झापा ।

कोशी प्रदेश सरकारले एकैपटक ‘पर्यटन वर्ष २०८२’ र ‘लगानी सम्मेलन’मार्फत आर्थिक विकास र उद्यमशीलतालाई बढाउने योजना अगाडि सा¥यो । प्रदेश लगानी प्राधिकरणमार्फत सम्झौता भएका केही योजनाहरू शुरु भएका छन् । थप आयोजनाको लागि लगानीकर्ताहरू आन्तरिक तयारीमा छन् ।
कोशी प्रदेशको पर्यटन वर्ष २०८२ भने उद्घाटन हुनु अगाडिदेखि नै विवादित बन्यो । पर्यटन वर्षलाई भव्य बनाउने तयारीमा लागेको सरकार शुरुवातदेखि नै आलोचित बनेको हो । उद्घाटनको क्रममा तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले सरकारको योजना र कार्यक्रममाथि प्रश्न उठाएका थिए ।
२०८१ चैत २७ गते तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रबाट पर्यटन वर्ष २०८२ को उद्घाटन भयो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको कार्यक्रममा पर्यटन व्यवसायीभन्दा पनि सरकारी कर्मचारीको भिडभाड भयो । स्थानीयले अपनत्व महशुस नगरेको भन्दै तयारीलाई लिएर सरकारको बिरोध भयो । कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मन्त्री, मन्त्रीका स्वकीय, पर्यटन मन्त्रालयका कर्मचारी, पर्यटन क्षेत्रका सरोकारवाला र पत्रकार बसन्तपुर पुगेका थिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल आयोजक समिति र पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल निर्देशक रहने गरी पर्यटन वर्ष–२०८२ निर्देशक समिति बनाइएको छ । समितिको सहसंयोजकमा व्यवसायीको तर्फबाट भविश श्रेष्ठ र कृष्ण शाह नियुक्त भएका छन् । पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिवको रूपमा रहने गरी निर्देशिका बनेको छ । सचिव विशाल घिमिरेकै अध्यक्षतामा व्यवस्थापन समिति र पर्यटन वर्ष २०८२को सचिवालय समेत सञ्चालनमा छ । तथापि हालसम्म निर्देशक समितिको बैठक बस्न सकेको छैन ।
अध्यक्ष, निर्देशक र सदस्यसचिवले आफ्नो हिसाबले कार्यक्रम बाँडफाँट गर्ने गरेका छन् । जसले गर्दा पर्यटन वर्षको मूल उद्देश्यअनुसारको उपलब्धि हुन नसकेको समितिका पदाधिकारीहरू बताउँछन् । पर्यटन वर्षका कार्यक्रम पर्यटन कार्यालय धरान, पर्यटन कार्यालय काँकरभिट्टा, पर्यटन विकास आयोजना विराटनगर, पर्यटन मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालन हुने गरेको छ ।
पर्यटन वर्षको लागि छुट्याइएको ९ करोड २२ लाख ५० हजारमध्ये पर्यटन विकास आयोजनालाई ४ करोड ४६ लाख ९० हजार रूपैयाँ, काँकरभिट्टालाई २ करोड ४८ लाख, धरानलाई १ करोड ६५ लाख र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ६२ लाख रूपैयाँ छुट्याइएको छ ।
खर्चमा छैन मितव्ययिता
पर्यटन वर्ष घोषणा भएकै समयमा पर्यटन बोर्ड, प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको संयुक्त कार्यक्रम भयो ‘इस्टर्न टुरिजम मार्ट’ । इटहरीको सोल्टी वेस्टेण्डमा आयोजित उद्घाटन समारोहमा मार्टको व्यवस्थापन र गतिविधि भद्दा र भद्रगोल भएको भन्दै आलोचना भयो । जसमा पर्यटन वर्षकै लागि भनेर प्रदेश सरकारले ४ लाख ९९ हजार खर्च गरेको थियो ।
त्यससँगै अन्तर्राष्ट्रिय थिएटर कन्फ्रेन्समा ५ लाख खर्च भइसकेको छ । हतारमा आयोजना भएको कन्फ्रेन्सले स्थानीय कलाकारलाई समेत समेट्न नसकेको भन्दै आलोचना भयो । धनकुटा र उदयपुरमा आयोजित पर्यटन महोत्सवमा पर्यटन वर्षको लागि छुट्याइएको ५ लाख खर्च भएको छ । पर्यटकीय गन्तव्यको सौन्दर्यीकरणमा ९ लाख बजेट खर्च भयो तर प्रभावकारी काम नभएको स्थानीय पर्यटन व्यवसायीहरू गुनासो गर्छन् ।
