कोदो खेतीमा  किसानको आकर्षण बढेन

0
67
भोजपुर, 
बहुउपयोगी अन्न कोदो खेतीमा यहाँका किसानको आकर्षण घट्दै गएको छ । कोदोबाट राम्रो आम्दानी नहुने भएपछि पछिल्लो समय किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो ।
नेपालको चौथो मुख्य बालीको रूपमा रहेको कोदो यहाँका अधिकांश ठाउँमा फल्ने भएपनि कमै किसानको रोजाइँमा पर्ने गरेको छ । यहाँका किसानले आफूले खानको लागि सामान्य रूपमा खेती गरेपनि व्यावसायिक रूपमा कोदो खेती गरेको पाइँदैन ।
कोदो खेतीबाट जीवनपायन गर्न सक्ने अवस्था नरहेको रामप्रसादराई ६ का किसान राजेन्द्र राईले बताउनुभयो । गाउँघरमा घरयासी प्रयोजनका लागि मात्र कोदो खेती हुने गरेको उहाँको भनाइ छ ।
“गाउँ घरमा व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन छैन” उहाँले भन्नुभयो, “घरयासी प्रयोजनको लागि मात्र खेती गर्ने चलन बढ्दै गएको छ । आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो हुने हुँदा व्यावसायिक रूपमा खेती गर्ने अवस्था छैन ।”
कोदोबाट उल्लेख्य आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकोले किसानले खेतीमा कमि गर्दै आएको भोजपुरको टेम्केमैयुङ–७ कोटका स्थानीय कृषक धनबहादुर प्रधानले बताउनुभयो । विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेको भएपनि पछिल्लो समय यस खेती छाड्दै गएको किसान प्रधानको भनाइ छ ।
“पछिल्लो समय हाम्रो क्षेत्रमा कोदो खेती गर्ने चलन हट्दै गएको छ,” उहाँले भन्नुभयो,“कोदो खेतीमा कमैको मात्र रुचि देखिन्छ । कोदो खाने चलन गाउँघरमा घट्दै गएको छ । विगतका दिनमा जस्तो उत्पादन पनि हुन्न ।”
कोदो स्थानीय बजारमा प्रतिपाथी रु १५० देखी १६० सम्ममा बिक्री हुने प्रधानको भनाइ छ । मानिसले ढिंडो, रोटी बनाएर खानेभन्दा पनि जाँड, रक्सी बनाउन मात्र बढी प्रयोग हुने गरेको छ । दसैँ, तिहार, किरात राईहरुको उधौली, उभौलीलगायत चाडमा बढी कोदोको माग हुने प्रधानले बताउनुभयो ।
“कोदो परिकार बनाएर खाने चलन कम छ” प्रधानले भन्नुभयो, “कहिले काही मानिसले ढिडो बनाएर खान्छन् । खास गरेर जाँड, रक्सी बनाउनको लागि नै कोदोको बढी खोजी हुन्छ । चाडवाडको समय बाहेक अरु समयमा खासै कोदोको खोजी हुदैन ।”
पछिल्लो समय गाउँघरमा कोदो खेती गर्ने चलन कम हुँदै भएको टेम्केमैयुङ–६ कोटका अध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । आफ्नो वडाका धेरै मानिसले कोदो खेती गर्न छाड्दै गएको वडाध्यक्ष नेपालको भनाइ छ । किसानमा परम्परागत रूपमा हुँदै आएको कोदोलगायत बालीको विकल्पमा अन्यबाली लगाउने चलन बढेको उहाँको भनाइ छ ।
“किसानले वैकल्पिक बालीको खेती थालेकाले कोदोप्रति कम रुचि देखिन्छ” वडाध्यक्ष नेपालले भन्नुभयो, “दश, बाह्र वर्ष अघिसम्म प्रशस्त कोदो उत्पादन हुन्थ्यो । त्यसको खपत यही नै हुने गरेको थियो । तर अहिले यो अवस्था छैन । सामान्य रूपमा खेती गरेपनि धेरै मानिसले कोदो रोप्न छाडेको अवस्था छ ।”
कोदोलाई ढिंडो, रोटी, सातु, लिटो, खोलेलगायत परिकार बनाएर खान सकिने स्थानीय किसानको भनाइ छ । कोदोको खोलेलाई चिसोको कारण हुने रोगको औषधिको रूपमा लिन सकिन्छ । चिसोले सताए कोदोको खोले खाएमा ठिक हुने किसान बताउँछन् ।
जिल्लामा करिव छ हजार हेक्टर कोदोबालीको लागि खेतीयोग्य जमिन रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किसानले पछिल्लो समयमा कोदो खेतीलाई घटाउदै लगेको कार्यालयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here