
गणतन्त्र जनतालाई सर्वोपरि ठान्ने व्यवस्था हो । सार्वभौमसत्ता जनतामा निहित रहने लोकतान्त्रिक व्यवस्था भएकाले गणतन्त्र सर्वप्रिय हुन्छ, तर हजारौं वर्षको इतिहास बोकेको राजतन्त्र र विशेषगरी २४० वर्षदेखि शासन गरिरहेको शाह वंशीय राजतन्त्रको ओपचारिक अन्त्य गरिएको डेढ दशकभन्दा बढी भएको छ । आज हाम्रो मुलुकमा प्रत्यक्ष र परोक्ष रूपमा गणतन्त्रलाई ध्वंस गरी राजतन्त्र पुनस्र्थापना गर्ने अभिष्टका साथ शक्तिकेन्द्र क्रियाशील छन् ।
नकारात्मकताको जगमा विपक्षीका कमी–कमजोरीलाई गलत ढंगले पुँजीकृत गरी राजनीतिक फाइदा लिने शक्ति नेपालमा उदाएका छन् । गत आम निर्वाचन मार्फत सर्वसाधारण जनताले पनि दशकौंदेखि विश्वास गरिएका र आस्था राखिएका दललाई पन्छाएर नयाँ शक्तिलाई मतदान गरे । आगतको मार्गचित्रभन्दा पनि विगतका कमी–कमजोरीमा प्रहार गरेर जनमत आफूतिर आकर्षित गर्ने रणनीति अनुसार आफ्ना कार्यक्रम अघि बढाइरहेको आजको सन्दर्भमा गर्विलो इतिहास बोकेका ठूला दलहरूले र वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूले आफ्ना नीति, विचार र कार्यक्रम–कार्यनीतिमा पुनरावलोकन गर्न आवश्यक छ ।
सर्वस्वीकार्य तथ्य के हो भने दलीय भूमिका कमजोर, अस्पष्ट, सङ्कीर्ण र अनुदार भएका कारण नेपाली जनताले दुःख पाएका हुन् । भुइँमान्छेसम्म प्रभाव विस्तारित भएका नेपाली कांग्रेस र नेकपा एमाले कार्यशैलीका हिसाबले, सेवा प्रवाहका हिसाबले र युगसापेक्ष नीति निर्धारण गर्न र तिनका सफल कार्यान्वयनमा देखिएको उदासीनता र गैरजिम्मेवार रवैयाका कारण ठूला र पुराना मानिएका दलहरूप्रतिको विश्वासमा कटौती भएको हो ।
राजनीतिक दललाई लोकतन्त्रको आधारशिला भनिन्छ । दलगत शासन उत्तरदायी शासनको महŒवपूर्ण सिद्धान्त हो । मुलुकलाई दिशानिर्देश गर्ने र जनअभिमतको बलमा जनादेशलाई शिरोपर गर्ने काम राजनीतिक दलहरूको हो । राजनीतिक दल उत्तरदायी शासनको अविभाज्य अङ्ग हो । राजनीतिक दलबिना लोकतन्त्रको कल्पनासम्म पनि गर्न नसकेका पश्चिमी विद्वानहरू छन् ।
वास्तवमा राजनीतिक दलले राज्य सञ्चालनको प्रमुख भूमिका खेल्दछन् । तर, अचेल राजनीति भन्नाले छक्कापञ्जा, छलछाम, गुटबन्दी र स्वार्थको खेललाई बुझिन्छ । यो राजनीतिको सङ्कीर्ण परिभाषा हो । आजको सबैभन्दा महत्वपूर्ण कुरा भनेको मुलुकमा लागेको कालो बादल कसरी हट्छ भन्ने हो । दलीय व्यवस्थामा राजनीतिक दलका कमजोर भूमिकाका कारण सबै क्षेत्रमा समस्या सिर्जना हुन्छन् ।
