले मनाउन थालिएको थियो । यसका लागि प्रत्येक वर्ष अलग–अलग नाराका साथ जनसंख्याको महŒव, जनसंख्या वृद्धि, त्यसले पार्ने प्रभाव वा असर लगायतका विषयमा सचेत गराउँदै समस्या समाधानका लागि उत्प्रेरणा जगाउनु पनि यो दिवसको उद्देश्य हो । त्यसो त बढ्दो जनसंख्या कतिपय देशको भविष्यमा नकारात्मक असर पनि पुगेको छ, तर त्यसलाई उपयोग र व्यवस्थापन गर्न सके यसले अवसर पनि प्रदान गर्दछ ।
जनसंख्या वृद्धि हुँदै जाँदा गुणस्तरीय जीवन बाँच्न सकिँदैन भन्ने मान्यता पनि छ । तर, उचित व्यवस्थापन गर्न सके विकास तथा समृद्धिमा त्यही जनशक्ति वरदान सावित हुन्छ । आज विश्वका विकसित मुलुकहरु सन्तान जन्माउनुभन्दा काम, विकास र नवप्रवर्तनमा लागेका छन् । जसले गर्दा आवश्यक जनशक्तिको अभाव पूरा गर्न अल्पविकसित देशहरुको भर पर्न थालेका छन् । सन्तुलित जनसंख्याले मात्र कुनै पनि देशको सुरक्षा, विकास र दिगो भविष्य सुनिश्चित गर्न सक्छ । त्यसैले यस वर्षको नारा युवालाई सशक्तिकरण गर्दै परिवारको माध्यमबाट स्वच्छ र आशावादी विश्व बनाउनु निर्धारण गरिएको छ । त्यसैले बढ्दो जनसंख्या बोझ होइन सन्तुलित र दिगो विकासको आधार हो भन्ने मान्यताका साथ युवा जनशक्तिलाई स्वदेशमा अवसर सृजना गर्ने वातावरण प्रदान गर्न राज्यलाई यो दिवसले उत्प्रेरणा दिओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here