अर्जुनधारा, झापाको अर्जुनधारा–७ नं. वडा कार्यालयको आयोजनामा गत असार १२ गतेदेखि आयोजित १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२को वडास्तरिय क्षमता, सीप तथा सचेतना कार्यक्रम अन्र्तगत विनियोजित बजेटबाट सहभागीहरुलाई उद्घोषण सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष गोविन्द खतिवडाले बताए ।

वडा कार्यालयको सभाहलमा सहजकर्ता नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवम् पूर्वाञ्चलकर्मी अमित खम्बूले सहजिकरण गरेको तालिममा १४ जनाको सहभागिता रहेको वडासचिव सरितादेवी खतिवडाले जानकारी दिइन् ।
तालिममा उद्घोषक र उद्घोषणको परिचय, उद्घोषक र उद्घोषणबीचको भिन्नता, उद्घोषणका प्रकारहरु, प्रत्यक्ष उद्घोषण र अप्रत्यक्ष उद्घोषणबीचको भिन्नता, उद्घोषकको दायित्व, उद्घोषकको योग्यता, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सफल उद्घोषणमा हुनुपर्ने गुणहरुलगायतको विषयमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गरिएको थियो ।
त्यसैगरी वडाध्यक्ष खतिवडाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

अर्जुनधारा नगर कार्यपालिकाका सदस्य कौशिलाल परियार, प्रशिक्षक खम्बूलगायतले मन्तव्य राखेका कार्यक्रममा सहभागीहरु तृष्णा बाँस्तोलाले तालिमको अनुभव, सलिना लिम्बूले गीत, सजल पौडेलले नृत्य तथा स्वेता चापागाईंले कविता प्रस्तुत गरेका थिए ।
सहभागीद्वय अनुष्का निरौलाले स्वागत र सीतादेवी खतिवडाले तालिमको औचित्य माथि प्रकाश पारेको उक्त तालिम समापन कार्यक्रमको सञ्चालन नर्वदा ढुङ्गेलले गरेकी थिइन् ।































