निःशुल्क पाइने रेबिजविरुद्धको भ्याक्सिन छैन प्रादेशिक अस्पतालमा, औषधि पसलबाट महँगो किन्नुपर्ने बाध्यता

0
93

पार्थ मण्डल, झापा ।

प्रादेशिक अस्पताल भद्रपुरमा विगत एक महिनादेखि रेबिजविरुद्धको भ्याक्सिन सेवा बन्द छ । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको प्रादेशिक अस्पतालमा रेबिजको भ्याक्सिन अभाव हुँदा दैनिकजसो उपचारका लागि आउने बिरामी उपचार नपाई फर्किन बाध्य बनेका छन् ।

गत असार ३ गतेदेखि बन्द भएको सेवा अझै सुचारु नहुँदा बिरामीहरू निजी फार्मेसीबाट महँगोमा भ्याक्सिन किन्न बाध्य भएका छन् । प्रदेश सरकारले प्रादेशिक, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रेबिजको भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउँदै आइरहेको छ ।

रेबिज एक घातक भाइरल रोग हो जुन प्रायः कुकुर, बिरालो, बाँदरजस्ता जनावरको टोकाइ वा ¥यालले सर्छ । एकपटक लक्षण देखिएपछि यसबाट बच्न सकिँदैन । त्यसैले २४ घण्टाभित्रै पहिलो भ्याक्सिन लगाउनु अत्यावश्यक सेवा ठानेर सरकारले यो भ्याक्सिन निःशुल्क दिनुपर्ने नीति नै बनाएको हो ।

तर, प्रादेशिक अस्पतालमा निःशुल्क पाइने भ्याक्सिन नहुँदा बिरामीहरू अस्पताल वरिपरिका निजी फार्मेसीहरूबाट साढे ६ देखि ७ सय रुपैयाँसम्म भ्याक्सिन खरिद गरी लगाउनुपर्ने अवस्था आइपरेको बिरामी तथा तिनका आफन्तजनहरूले गुनासो पोखेका छन् ।

कुकुरले खुट्टामा कोतारेपछि भ्याक्सिन लगाउन प्रादेशिक अस्पताल आएका बिर्तामोड नगरपालिका १ निवासी रमेश मगर नलगाई त्यतिकै फर्किएका छन् । बिर्तामोडबाट भ्याक्सिन लगाउन आएको बताउँदै मगरले भने, ‘पुर्जा काटेर डाक्टर देखाए, डाक्टरले भ्याक्सिन लगाउन भन्यो, भ्याक्सिन सेवा दिने कोठामा पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले छैन भनी फर्कायो ।’
अस्पतालमा निःशुल्क छ भनी त्यति टाढाबाट आइयो ।

‘बाहिर पसलमा किन्न जाँदा ७ सय रुपैयाँ भन्यो, निःशुल्क पाइने भ्याक्सिन पनि अब महँगोमा किन्नु पर्ने अवस्था आयो,’ उनले भने । सरकारी अस्पतालमा एक महिनासम्म सेवा अवरुद्ध हुँदा अस्पताल प्रशासन के हेरेर बसिरहेको छ ? उनले आक्रोश पोखे ।

त्यस्तै भद्रपुर नगरपालिका–७ का १० वर्षीय बालक जीवन भित्रीकोटी बिरालोले टोक्दा भ्याक्सिन लगाउन बुबासँगै अस्पताल पुगेका थिए । भ्याक्सिन छैन भनेपछि उनका बुबाले निजी पसलबाट ६७० रुपैयाँमा खरिद गरी फेरि अस्पतालमा गई छोरालाई भ्याक्सिन लगाएका थिए । त्यसैगरी बिरालोले कोतारेर अस्पताल पुगेका भद्रपुर–९ का साजिद हुसेन पनि बाहिरै पसलबाट साढे ६ सय भ्याक्सिन किनेर लगाएका थिए । सरकारी अस्पतालमा निःशुल्क पाइने भनिएको भ्याक्सिन नहुनु दुखद हो ।

‘हुने खानेलाई त ठिकै छ, गरिब तथा विपन्न परिवारका लागि यो ठुलो समस्या बन्यो, नहुनेले कहाँबाट साढे ६ सय रुपैयाँमा भ्याक्सिन खरिद गरेर लगाउन सक्छ ?’ साजिदका बुबा शाहिद हुसेनले भने । भ्याक्सिन तीन पटक लगाउनुपर्ने हुन्छ । तिन पटकको जोड्दा एक हजार ९५० रुपैयाँ लाग्ने उनको भनाई छ ।

रेबिज भ्याक्सिनको अभावका कारण दैनिक जसो अस्पताल पुग्ने बिरामीहरू निराश भएर फर्कनु परेको छ । अस्पताल प्रशासनले समेत यसप्रति आवश्यक पहल नगरेको बिरामीहरूको आरोप छ । अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलका अनुसार मासिक ५ सय भ्याक्सिन अस्पतालमा खपत हुन्छ । मन्त्रालयले मासिक रुपमा भ्याक्सिन पठाउँथ्यो । माग गरिएको भ्याक्सिन मन्त्रालयले नपठाउँदा सूचना टाँस गरेर सेवा बन्द गर्नुपर्ने सूचना अधिकारी पोखरेलको भनाई छ ।

यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले मन्त्रालयले कोलोजिङ भन्दै भ्याक्सिन नपठाउँदा सेवा प्रभावित हुन पुगेको बताए । मन्त्रालयलाई लिखित रुपमा जानकारी गराइसकेको अवस्थामा पनि अझै भ्याक्सिन आइपुगेको छैन । यस बारेमा फेरि जानकारी गराउने उनको भनाई छ ।

उता कोशी सरकार, स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव बारेमा आफूलाई जानकारी नभएको बताए । यस बारे तुरुन्त आपूर्ति विभागमा जानकारी गराउने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here