बेलबारीका स्रष्टा रमेश निरौलाले ल्याए ‘भावका भँगालाहरू’

0
109

बिराटनगर,

मोरङ बेलबारीका स्रष्टा रमेश निरौलाले ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) प्रकाशनमा ल्याएका छन् । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा निरौलाको उक्त कृतिको लोकार्पण गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरूले निरौलाको कृतिको लोकार्पपण गरे ।

बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाको व्यक्तिगत परिचय प्रस्तुत गदै उनीसँग जोडिएका केही क्षण तथा स्वभावको समेत जानकारी गराएका थिए । कार्यक्रममा लोकार्पित कृतिमाथि लेखक तथा अनुसन्धाता केशु विरहीले अलोचनात्मक समीक्षा प्रस्तुत गरेका थिए ।

पत्रकारसमेत रहेका विरहीले निरौलाका गजलले बहु विषयलाई उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसङ्गति विरुद्धको कडा व्यङ्ग्य मात्र नभएर युवाहरूमा आशावादी स्वरसमेत सुसेलेको बताए । उनले लोकार्पणपछिको समीक्षाभन्दा पाण्डुलिपिमै कृतिको परिचर्चा गरिनुपर्ने, विज्ञ व्यक्तित्वसँग बसेर छलफल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा विशेष गरेर झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न सहयोग गर्ने तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डा. छवि वैरागी घिमिरे, भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की, लगायतका लेखक तथा स्रष्टाहरूले ‘भावका भँगालाहरू’ भित्रका रचना वाचन गरेका थिए । त्यस्तै लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राई, सानु राईलगायतका गायक तथा कलाकारले गजल गायन प्रस्तुत गरेका थिए ।

मुक्तकबाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला कविता, गजल, गीता तथा लघुकथा विधामा समेत कलम चलाउँदै आएका छन् । विभिन्न सङ्घसंस्थामा रहेर काम गरेका उनी बेलबारी साहित्य विकास समितिका वर्तमान अध्यक्षसमेत हुन् । बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गीतकर्मी जेबी थुलुङको रहेको थियो ।

कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका ३ नं वडाका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवर्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेली लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here