इलाममा आत्महत्या दर घट्यो: चोरी र जबरजस्ती करणीका घटना बढे

0
50

इलाम ।

इलाममा आत्महत्या दर घट्दै गएको छ भने चोरी, जबरजस्ती करणी, लागूऔषध र अन्य आपराधिक गतिविधिमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाका अनुसार गत आर्थिक वर्षको तुलनामा चालूवर्ष आत्महत्याका घटना ३० प्रतिशतले घटेका छन् । गतवर्ष १२० जनाले आत्महत्या गरेकोमा यस वर्ष यो संख्या घटेर ८४मा सीमित भएको हो । आत्महत्या न्यूनीकरणका लागि प्रहरीले वडा तहसम्म कार्यदल बनाएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लाभरि १५० वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

तर, अन्य आपराधिक घटनाहरू भने बढेका छन् । यस वर्ष मात्रै ३१ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भई ३१ जना पक्राउ परेका छन् । गतवर्ष यस्ता घटना २६ मात्र थिए । चोरीका घटना पनि १० बाट बढेर १७ पुगेका छन् भने यसबर्ष २७ जना चोरीमा संलग्न रहेको भन्दै पक्राउ परेका छन् ।

एसपी कोइरालाका अनुसार यसवर्ष जघन्य अपराध अनुसन्धानमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ । सूर्योदय–११ का धनराज राई हत्या प्रकरणमा उनका छोरा एडवर्डसहित ६ जना र इलाम नगरपालिका–४ का देउप्रसाद राई हत्या प्रकरणमा दुई जना कारागार चलान भएका छन् ।

त्यस्तै, फाकफोकथुममा गर्भवती श्रीमती बिमला कट्टेलको हत्या गरेको अभियोगमा उमेश गिरी र अर्का एक जना पनि पक्राउ परी कारागार चलान भएका छन् । गिरीले डोजरले खाडल खनेर पत्नीलाई पुर्दै हत्या गरेको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार प्रकरणमा माई नगरपालिकाको एक घटना उल्लेखनीय छ । जहाँ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी मिलापत्र गरेर घटना लुकाउन खोजिएको थियो। चार जना अभियुक्तमध्ये एक जना अहिले कारागारमा छन् भने अन्य धरौटीमा रिहा भएका छन् । प्रहरीले अदालतबाट सजाय सुनाइएका १४६ फरार अभियुक्तलाई चालूवर्षमा पक्राउ गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो (गतवर्ष ७१ जना मात्र पक्राउ परेका थिए) ।

लागूऔषधसम्बन्धी मुद्दाहरू पनि बढेका छन् । चालूवर्ष २७ मुद्दामा ५२ जना पक्राउ परेका छन्, जुन गतवर्षको १८ मुद्दामा ३४ जना पक्राउको तुलनामा उल्लेखनीय वृद्धि हो । सवारी दुर्घटना सम्बन्धी मुद्दामा भने संख्यात्मक घटेको भए पनि मृतक संख्यामा अन्तर देखिएको छैन । गत वर्ष १० मुद्दामा ९ जनाको मृत्यु भएकोमा चालू वर्ष ८ मुद्दामा पनि ९ जनाको मृत्यु भएको छ ।

भन्सार चोरीपैठारी नियन्त्रण अन्तर्गत ३४ वटा सवारी साधन नियन्त्रणमा लिइएको र सात जना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । चोरी नियन्त्रण तथा निगरानीका लागि इलाम नगरपालिका र माई नगर क्षेत्रमा सीसी क्यामेरा जडान तथा निगरानी बढाइएको छ ।

साथै, प्रहरी कार्यालयमा स्थापना गरिएको मनोसामाजिक परामर्श कक्षमार्फत लागूऔषध प्रयोगकर्ता, आत्महत्या प्रयास गर्ने व्यक्ति तथा घरेलुहिंसाबाट पीडितलाई परामर्श दिइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालूवर्ष १९७ वटा आपराधिक मुद्दा दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here