झापा । लागूऔषधको कारोबार गरेर अकूत सम्पत्ति आर्जन गरेका झापा बिर्तामोडका भानुभक्त खरेलको सन्दर्भमा सम्पत्ति शुद्धीकरण सम्वन्धी कानूनसमेत आकर्षित हुने बताइएको छ ।

खरेलले लामो समयदेखि लागूऔषधको कारोबार गरेर करोडौं सम्पत्ति आर्जन गरेको, त्यसरी आर्जित सम्पत्तिबाट घर जग्गा, गाडी तथा विभिन्न क्षेत्रमा लगानी गरेको स्रोतले जनाएको छ ।
- कानूनमा कुनै व्यक्तिले भ्रष्टाचार गरेर, लागूऔषधको कारोबार गरेर, गुण्डागर्दी, हुण्डी कारोबार,हातहतियार खरिद विक्री लगायतका धन्दा गरी आर्जन गरेको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्वद्ध कसुर अनुसार छानबिन र कार्वाही हुने व्यवस्था छ ।
-
पहिले सम्पत्ति शुद्धीकरण सम्वद्ध कसुरमा सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाउँथ्यो भने अहिले कानून संशोधन गरी प्रहरीलाई नै अधिकार दिइएको छ । प्रहरी उच्च स्रोतका अनुसार लागूऔषधको कारोबार कसुरसँगै खरेल उपर इलाका प्रहरी कार्यालय अनारमनीले नै सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न र जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सक्ने बताइन्छ ।
हालसम्म खरेल फरार छन् भने प्रहरीले ठूलो परिमाणमा भण्डारण गरिएको लागूऔषधसहित उनका कामदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले खरेलमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्ला त ? वर्षौदेखि लागूऔषधको कारोबार गरेर अकूत सम्पत्ति आर्जन गर्दै कैयौंको घर बिगार्ने र युवाको भविष्य अन्धकारतर्फ धकेलिदिने खरेललाई तत्काल पक्राउ गरी हदैसम्मको कार्वाही हुनुपर्ने आवाज उठिरहेको छ ।





























