बिराटनगर,

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका १६ जनाको नाम सार्वजनिक गरेको छ । ५२ वर्षीया उर्मिला हायुसहित एकै परिवारका १६ जनाको नाम प्रहरीले सोमबार अपरान्ह सार्वजनिक गरेको हो ।
सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बेपत्ता हुने हायु परिवारका एकै परिवारका १६ जना तीन दिनअघि रामेछापसम्म पुगेको मोबाइल लोकेशनमा देखिएको छ । बिहीबारदेखि बेपत्ता भएका उनीहरुको लोकेशन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको थियो । बेपत्ता भएका सदस्यहरुमा वर्ष ५२ की उर्मिला हायु (आमा), वर्ष २७ की कमला हायु (छोरी), वर्ष २३ की कोमल माया हायु (बुहारी),वर्ष २२ की उषा हायु (छोरी), वर्ष १८ की अस्मिता हायु (छोरी) रहेका छन्।
यसैगरी,वर्ष १२ की सान्ता हायु (छोरी),वर्ष २९ का राजु हायु (छोरा), वर्ष २४ का हिमाल हायु (छोरा), वर्ष १६ का लाल बहादुर हायु (छोरा), वर्ष १४ का बेग बहादुर हायु (छोरा), वर्ष ११ का लक्की हायु (छोरा), वर्ष १२ का सुवर्ण हायु (छोरा), वर्ष १० की ओम कुमारी हायु (छोरी), वर्ष १ को अर्जुन हायु (नाती) र वर्ष ४ की रियासा हायु (नातिनी) रहेको एसपी सुवेदीले बताए।
सरकारले हायुलाई लोपोन्मुख जातिमा सूचीकृत गरेको छ। उर्मिला हायुको परिवारले साउन ६ मा मात्रै उक्त सामाजिक सुरक्षा भत्ता खुर्कोटस्थित हिमालयन बैंकबाट झिकेका थिए । उनीहरूले साउन ६ गते खुर्कोट पुगेर तीन महिनाको जनही १२ हजारका दरले भत्ता बुझेको खुलेको छ । उनीहरू १६ जनाले नै जनही १२ हजारका दरले जम्ममा १ लाख ९२ हजार रुपैयाँ भत्ता साउन ६ मा बैंकबाट बुझेको देखिएको छ।
गोलन्जोर गाउँपालिका-६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरूले साउन ९ गते वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका थिए। परिवारका सदस्यहरु सबै हराएको खबरपछि वडाअध्यक्ष रविन श्रेष्ठसहितका जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु र इलाका प्रहरी कार्यालय खुर्कोटबाट इन्स्पेक्टरको नेतृत्वको टोली उक्त स्थानमा पुगेर बेपत्ता बारे जानकारी लिएका थिए।
लोकेशन रामेछापमा देखिएपछि अहिले जिल्ला प्रहरी कार्यालय रामेछापले पनि खोजीकार्य तीव्र पारेको जनाएको छ। उनीहरुले घरमा भएको बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडेको देखिन्छ। उनीहरुलाई यदि कसैले देखेमा वा फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदन पनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सबैमा अनुरोध गरेको छ।































