देश दुःखी रहेछ

0
936

गोपाल गौतम
भाग्य भनौं या नियति मेरो शिक्षण पेशा । सामाजिक विषयको शिक्षक मँ । हरेक दिनको गुड मर्निङसँगै शुरु भएको मेरो दैनिक गुड वाईसँगै अन्त्य हुन्छ । कहिल्यै यस्तो होला भनेर सोचेकै थिइँन । सदा झैं कक्षा कोठामा प्रवेश गरें । निकै जान्ने र उत्सुक एउटा विद्यार्थी अगाडिको बेन्चको एकापट्टिको कुनामा अलि निन्याउरो अनुहारमा बसिरहेको थियो । के भो ? किन निन्याउरो ? मेरो प्रश्न सिध्याउन नपाउँदै प्याट्टै जवाफ आयो– ‘सर नट फिलिङ वेल’, फेरि सोधें के भो त ? ‘सर हेडेक्’ जवाफ दियो उसले । फिस्स हाँसे झैं गरेर बोलेँ– यहाँ देश दुखेको छ, तिम्रो टाउको दुख्नु स्वभाविक हो । ल ! किताबमा ध्यान देऊ । फ्याट्टै जवाफ आयो, सर ! त्यही देश दुःखेर त हो नि, मेरो पनि टाउको दुख्या …… । आज ऊ अली–अली अल्टर कुरा गर्दै थियो । सर ! अनेकतामा एकता, नेपाल र नेपालीको विशेषता तपाइँले पढाउनु भा हैन ? सुस्तरी बोलें हो .. बिलकूल । हेर न यतिका धेरै जातजाति, भाषा, धर्म, हामीसँगै कति मजाले मिलेर बसेका छौं ।
हामी नेपाली, हाम्रो देश नेपाल भनेर, मेरो कुरा सक्न नपाउँदै पट्ट पड्क्यो ऊ । तपाइँ हामीलाई ढाँट्नुहुन्छ, भर्खरै कैलालीको टीकापुरमा त्यत्रो घटना घट्यो । त्यतिका प्रहरी र सर्वसाधारण मारिए, जातै पिच्छे छुट्टै देश, ठाउँ, क्षेत्र चाहियो भनेर होइन ? त्यो पनि जिउँदै जलाएर, भाला रोपेर अनि कुटी–कुटी । यो कुन सभ्यता र संस्कृति हो सर ? जिज्ञासु प्रश्नसँगै फेरि थप्यो– यत्तिको क्रुरता र अमानवीयता त विश्व विख्यात आतंककारी संगठन आइएस, बोकोहराम अथवा तालिवानहरुले पनि गरेका छैनन् होला ! खोई त अनेकतामा एकता ? अखण्डता, शान्ति र सद्भाव …… ? उसको प्रश्न माथिको प्रश्नसँगै कक्षा एकछिनका लागि अवाक् र शान्त भयो । मानौं सन्नाटा चिच्याइरहेको छ । विस्तारै शिक्षक हुनुको नाताले अलि सुस्केरा हाल्दै बोलें– अपवादको रुपमा लिनुपर्छ यसलाई । देश संक्रमणकालीन अवस्थामा छ । यो त एउटा सिंगै युगमा हुने घटना हो बाबु । यसलाई खराब सपना सम्झेर भुल्नुपर्छ, थोरै दर्शन र विद्वता छाँटे । उसले निधार खुम्च्यायो । मुन्टो हल्लाएझैं ग¥यो, मानौं केही कुरा बुझ्यो, केही प्रतिवाद गरुँ झैं पनि ग¥यो । फेरि चुप रह्यो ।
तत्कालै पल्लो पट्टिको बीचको बेन्चमा बस्ने अस्मिताले प्रतिवाद गरिहाली । यहाँ त रातदिन देशको अस्मिता लुटिएको छ सर, तपाइँ भने यसलाई अपवाद ठान्नुहुन्छ ? झुट….. ! तपाइँ झुट ….. ! एकदमै झुट …. ! पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा कैयौं मानिसके ज्यान गुमेको थियो । कैयौं को त नाक–कानै काटेका थिए रे । तपाइँले भन्नुभएको होइन ? अनि जंगबहादुर पनि कोतपर्व र भण्डारखाल पर्व घटाएर रक्तपात मच्चाएर प्रधानमन्त्री बनेको कुरा तपाइँले नै भन्नुभएको होइन र ? अनि १९९७मा शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाललाई