युद्धबहादुर बोहोरा,

पूर्वी नेपालको हरियालीले ढाकिएको, तर विकासका नाममा अझै उचाइ खोजिरहेको इलाम जिल्लाको फाकफोकथुम–६, शिकारी भञ्ज्याङ एकतप्पाको एउटा सानो गाउँ । त्यही गाउँको एउटा सामान्य परिवारमा जन्मिए, हुर्किए रुद्र परियार ।
ढिंडो र रोटिको भरमा पेट पाल्दै, गाईवस्तु चराउँदै, खेतबारी जोत्दै हुर्किएको एउटा बालक, जसको सपना भने पहाडजत्तिकै अग्लो थियो, गीत संगीतको संसारमा आफ्नो पहिचान बनाउने । पिता स्व. हिमबिर परियार र माता स्व. शुभ माया परियारका कान्छा सन्तान रुद्रलाई सानैदेखि रेडियोमा बज्ने धुनले आकर्षित गथ्र्यो । त्यो धुनको रहस्य पत्ता लगाउने कौतुहलताले उनीभित्र एक संगीतप्रेमी आत्मा जन्मियो ।
सिंहदेवी मावि, एकतप्पाबाट एसएलसी (वि.सं. २०५१) पास गरेपछि उनी काठमाडौं पस्न सफल भए। ललितकला क्याम्पस, भोटाहिटीमा आईए अध्ययन गर्दै गर्दा उनले जिन्दगीको अर्कै पाठ सिक्न थाले संघर्ष । सानैदेखि चित्र कला र आर्ट गर्न रमाउने उनी पढाइसँगै बागबजारमा आर्ट कला सिक्दै काम गर्न थाले । विभिन्न विद्यालयका भित्ता, कम्पनीका विज्ञापनले सटर, वाल रंग्याउन र लेखन गरेर जीविकोपार्जन गर्थे । पछि घरमा आएर केही वर्ष पनि आर्टको काम गरे । दुःख, निराशा र भोकले थिचे पनि उनले गीत–संगीतप्रतिको मोह गुमाएनन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले प्रशिक्षित संगीत शिक्षा लिन त पाएनन्, तर जीवन नै उनको गुरू बन्यो । उनले नौमती बाजा, सहनाइ, सारङी, बासुरी जस्ता वाद्ययन्त्रमा आफैलाई समर्पित गरे । आज उनी नौमती बाजा प्रशिक्षक, वाद्यवादन प्रशिक्षक, अनि सारंगी–बासुरी वादकका रूपमा स्थापित छन् । उनका स्वरमा भर्खरै रेकर्ड भइसकेका लोकगीतहरू ‘पूर्व रमाइलो’ र ‘यो मायाको संसार’ यी गीतहरूले गाउँघरको रेडियो, मोबाइल स्पीकर र मेलापातको वातावरणमा गुञ्जन थालेका छन् ।
गीतहरूमा उनको पूर्वेली स्वाद, सरलपन र मौलिकता भेटिन्छ । तर, भिडियो निर्माणको अभाव, प्रविधिमा पहुँचको कमी र आर्थिक सहयोगको अभावले उनी अझै राष्ट्रिय मञ्चमा उभिन पाएका छैनन्, यथार्थ त्यही हो उनको । उनका काल्पनिक गीत र कविता नभई नेपाली ग्रामीण कलाकारको रुँदै गाइरहेको आत्मकथा हो ।
उनकी जीवनसाथी चन्दा परियार, जसको साथ र समर्थनले उनलाई निरन्तर अगाडि बढ्ने प्रेरणा दिएको उनले बताए । दुई सन्तान एक छोरा र एक छोरीलाई दुःख गर्दै हुर्काउँदै गर्दा उनले आफ्नो संगीतको सपना त्यागेनन्, बरु त्यही सपना उनीहरूका लागि जिउँदो राखे ।
रुद्र परियार कुनै चर्चित र ठूलो पहिचान कमाएका कलाकार होइनन्, तर उनी नेपाली लोक संगीलाई मुटुदेखि माया गर्ने एक सरल र मिजासिलो कलाकार हुन् । कतिपयले उनलाई गाउँघरमै नचिने पनि हाल उनका गीत बजारमा आउन थाालेपछि को हुन् रुद्र परियार भनेर खोज्न भने थालेका छन् । उनको स्वर, संघर्ष र साधनाले प्रमाणित गर्न थालेको छ । लोकसंगीत सधैँ मञ्चको चमक होइन, माटोको सुगन्ध हो । र, रुद्र परियार त्यस सुगन्धको मौन तर चम्किलो नक्षत्र बन्दै गएका छन् । उनी भन्छन्– ‘संगीतमा उमेर हुँदैन । जति उमेर ढल्दै जान्छ, त्योभन्दा बढी गीत संगीतको भोको हुँदै जान्छ ।’
बेला मौका उनले गाउँघरमा बजाउने साराङ्गी र बाँसुरीको धुनमा स्रोता र दर्शकले घेर्ने गर्दछन् । यो प्रेरणले उनलाई थप उचाइमा पुग्न बल पुगेको उनको भनाइ छ । रुद्र परियार जस्ता ग्रामीण प्रतिभाको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता हो । उनीहरूमा हाम्रो लोक संस्कृतिको वास्तविक आत्मा लुकेको छ । राज्य, संस्थाहरू र सञ्चारमाध्यमले यस्ता आवाजलाई उजागर र संरक्षण गर्दै प्रोत्साहन दिन जरुरी देखिन्छ ।


