पहिलो कुरा राजनीतिक दलले आफ्नो कर्तव्य र गरिमालाई बोध गर्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्थाको महŒव स्थापित हुन्छ । आधुनिक शासन–व्यवस्था लोकमतमा निर्भर छ । हरेक राजनीतिक दलले आफ्नो जनताप्रतिको दायित्व र मुलुकप्रतिको उत्तरदायित्व बुझ्न जरुरी हुन्छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय समस्या र तिनका समाधानका लागि दलहरूले सक्रियता, सबलता र सक्षमतापूर्वक चिन्तनमनन र विचारविमर्श गर्नुपर्छ । आवश्यकता अनुसार शासकीय स्वरूपमा फेरबदल ल्याउन सकिन्छ, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु भनेको मुलुकलाई फेरि पछाडि फर्काउनु हो ।
दोष गणतन्त्रको होइन, राजनीतिक दलको भूमिका कमजोर भएको हो । बनेका नीतिनियम र योजना–परियोजनालाई सफलताका साथ कार्यान्वयन गर्ने मूल दायित्व राजनीतिक दलकै हो । नेपालमा नेपाली कांग्रेस र एमाले जस्ता दलले मुलुकको विकास, सुरक्षा, विदेश सम्बन्ध, शिक्षा नीति लगायतका विषयमा आफ्नो धारणालाई प्रभावशाली बनाउनका नसकेको कारणबाट आजका समस्या सृजना भएका हुन् । दलको अभावमा स्वतन्त्रताको अभाव रहन्छ । प्रतिनिधिमूलक लोकतन्त्रको सफलता राजनीतिक दलहरूउपर नै निर्भर छ । राजनीतिक दलविना लोकतान्त्रिक शासन व्यवस्था चल्न नसक्ने कुरा जगजाहेर छ । नेपालको दुःखको मूल कारण दलहरूले आफ्नो शक्तिको ठीक विन्यास गर्न सकेनन् । साँच्चै भन्ने हो भने दलहरूले आफू र आफ्नो उत्तरदायित्व बुझ्न सकेनन् ।
२०४६ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनापछि पनि दलहरूले जनअपेक्षा अनुरूप काम गर्न सकेनन् । राजनीतिक दलहरूले नै मनुष्यका अस्पष्ट तथा परस्पर विरोधी विचारहरूलाई रूप र आकार प्रदान गर्दछन् । राजनीतिक दल नहुने हो भने सिद्धान्तको एकीकृत अभिव्यक्ति हुन सक्दैन, नीतिको नियमित विकास असम्भव हुन जान्छ, नियमित रूपले निर्वाचनको वैधानिक उपाय प्रयोग गर्ने तरिका समाप्त हुन जान्छ र ती समस्त संस्थाहरूको अन्त्य हुन जानेछ जसको माध्यमबाट राजनीतिक दलले शक्ति ग्रहण गर्दथ्यो र तिनलाई जीवित राख्ने प्रयत्न गर्दथ्यो ।
राजनीतिक दल जनमत निर्माण र जनताको विचार अभिव्यक्तिको महत्वपूर्ण साधन हो । राजनीतिक दलको प्रभाव कम हुनुका पछि उनीहरूले लिएका नीति र कार्यक्रम जनअपेक्षा अनुसार छैनन् । राजनीतिक दलले जनताप्रतिको कर्तव्यबोध गरेमा लोकतान्त्रिक गणतन्त्र सबल हुन्छ र मुलुक खिचातानीबाट मुक्त भएर सकुशल प्रभावशाली, समृद्ध र विकसित हुनसक्छ ।
राजनीतिक दलका कार्यक्रम समाजका सबैभन्दा बढी पीडामा परेका तृणमूलका जनताका लागि के भयो । तसर्थ, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेले आफू र आफ्ना दललाई सच्याउन जरुरी छ । अवस्था परिवर्तन र व्यवस्था परिवर्तनका दुई सङ्कथनका बीच हामी अल्मलिने होइन, बरु आवश्यकता अनुसार अवस्था र व्यवस्था दुबै रूपान्तरण गर्दै अघि बढ्न जरुरी छ ।

