क्रुरतापूर्वक हत्या गरिएको कुरा पनि भन्नु भा होइन ? अनि झापा विद्रोह, सुखानीकाण्ड, छिन्ताङकाण्ड हुँदै आजसम्म आई पुग्दा कति रक्तपात मच्चियो ? चाहे शासकवर्गले गरोस् या अरु कसैले ? फेरि पनि सुन्दर शान्त विशाल ? प्रश्नमाथि प्रश्न तेस्र्याउँदै गइ र बोली ‘अहँ नेपाल सुन्दर, शान्त, विशाल होइन ? ‘कुरुप, अशान्त नेपाल हो, कुरुप अशान्त नेपाल ….. !! ऊ मज्जैसँगले आक्रोश पोख्दै थिइ । एक्कासी ! कक्षा कोठामा कोलाहल जस्तो भयो । म भने अवाक् र किंकर्तव्यविमुढ भएँ । ‘त्यति मात्र कहाँ हो र ?’ पल्लापट्टिको बीचमा बस्ने देशराज बोल्यो– ०५२ सालमा माओवादी द्वन्द्वसँगै दशौं हजारले ज्यान गुमाएको, रगतको खोला बगेको चैं के हो सर ? हिंसा होइन ? खै शान्ति ? बुद्ध जन्मेको देश, शान्तिप्रिय देश … तपाइँले हामीलाई यही पढाउनु भा होइन ? … कति ढाँट्नु हुन्छ सर कति … ?
उसको प्रश्नलाई थेग्न त सायद सक्थँे होला … तर अहँ कुनै प्रतिवाद गरिनँ । टाउको फूट्ला झैं भएर आयो । बोतलको पानी घुटघुट पिएँ । अन्तिमको कुनामा बस्ने शान्ति भन्दै थिई– छोराको हत्यारालाई पक्राउ गर भनी आमरण अनशन बस्दाबस्दै गोरखाका नन्दप्रसाद अधिकारीलाई मारिएको छ । दरबार हत्याकाण्डबाट पूरै राजपरिवार सखाप पारिएको छ, बोक्सीको आरोपमा जिउँदै जलाइएको छ, ‘… यस्तै अरु के–के भन्दै थिई ….. । विस्तारै केही दिनछिन हातले इशारा गरेर शान्त रहन के आग्रह गरेको थिएँ, तल्लोपट्टिको कुनामा बस्ने देशभक्त भन्न थाल्यो ‘सर यहाँ खाली हत्या र हिंसाको मात्रै खेती भयो, देश प्रेम हुनुपर्छ, देशले के दियो होइन, देशलाई के दिनुपर्छ भनेर सोच्नुपर्छ – तपाइँले भन्नुभएको त्यो आदर्शमा पनि खोट छ । त्यो पनि झुटो हो सर…. हो सर हो … को स्वरले कक्षाकोठा फेरि गुञ्जायमान भयो । तेस्रो बेञ्चमा बस्ने पातली कविता पनि भन्न थाली ‘सर ! बालकृष्ण सम पनि झुटा रैछन् । उनीद्वारा रचित कवितामा पनि सत्यता छैन सर । किन ? उत्सुकताका साथ सोधें के कुरा ? उसले भनी त्यही क्या… ‘देशभक्ति त मर्दैन, चुत्थै देश भएपनि….’ के सर फेरि पनि प्रहरी प्रशासनले उच्च मनोबलका साथ संयमित भएर कार्य गर्ला त ?’ उसको प्रश्न नसकिँदै मेरो मुखबाट फुत्त आवाज निस्कियो ‘चुप लाग ! मान्छे भने साना–साना बडो राजनीतिक गफ गर्नुपर्ने’ उनीहरुको आक्रोशित र उत्सुक भावनालाई शिक्षक हुनुको दम्भमा दबाउन खोजें ।
आज कक्षा अति नै अशान्त र बढी आक्रोशित थियो । एकछिन् त उनीहरु डरैले चुपचाप रहे । मेरो आदेशसँगै तर विस्तारै उम्लिसकेको उत्कसुता र जिज्ञासा अनि आक्रोश नपोखिइकन कहाँ सेलाउँथ्यो र ? सर ! धर्म निरपेक्षता राम्रो कुरा हो भनेर भन्नु भाथ्यो ? यो पनि गलत रै छ है ? प्रश्न र जिज्ञासु प्रश्न तेस्र्यायो बीचको बेञ्चमा बस्ने विवेक नेपालले । यस्तै धेरै खाले प्रश्नहरु गर्दै रहे । चिटचिट पसिना आए झैं भयो मलाई । चुप–चाप उनीहरुको आक्रोश केही छिनका लागि पोखिन