इलाम, इलाम जिल्लामा आत्महत्याका घटनामा उल्लेखनीय कमी आएको तथ्यांक जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षमा आत्महत्याको घटना ३० प्रतिशतले घटेको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी एक नारायण कोइरालाले आफ्नो कार्यकालमा देखिएको यो सकारात्मक परिवर्तनलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा प्रस्तुत गर्नुभयो।
प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा १२० वटा आत्महत्याका घटना दर्ता भएका थिए भने चालु वर्ष २०८१÷८२ मा घटेर ८४ मा झरेका छन्।
प्रमुख कोइरालाका अनुसार, यो सुधार प्रहरीको सक्रियता, समुदायसँगको समन्वय, र जनचेतनामूलक कार्यक्रमहरूको प्रत्यक्ष परिणाम हो। विशेषगरी महिला र बालिकामा आत्महत्याको घटनामा देखिएको गिरावटले आत्महत्या न्यूनीकरण अभियान प्रभावकारी बनेको संकेत देखिन्छ ।
प्रहरीले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अन्तर्गत जिल्लादेखि वडास्तरसम्म कार्यदलहरू गठन गरी सघन कार्यक्रम सञ्चालन गरेको छ।
जिल्लाभर ३५० भन्दा बढी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी आत्महत्याका कारण, संकेतहरू र रोकथाम उपायहरूबारे सचेतना फैलाइएको छ।
त्यस्तै, मानसिक तनाव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय इलाम परिसरमा कानुनी तथा मनोसामाजिक परामर्श कक्ष स्थापना गरिएको छ। यस कक्षले लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरू मात्र नभई मानसिक रूपमा कमजोर अवस्थामा रहेका अन्य व्यक्तिहरूलाई पनि परामर्श सेवा दिँदै आएको छ ।
प्रहरी इकाइगत रूपमा हेर्दा, जिल्ला प्रहरी कार्यालय इलामको कार्यक्षेत्रमा २०, इलाका प्रहरी कार्यालय पशुपतिनगरमा १६, इलाका प्रहरी कार्यालय मंगलबारेमा १२, प्रहरी चौकी पेल्टिमारीमा १०, प्रहरी चौकी बन्दुकेमा ४, प्रहरी चौकी दानाबारीमा ४, प्रहरी चौकी किटेनीमा २ र प्रहरी चौकी बाझोमा २ वटा आत्महत्याका घटना दर्ता भएका छन्। यो तथ्याङ्कले जिल्लाभरि नै आत्महत्या रोकथामका प्रयासहरू फैलिएको देखिन्छ ।
यो तथ्याङ्कले आत्महत्या न्यूनीकरण प्रयास जिल्लाभर फैलिएको र प्रभावकारी रूपमा कार्यान्वयनमा आएको प्रमुख कोइरालाको भनाइ छ । प्रमुख कोईरालाले आगामी दिनहरूमा मनोसामाजिक स्वास्थ्य र समृद्ध समाज निर्माणका लागि प्रहरी अझ बढी जनमुखी र सेवा–मुखी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
प्रहरीले सार्वजनिक गरेको अन्य चोरी, लागुपदार्थ सेवन नियुनिकरणका घटनामा समेत प्रहरी सक्रिय भएर लागिरहेको तथ्यांक सार्वजनिक गरेको छ ।






























