झापा।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा.पुनले उक्त जानकारी दिए । उनले पुस्तक बिक्रीबाट १२ करोड रुपैंया राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए । उनको पुस्तकको मूल्य सात सय ५० रुपैंया छ ।
उक्त रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उनको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताए ।
विर्तामोड, दमक, बाह्रदशी, बिर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ । विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा.पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरे ।
उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए । ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरे ।






