दिएँ र अशान्ति पछिको शान्तिमा विस्तारै बोलें…. ‘नेपाल एउटा सानो, गरिबीले सताएको, भू–परिवेष्ठित मुलुक हो । यहाँ प्रत्यक्ष–परोक्ष रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट विभिन्न प्रभावहरु परिरहन्छन् । सैद्धान्तिक रुपमा धर्म निरपेक्षता आफैंमा गलत नभएपनि यिनै देशी–विदेशी चलखेल र प्रभावले व्यवहारिक कठिनाईहरु उत्पन्न गर्न सक्छ भन्ने हो । फेरि भनिन्छ– नेपालको राजनीतिक रिमोट कन्ट्रोल त अर्कै देशमा छ रे !! मेरो यो अलि घुमाउरो र अपरिक्व जवाफ, भूइँमा नखस्दै विवेकले भन्यो– … झुट.. तपाइँ फेरि पनि झुट बोल्दै हुनुहुन्छ । यदि त्यसो हो भने नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो भनेर चैं किन भन्नु भएको त ? अर्को प्रश्न ग¥यो उसले । अनि नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहीत छ, भनेर चैं किन भन्या त, हामीलाई त्यो राज्यका तत्वहरु पढाउने क्रममा ? … हो …. हो …. किन भन्या त ? … किन भन्या त ? …. विद्यार्थीको आवाज संगठित भयो– म फेरि अवाक् बन्न पुगें । भित्तामा टाँगिएको चार्टपेपर तर्फ इंगित गर्दै भन्यो– ‘सर ऊ त्यहाँ हेर्नुस् त, तपाइँले नै लेखेको होइन ?
मलाई भन, म विर्सन्छु
मलाई सहभागी गराऊ, म सिक्छु !!
शान्त हुँदै बोल्यो विवेक – सर तपाइँले हामीलाई आदर्शको खोल ओढाएर यथार्थको दुनियाँसँग जुघ्न नै सिकाउनु भएन । आज म हामीहरुले तपाइँले भनेको नेपाल सुन्दर, शान्त, विशाल, वीरहरुको देश, शान्तिप्रिय देश, बुद्धको देश, अखण्ड देश, सार्वभौमसत्ता सम्पन्न देश सबैमा कता–कता यथार्थ लुकेको जस्तो लाग्छ । अनि हत्या–हिंसा, आतंक, बर्बरता, अशान्त चैं कताकता मेरो देशको असली रंग हो कि जस्तो लाग्छ । किनकि हामी यसकै मलामी हौं, साक्षी छौं, सहभागी छौं । त्यसैले सर तपाईले शान्तिप्रिय नेपाल पढाउनुभयो… हामीले अशान्त नेपाल सिक्यौं, तपाइँले बन्धुत्व र भाइचारा, अखण्डता अनि धार्मिक सहिष्णुताको नेपाल पढाउनु भयो, हामीले आतंक र विखण्डनको नेपाल सिक्यौं, जे पढाउनु भो त्यो सिकेनौं, जे पढाउनु भएन त्यही सिक्यौं … माफ गर्नु ल…. !
सबैको आवाज बुलन्द भयो…. ! (घण्टी लागी सकेको थियो) रोक्न खोजें, केही बोल्न खोजें, गला अवरुद्ध भयो । पल्लो कक्षामा पढाउने शिक्षक, अनि अफिसमा बसेर सीसीटीभीबाट मेरो कक्षा गतिविधि हेरिरहेका प्रिन्सिपल पनि मेरो कोठामा आइपुगे । विद्यार्थीहरु आक्रोश पोखरे बसिरहेका थिए । मलाई थोरै कताकता लाज, डर, पीडा, ग्लानी सबै एकै चोटीबोध भयो । अनुहार सोहोरिएर आए झैं भयो । फेरि एकै दिनमा देश हाँक्छु भन्ने ती ठूला दलका ठूला नेता भनाउँदाहरुको अनुहार झल्झली आँखामा झल्किरह्यो । रिसको पारो चढ्यो, कन्सिरी तातिए झैं भयो । शिर ठाडो पारेर कसैलाई बास्तै नगरी त्यहाँबाट फटाफट अघि बढेँ !!!
शिक्षक सिग्मा इङ्लिस स्कूल, हल्दिवारी–४, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here