कञ्चनपुर ।

सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउछिन् ।
पछिल्लो समय पुख्र्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समूदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन । “हाम्रो परम्परागत पेसा नदीमा सुन चालेर गुजारा गर्ने हो, नदीमा सुन नचालेको वर्षौँ भयो”, उनले भनिन्– “अहिले हिउँदको छ महिना महाकालीमा गिट्टी बालुवा चाल्छौँ, वर्षात्मा मजदुरी गरेर परिवारको जोहो गर्छौँ ।”
बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समूदायले पटकपटक जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको मेघादेवी सुनाहा बताउछिन् । उनले निर्वाचनका समयमा मत माग्न आउने उम्मेदवारले जातीय पहिचान दिलाउने प्रतिवद्धता गरेपनि हालसम्म पुरा नगरेको गुनासो गरिन् ।
कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।































