- बिर्तामोडको भूमि उपयोगको विषयमा ताइवानमा परियोजना प्रस्तुत गर्दै
झापा, ताइवानमा आयोजना गरिएको ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’मा झापाका दुई जना विद्यार्थी छनौट भएका छन् ।
‘भूमि उपयोग तथा आवरण परिवर्तन’सम्वन्धि अनुसन्धानमा भाग लिँदै उत्कृष्ट भएका बिर्तामोड १ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी एशिया प्यासिफक सम्मेलन (युवा वैज्ञानिक सम्मेलन) मा छनौट भएका हुन् ।
कक्षा ९ मा अध्ययनरत पल लिम्बू र कक्षा १० मा अध्ययनरत विद्यार्थी पल्पसा श्रेष्ठले सो सम्मेलनमा भाग लिँदै बिर्तामोड नगर क्षेत्रमा बढ्दो शहरीकरणका कारण वनस्पतिक आवरण क्षेत्र घट्दै गएको र त्यसले पर्यावरणमा पार्ने क्षति लगायतका विषयमा तयार पारिएको परियोजना प्रस्तुत गर्नेछन् । उनीहरुले सन २०१६ – २०२४ सम्म बिर्तामोड नगरमा देखिएको परिवर्तनका विषयमा तयार पारेको सामग्री सो सम्मेलनमा प्रस्तुत गर्ने छन् । सेन्टिनेल–२ उपग्रहबाट तथ्याङ्क संकलन गरी जीआईएस कम्प्युटेसनल उपकरणहरु प्रयोग गरेर उनीहरुले सो परियोजना तयार पारेका हुन् ।

यस अघि काठमाडौंस्थित युनिग्लोव कलेज र नेपाल पोलिमर इन्टिच्युटको संयुक्त आयोजनामा भएको यङ साइन्टिस्ट समिट २०८१ मा उत्कृष्ट हुँदै ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’को यात्रा उनीहरुले तय गरेका थिए ।
ताइवानमा यही जुलाई २३ देखि २७ सम्म आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलनमा सहभागीता जनाउन लागेसंगै उनीहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ ।
पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्य तथा विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई विदाई गरिएको हो ।
ताइवानमा आयोजना हुने ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’मा नेपालबाट सात जना विद्यार्थीले फरक ÷ फरक विधामा प्रतिष्पर्धा गर्ने छन् । काठमाडौंस्थित अर्वाना स्कूल अफ साइन्स र सेन्ट लोरेन्सका पाँच जना विद्यार्थीले युवा वैज्ञानिक सम्मेलनमा भाग लिन लागेका हुन् । उनीहरु आगामी मंगलवार सिंगापुर एयरलाइन्सबाट ताइवान जाने कार्यक्रम रहेको छ ।
यस अघि काठमाडौंमा आयोजना गरिएको नवौं युवा बैज्ञानिक शिखर सम्मेलन ( यङ साइन्टिस्ट समिट २०८१) मा विद्यार्थीहरुले रासायन तथा वातावरणीय विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ तथा रोबटिक्स, कम्प्युटर विज्ञान तथा कृतिक बुद्धिमता , स्वदेश ज्ञान तथा स्थानीय प्रविधि जस्ता विभिद विधामा अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
देश भरका ५० बढी उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले सो कार्यक्रममा अलग अलग विद्यामा ८५ वटा भन्दा बढी अनुसन्धान परियोजना प्रस्तुत गरेका थिए । जसमा चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी उत्कृष्ट भएका थिए ।
विद्यालय स्तरमा अध्ययनरत वैज्ञानिक चेत र सामथ्र्य बोकेका विद्यार्थीको प्रतिभालाई उचित अवसर र वातावरण प्रदान गर्ने उद्देश्यले आयोजित युवा वैज्ञानिक सम्मेलन भएको थियो । सो सम्मेलनमा उनीहरु उत्कृष्ट भएसंगै ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’मा छनौट भएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए ।
यस्तो छ ताइवानमा प्रस्तुत गरिने परियोजना
ताइवानको ताइपेई सहरमा आयोजना गरिएको ‘एशिया प्यासिफिक सम्मेलन फर यंग साइन्टिस्ट्स’ सम्मेलनमा पल र पल्पसाले बिर्तामोड नगरपालिकाको बढ्दो सहरीकरणसंगै यहाँको जनसंख्या, भूगोलको अवस्था , पर्यावरण, कृषि क्षेत्रको अवस्था र वन तथा बातावरणका विषयमा परियोजना प्रस्तुत गर्नेछन् ।

जसका लागि उनीहरुले यहाँको समग्र वस्तुस्थिति समेटेर प्रतिवेदन तयार गरेका छन् । सेन्टिनेल–२ उपग्रहबाट तथ्याङ्क संकलन गरी जीआईएस कम्प्युटेसनल उपकरणहरु प्रयोग गरेर बनाइएको तथ्याङ्क अनुसार बिर्तामोडको शहरीकरण २ दशमलब ७७ प्रतिशतले बढ्दो छ भने जंगली क्षेत्रफल ३ दशमवल ८ प्रतिशतले घट्दो छ । पानीको क्षेत्रफल यथावत रहेपनि वुट्यान क्षेत्र समेत १ दशमलव ६ प्रतिशतले घट्दो देखिएको छ । पूर्बको प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिएको बिर्तामोड नगरपालिका तीब्र रुपमा शहरीकरण उन्मुख छ ।
७८ दशमलव २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकामा, कृषियोग्य जमिन, वुट्यान तथा वन क्षेत्र घट्दो रुपमा छ भने आवस क्षेत्र दिनानु दिन बढ्दै गएको छ ।
विद्यार्थीले विद्यालयका विज्ञान शिक्षक तथा अनुसन्धान पर्यवेक्षक सागर सिटौलाको सहयोगमा यो परियोजना तयार पारेका हुन् । परियोजना तयार गर्ने क्रममा उनीहरुले बिर्तामोड नगरपालिकामा कृषियोग्य जमिन ५९ दशमलव ८१ स्क्वार किलोमिटर उल्लेख गरेका छन् । त्यस्तै शहरी बस्ती ८ दशमलव ९ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने वुट्यान क्षेत्र ७ दशमलव २८ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तथ्याङ्क सन २०२४ डिसेम्वरको हो । विद्यार्थीले सन २०१६ र सन २०२४ बीचमा बिर्तामोड नगर क्षेत्रमा ‘रासयनिक तथा वातावरण विज्ञान’मा केन्द्रीत रहेर अनुसन्धान गरेका थिए ।
पूर्वी पहाडबाट शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक सेवा सुविधको खोजीमा बसाइ सरी आउने क्रम तिब्र भएका कारण कृषि योग्य जमिन आवस तथा व्यापारिक क्षेत्रमा रुपान्तरण भई रहेको उल्लेछ गरेको छ ।






























