धनुषा।

वर्षाको कामना गर्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ ।
लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाएका हुन् । धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । तीन वर्ष पहिला पनि यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ ।
त्यही विश्वासले आइतबार बिहान विशेष पूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध अर्पण गरेको मन्दिरका पुजारी भरतदास वैष्णवले बताए ।
वर्षाको पुकार गर्दै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डललगायत चार सयभन्दा बढी किसानले दुध चढाएका छन् । पानी नपर्दा यसरी नै पुस्तौँदेखि यहाँ दुध चढाउने परम्परा रहेको उहाँले जानकारी दिए ।
साउन महिनाको दोस्रो साता बितिसक्दा समेत वर्षा नहुँदा धान रोप्न नपाएर चिन्तित बनेका यहाँका किसानले घरघरबाट लिएर आएको दुध प्रसिद्ध धनुष मन्दिरमा चढाएको स्थानीय युवा नागेन्द्र महराले बताए ।































