
नेपालमा जब जब नेतृत्वको असक्षमता र राज्य संयन्त्रप्रतिको जनआस्था कमजोर हुँदै जान्छ, तब नागरिक नै अग्रसर भएर केही गर्ने प्रयासहरू अगाडि आउँछन् । यस्ता प्रयासहरूमा डा. महावीर पुनको नाम विशेष श्रद्धा र सम्मानसाथ लिन सकिन्छ ।
उनी अहिले ‘देशका लागि केही गरौं’ भन्ने नारा लिएर, हातमा आफ्नै नामको पुस्तक समातेर देश दौडाहामा छन् । अहिलेको यात्राको सन्दर्भ झापा हो, जहाँ उनले वीरगञ्जमा निर्माणाधीन कृषि औद्योगिक केन्द्रका लागि सहयोग जुटाउने क्रममा राष्ट्रिय आविष्कार केन्द्र मार्फत आफ्ना विचार र उद्देश्य प्रस्तुत गरिरहेका छन् ।
डा. पुनको आगमन कुनै प्रचारात्मक भ्रमण होइन । उनी कुनै चुनावी सन्देश लिएर आएका होइनन् अहिलेसम्म । बरु उनी झापा आएका हुन् देशका नागरिकसँग साक्षात्कार गर्न, विश्वास माग्न र उत्तरदायित्व बाँड्न ।
पुस्तकमा उनले लेखेका छन्– ‘अरूको भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनु असल हुन्छ ।’ यो भनाइ केबल भावनात्मक अभिव्यक्ति होइन । डा. पुनको व्यवहार र अभियानद्वारा प्रत्यक्ष रूपमा पुष्टि भएको दर्शन हो यो । उनले पुस्तक बेचेर जो कोही नागरिकसँग सहयोग मागिरहेका छन्, सरकार वा विदेशी दाताको मुख ताकेका छैनन् । उनले प्रमाणित गरिरहेका छन् कि समस्या समाधान गर्न धेरै पैसा होइन, गहिरो सोच, कठोर श्रम र सत्यनिष्ठा आवश्यक हुन्छ ।
पुस्तकमा डा. पुनले स्पष्ट रूपमा भनेका छन्– हामी सबैले केही न केही गर्न सक्र्छौं, जो जहाँ छ, जति सक्छ, त्यति ।’ यिनै विचारमा आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व र सक्रिय नागरिकताको सूत्र समेटिएको छ । डा. पुनको दृष्टिमा केबल सरकारलाई दोष दिँदै बस्नुको विकल्प भनेको नागरिक आफैं अग्रसर हुनु हो । वीरगञ्जमा निर्माणधीन कृषि औद्योगिक केन्द्र त्यही आत्मनिर्भर सोचको मूर्तरूप हो, जहाँ कृषकले उत्पादनदेखि बजारीकरणसम्मका सम्पूर्ण सेवा एकै थलोमा प्राप्त गर्न सक्छन् ।
यसरी सोचेर अघि बढ्ने डा. पुनको प्रयासलाई कतिपय बौद्धिक विश्लेषकहरूले आलोचना पनि गरेका छन् । डा. सुरेन्द्र केसी जस्ता टिप्पणीकारले डा. पुनको कार्यलाई भावनात्मक आवेग, राजनीतिक आकांक्षा वा संस्थागत गैरजिम्मेवारीको पर्याय ठान्छन् । उनीहरू भन्छन्– ‘प्रणाली परिवर्तन नगरी यस्ता कामले दीर्घकालीन समाधान दिन सक्दैनन् । तर यस्ता आलोचनाहरू व्यवहारमा आधारित छैनन् ।’ डा. पुन स्वयम्ले पुस्तकमा लेखेका छन्– ‘मैले राजनीति गर्न खोजेको होइन, जुनसुकै सरकारले राम्रो काम गर्छ भने म साथ दिन तयार छु ।’ उनले कसैको विरोध गरेर होइन, आफैंबाट समाधानको शुरुवात गरेर जनतामा आस्था जगाउने प्रयास गरिरहेका छन् ।
उनको आलोचना गर्नेहरूको तर्क हो– ‘विकासको जिम्मा राज्यको हो, नागरिकले सस्तो लोकप्रियता खोज्दै संरचनाबाहिर काम गर्नु दीर्घकालीन समाधान होइन ।’ तर यस्ता तर्कहरू नेपाल जस्तो देशमा गहिरो संकट झेलिरहेका जनतालाई अवास्तविक लाग्छन् । किनभने जब राज्य आफैं दिशाहीन, योजनाविहीन र जवाफदेही विहीन हुन्छ, तब नागरिक नै नेतृत्व लिन्छन् । डा. महावीर पुन त्यही नागरिक नेतृत्वका सशक्त उदाहरण हुन्, जसले विज्ञान, प्रविधि र नवप्रवर्तनको आधारमा देश बनाउने सपना देखेका मात्र होइन, देखाएका पनि छन् ।
झापा आफैंमा एक सम्भावनाशील जिल्ला हो । कृषिमा उन्नत, नागरिक चेतनामा जागरुक र उद्यमशीलतामा सक्रिय झापा अहिले डा. पुनको अभियानसँग जोडिन खोजिरहेको छ । झापामा उनले ल्याउन खोजेको सन्देश प्रस्ट छ– ‘देश बनाउने काम जहाँबाट जे गरेर सकिन्छ, त्यहीँबाट शुरु गरौं ।’ यहाँका युवाहरू, कृषकहरू र स्थानीय बुद्धिजीवीहरूसँग संवाद गरेर उनी यस अभियानलाई केबल आर्थिक हैन, बौद्धिक र सामाजिक अभियानको रूपमा पनि स्थापित गर्न चाहन्छन् ।
‘देशका लागि केही गरौं’ केबल पुस्तक होइन, यो एउटा राष्ट्रिय भावनाको प्रतिविम्ब हो । यसको प्रत्येक अध्यायमा आशा, उत्तरदायित्व र समर्पणको स्वर मिसिएको छ । पुस्तक पढेपछि पाठक मात्र होइन, नागरिक बन्ने चाहना जाग्छ । त्यही चाहनाले नै देशको परिवर्तन सम्भव हुन्छ ।
आजको नेपालमा बहस, विश्लेषण र आलोचना धेरै छ । तर, यथार्थमा हात गनेर गनि नसक्ने थोरै पात्र मात्रै छन्, जसले आफूबाट शुरू गरेर देश बनाउन खोजेका छन् । डा. महावीर पुन ती मध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । नतिजाको डर बिना, आलोचनाको पर्वाह नगरी, आफ्नो बाटो आफैं बनाउँदै अघि बढिरहेका छन् । उनको अभियानलाई साथ दिनु, नेपालको वैकल्पिक विकास मोडेललाई साथ दिनु हो । झापा अहिले कार्यक्रम स्थल मात्र होइन, जनचेतनाको जागरण स्थल बन्न थालेको छ । यो अभियान केबल डा. पुनको अभियान होइन, हामी सबै सचेत नागरिकहरूको साझा उत्तरदायित्व हो ।
यदि हामी आजै ‘देशका लागि केही गरौं’ भन्ने सन्देश आत्मसात् गर्न सक्छौं भने भोलिको नेपाल हामीले चाहेको जस्तो बन्न सक्नेछ । तर, डा. साहेव विदेशमा पढेर आएका विदेशी दलाल हुन् भन्ने अभिव्यक्ति दिनेहरू कोही छन् भने कि त कडा औषधिको प्रभाव या मादकपदार्थका सेवनकर्ता हुन् जो मातिसकेपछि सबैलाई भुसुना देख्छन् !































