सुरुङ्गा ।

कन्काई माध्यमिक विद्यालय सुरुङ्गामा अध्ययनरत बहिरा तथा सुस्त श्रवण भएका विशेष शिक्षाका विद्यार्थीलाई २९ लाख २० हजार रुपैयाँको छात्रवृत्ति वितरण गरिएको छ ।
विगत वर्ष झैँ यसपालि पनि सबै बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थीलाई अभिभावक भेला आयोजना गरी छात्रवृत्ति वितरण गरिएको हो । आ.व. २०८१/०८२ का लागि ६२ जना विद्यार्थीलाई २९ लाख २० हजार रुपैया छात्रवृत्ति वितरण गरिएको विद्यालयका विशेष शिक्षा संयोजक एवम् कार्यक्रम संयोजक जीवेन्द्र घिमिरेले जानकारी दिए ।
संयोजक घिमिरेले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घर पायक विद्यालय नहुने, विद्यालय आउजाउ गर्न असुविधा हुने, घर पायक विद्यालयमा साङ्केतिक भाषा वा बहिरा मैत्री वातावण नहुने, टाढा सामुदायिक विद्यालय भएपनि बहिरा विद्यार्थीमा सिकाइ उपलब्धि नहुने, गरिबीको कारण विद्यालय पठाउन नै नसक्ने आदि कारणले बहिरा बालबालिकाहरू शिक्षा पाउनबाट वञ्चित भई घरेलु काममै सीमित भएपछि सबैले शिक्षा पाउने हकबाट बहिरा बालबालिका छुट्न जाने अवस्थालाई निस्तेज पार्नको लागि सेवा सुविधा एवम् छात्रवृत्ति दिने उद्देश्यका लागि सङ्घीय सरकारबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नगर कार्यपालिका सदस्य कृष्णमाया भुजेल लगायतले छात्रवृत्ति वितरण गरेका थिए ।
सो छात्रवृत्तिलाई आवास भाडावापत ५ लाख ११ हजार, आवास सञ्चालन वापत ७ लाख ९४ हजार, मसलन्द खर्चवापत ३ लाख १० हजार, २० विद्यार्थीलाई ४५ हजारका दरले ९ लाख, वैशाखदेखि असारसम्म मात्र डेरा गरी बस्ने ९ जनालाई १ लाख २१ हजार ५ सय, कक्षा १० का ९ जनालाई मासिक ४ हजार ५ सयका दरले ७ महिनाको २ लाख ८३ हजार ५ सय गरी जम्मा २९ लाख २० हजार रुपैयाँ वितरण गरिएको थियो ।
विद्यालयका विशेष शिक्षातर्फका विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ मा शतप्रतिशत नतिजा आएको छ । विद्यालयमा सञ्चालित बहिरा तथा सुस्त श्रवण क्षमता भएका एसईईमा सामेल ९ जना विद्यार्थीमा सबै सफल भएका हुन् ।
झापा जिल्लाको केन्द्र भागमा रहेको कनकाई नगरपालिका वडा नं. ३ मा अवस्थित कन्काई माध्यमिक विद्यालयमा २०५३ सालबाट समाजमा अति पिछडिएका अपाङ्गता भएका बालबालिकाहरूमध्ये बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाहरूलाई अध्ययन–अध्यापन गराई साङ्ग बालबालिका सरह शिक्षाको पहुँच पु¥याउने उद्देश्यले विशेष शिक्षाको कक्षा सञ्चालन गरिएको थियो ।
हाल विद्यालयमा ३८ छात्र र ४४ छात्रा गरी जम्मा ८२ जना विद्यार्थी अध्ययनरत छन् भने आगामी एसईई–२०८२ मा १२ जना छात्रा र ३ जना छात्र गरी १५ जना सहभागी हुने विद्यालयका विशेष शिक्षाका शिक्षक गोपाल खरेलले जानकारी दिए ।
शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयले लिएका नीति तथा कार्यक्रमका सम्बन्धमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी तीर्थराज खरेलले गरेका थिए ।






























