पथरीशनिश्चरे ।

मोरङको पथरी शनिश्चरे–२ को शहीद रत्नकुमार–कृषि सडक खण्डको उद्घाटन भएको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्बापोले सडकको उद्घाटन गरेका हुन् । उनले विगत तीन वर्षदेखि संघीय सरकारबाट क्रमागत बजेट र पथरीशनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा उक्त शहीद रत्न मार्ग अन्तर्गत बहुमुखी क्याम्पस, बुद्ध चोक हुँदै बोक्रे चोक–कालापानीसम्मको साढे तीन किलोमिटर सडकमा कालेपत्रे गर्न सफल भएको बताए ।
आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै वडा नं. २ को शहीद रत्न मार्गको सुन्दर बस्तीदेखि बोक्रे चोक–कालापानीसम्म जोड्ने १७ सय ४० मिटर लामो र ५.५ चौडाको सो सडकमा कालोपत्रे गरिएको छ ।
उक्त कार्यका लागि विराटनगरको जोशिला रनकालिमाता जेभी निमार्ण कम्पनीले कुल एक करोड ८२ लाख ५३ हजार एक सय ५० रुपैयाँ (भ्याटसहित)को सम्झौतामा कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको नगरपालिकाका प्रमुख इञ्जिनियर हसरत अली नेपालले जानकारी दिए ।
सोही अवसरमा वडा नं २ का वडा अध्यक्ष नैना राईले गत आर्थिक वर्षमा वडा भित्रका विभिन्न विकास आयोजना तथा कार्यक्रमहरुबारे उल्लेख गरे । ३१ वर्षपछि सो सडकमा पिच भएकोले कृषिजन्य उत्पादनहरू नजिकैको हाट बजारसम्म बेचबिखन गर्न सहज भएको स्थानीय अगुवा देवीप्रसाद ढकालले बताए ।
पथरी बजार र उर्लाबारी नगरपालिकाका विभिन्न कृषि, पशु तथा व्यापारिक बजार आवतजावत गर्न प्रत्यक्ष लाभ मिल्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नवीन कार्की, सहायक इन्जिनियर सन्तोष केसी, वडा सदस्यहरू क्रमशः चन्द्रकुमार राई र सीता भुसाल, पूर्व वडाध्यक्ष याम गुरागाईं , चौतारी सामुदायिक वनका पदाधिकारी, स्थानीय , समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।































