इलाम, 
नेवार समुदायद्वारा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गठेमंगल आज इलाममा पनि श्रद्धा र परम्परागत विधिसाथ मनाइँदैछ।
दुष्ट आत्मा, राक्षस, भूतप्रेत तथा रोग–व्याधी भगाउने प्रतीकको रूपमा मनाइने यो पर्वमा काठको मानिसजस्तो आकृतिको पुत्ला बनाइन्छ र घरअगाडि वा सार्वजनिक स्थानमा राखिन्छ। त्यसपछि तान्त्रिक विधिअनुसार मन्त्र पाठ गरिन्छ र साँझमा सो पुत्लालाई बजार परिक्रमा गराउँदै जलाइन्छ।
नेवार समुदायको विश्वास अनुसार यसरी पुत्ला दहन गर्दा टोलबाट भूतप्रेत र अनिष्ट शक्तिहरू हट्छन्। प्रचलित कथनअनुसार ‘गठेमंगल’ नामको राक्षसले कहिल्यै मानव समाजलाई दुःख दिइरहने गरेकोले उसलाई तान्त्रिक विधिबाट भगाएर त्यसको पुत्ला बनाइ जलाइएको सम्झनामा यो पर्व मनाइन्छ।
यसै सन्दर्भमा इलाम नगरपालिका–५ मा रहेको नेवाः देय् दबू बरबोटे समूहले गठेमंगलको अवसरमा काठको पुत्ला बनाइ सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गराएको छ। पुत्लालाई बिब्ल्याँटे चोकमा ठड्याइएको छ भने आज साँझ दोबाटोमा दहन गरिने कार्यक्रम रहेको जानकारी आयोजकले दिएका छन्।
स्थानीयबासीको उत्साहजनक सहभागितामा इलाममा यो पर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाइएको छ।































