पाँच करोड रुपैयाँको लागतमा बिर्तामोड नगरको प्रशासकीय भवन उद्घाटन: सेवाग्राहीको सहजताका लागि लिफ्टको व्यवस्था

0
73

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका हुन् । नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार ४ करोड ९९ लाख १७ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको
यो भवन पाँच तले छ । नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको नगरप्रमुख महताराको भनाई छ । सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढंगले व्यवस्थापन गर्न यो भवनले महत्त्वपूर्ण भूमिका खेल्नेछु, नगर प्रमुख प्रसाईले भनिन् ।

नवनिर्मित भवनमा सेवाग्राही र कर्मचारी दुवैका लागि विशेष सुविधाहरू समेटिएका छन् । भवनको भुइँतलामा सवारी पार्किङको व्यवस्था गरिएको छ । दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितको कार्यकक्ष बनाइएको छ ।

तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष छ । चौथो तलामा आकर्षक र आधुनिक सभा हल बनाइएको छ । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ । भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सेवाग्राहीको बढ्दो चाप र नगरको विस्तारित कार्यबोझलाई व्यवस्थापन गर्न नयाँ भवनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय पूर्वाधार विभाग र बिर्तामोड नगरपालिकाको ५०/ ५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको यो भवन २०८० असार २४ गते सुरु भएर २०८१ पुस १७ गते निर्माण सम्पन्न भएको थियो ।

२३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको यो नयाँ भवनले बिर्तामोडको विकासमा नयाँ आयाम थपेको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए ।

सोही कार्यक्रमका बीच वडा नम्बर ७ का ३ जना सुकुम्बासीलाई जग्गा धनीपुर्जासमेत वितरण गरिएको छ । उद्घाटन कार्यक्रममा कोशी प्रदेशका खानेपानी उर्जा तथा सिँचाई मन्त्री एकराज कार्की, जनप्रतिनिधि, विभिन्न राजनीतिक, प्रशासनिक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here