मुख्यमन्त्री नेतृत्वको मूल आयोजक समितिको बैठक तथा अन्तरक्रियामा १४ लाख ३० हजार खर्च भइसकेको छ । त्यसबाहेक उद्घाटन र पूर्वतयारीमा २९ लाख ७४ हजार खर्च भएको पर्यटन मन्त्रालयले जनाएको छ । पोस्टर, ब्रोसर, फोटोबुक प्रकाशित गरेर ८ लाख ६० हजार सकियो । टेलिभिजनमा प्रचारमा मात्रै १७ लाख खर्च भएको हो । रेडियो, पत्रिकालगायत अन्य प्रचारमा छुट्टै १३ लाख बढी भुक्तानी भएको छ । अन्तरप्रदेश स्तरीय पर्यटन प्रचारमा २ लाख र मिडिया इन्फ्लोएन्सरलाई एक लाख ३७ हजार रूपैयाँ मन्त्रालयले दिएको हो ।
त्यसबाहेक पर्यटन कार्यालय काँकरभिट्टाले छुट्टै इन्फ्लोएन्सर परिचालन गरेर २ लाख ९६ हजार दियो । केचनादेखि लोबुचेसम्म पत्रकार घुमाउँदा ४ लाख ४० हजार खर्च भएको कार्यालयले जनाएको छ । भ्लगरको संस्था परिचालन गरी सृजना सिज्जूलाई २ लाख दिइयो । यस्ता पर्यटन वर्षको गतिविधिको प्रचारप्रसारको लागि विभिन्न शीर्षकमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
त्यसबाहेक डकुमेन्ट्री बनाउने, फोटो प्रदर्शनी, महोत्सव, पुस्तक प्रकाशन, पत्रपत्रिका, सीमानामा पर्यटकीय प्रचार, बोर्ड तथा क्यालेन्डर प्रकाशनलगायत गतिविधिमा काँकरभिट्टा कार्यालयले एक करोड ३३ लाख ७६ हजार खर्च गरेको छ । अन्य नियमित कार्यक्रममा ८१ लाख भुक्तानी भइसकेको छ । अन्तरक्रिया र संवादमा पनि सोही अनुपातमा खर्च भएको छ । मन्त्रालयले पर्यटकीय गतिविधि बढाउने कार्यक्रममा एक करोड १ लाख खर्च गरेको छ ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि कर्मचारी, दैनिक कामकारबाही, मेसिनरी औजार खरिद, सवारी, डिजेल पेट्रोल, अतिथि सत्कारमा मन्त्रालयले एक करोड ३० लाख ५२ हजार रूपैयाँ खर्च गरेको हो । धरानस्थित कार्यालयले पनि ८९ लाख ८८ हजार रूपैयाँ खर्च गरिसकेको छ । खर्चका शीर्षकहरू पत्रपत्रिका, भ्लगर, यातायात स्टिकर, क्षमता विकास, महोत्सवलगायत छन् । हात्तीमैत्री पर्यापर्यटन कार्यक्रममा २७ लाख ७० हजार खर्च भएको हो । पूर्वमुख्यमन्त्री केदार कार्की र वन तथा वातावरणमन्त्री गणेश उप्रेतीसहितको टोलीले हात्ती हिँड्ने बाटोमा पैदलयात्रा गरेका थिए । जसमा भएको खर्चलाई हात्तीमैत्री पर्यापर्यटनको रूपमा राखिएको हो ।
मन्त्री र सचिव नै विवादित
पर्यटन वर्ष २०८२का निर्देशकसमेत रहेका मन्त्री मण्डल विवादमा तानिएका छन् । कर्मचारी सरुवादेखि पर्यटनका कार्यक्रम गर्न समेत कमिसन मागेपछि उनी विवादमा आएका हुन् । ओखलढुंगाका डिभिजन वन कार्यालयका निमित्त प्रमुख रितेष भूषण बस्नेतसँग पैसा मागेको आरोप उनीमाथि छ । डिभिजन वन कार्यालयका प्रमुखहरूलाई ‘क्यूआर कोड’ नै पठाएर घुमाउरो भाषामा रकम माग्ने गरेको सांसदहरू नै बताउँछन् । उनका स्वकीयले क्यूआर कोड पठाएर पैसा माग्ने गरेका छन् ।
सचिव घिमिरेले पनि खाली बिल मागेर भुक्तानी दिने गरेको पर्यटन व्यवसायीले बताएका छन् । घिमिरेले पर्यटन वर्ष समुद्घाटनदेखि अन्य कार्यक्रमको भुक्तानीमा कमिसन मागेको आरोप लागेको छ । पर्यटन वर्ष २०८२ का सहनिर्देशक भविश श्रेष्ठ र कृष्ण शाह कार्यक्रममा सहभागी भए पनि त्यसको अन्तर्यको विषयमा जानकारी नभएको बताउँछन् । खर्चको बारेमा सम्बन्धित कार्यालय र सचिवलाई नै थाहा हुने उनीहरूको भनाइ छ ।































