
नेपाली काव्य फाँटमा एउटा नयाँ फूल फक्रिएको छ । त्यो फूल हो कवि ‘देशु वनेम’को ‘सम्बोधन नेप्टीलाई’ खण्डकाव्य ।
कवि वनेमका यस कृतिभित्रका सिर्जनाहरुका गहनताबारे प्राज्ञ मुनाराज शेर्माका शब्दहरुः ‘उपन्यास, कविता संग्रह, खण्डकाव्य प्रकाशित गरिसकेका कवि देशु वनेम पूर्व शिक्षक समेत हुन् । विशेषतः जनताको दुर्घटित समस्याको कारणको फेरोलाई समाएर काव्य सिर्जना गर्ने देशु जनताका कवि हुन् । सामाजिक सञ्जालमा लगातार कविता प्रकाशन गर्ने देशु एक निरन्तर ऊर्जाशील सामथ्र्यले भरिपूर्ण कविका रुपमा साधनारत कवि हुन् ।’
साहित्यकार चित्रा पौड्यालको विचार (फेसबुक सञ्जाल) अनुसार– ‘आदिम कालदेखि नै मानवले अविकसित चेतना, स्वार्थ र बाँच्ने जिजिविषाले गर्दा मान्छेसँग मात्र होइन हरेक जीव, जन्तु, जंगल लगायत समग्र प्रकृतिसँग युद्ध छेड्दै आएको छ । यस कृतिमा पनि मूलरुपमा आदिवासी लिम्बू जातिको अस्मितासँग जोडिएका विषयहरु, स्वामित्व लुटिएका गहन भावनाहरु र भाषा र संस्कृति माथि हस्तक्षेपका क्रियाकलापबाट कवि हृदय विह्वल बनेको छ । गहन पीडाबाट सृजित भावहरु विद्रोही बनेर आएका छन् । राष्ट्रप्रतिको गहिरो प्रेम छ । अतृप्त प्रेमको गुनासो पनि छ । विविध विपरित द्वन्द्वहरुले गर्दा कवि मन उग्र छ । सैद्धान्तिक मान्यताभन्दा पनि यो कृति स्वतन्त्र ढंगले लेख्नुभएको छ । जीवनको कुनै एउटा मार्मिक घटनाविन्दुमा लेखिएको यो कृति नेपाली मनको आवाज हो ।’ कृतिभित्रका काव्यहरुका भाव र मिठासबारे कुनै कविताको केही हरफबाट जान्न सकिन्छ ः
म सिनो हुँ मलाई गिद्धहरुले लुछिरहेछन्
स्याल र ब्वाँसाहरुले कोपरिरहेका छन्
म पलपल कुहिँदै, सडिँदै गइरहेको छु
आखिर म मृत सिनो न हुँ
मलाई दुख्दैन मलाई गन्हाउँदैन
रगतको आँशु पिएर भन्दैछु
म हरेक पल बलात्कृत भएर
बाँचिरहेको छु ।
प्रतिकात्मक तथा बिम्वात्मक काव्यमार्फत कवि वनेम इतिहासदेखि वर्तमानसम्मै राज्यले कसैलाई पक्षपात गरिरहेको भाव पोख्दछन् । हाम्रो देश, समाज, विविध जातजाति, धर्म र सम्प्रदाय, जातीय विभेद, छुवाछुत, सम्पन्न र विपन्नबीचका द्वन्द्व, पूरातन सोच र नवीन सोचबीचको संघर्ष, पुरुषतन्त्र र नारी हक–अधिकार आदिको संघर्षबारे राम्रो जानकारी राख्नुहुने, राजनीतिक सचेतता र दार्शनिक ज्ञान भएका स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका कवि वनेमले शैक्षिकका साथै साहित्यिक योगदान पनि गरेका छन् ।
यो भन्दा ठूलो धोका के हुन सक्छ ? शीर्षकको कवितामा, संखुवा र सभा खोलाको दोभानमा ऐतिहासिक पात्र काङ्सोरेलाई तत्कालीन सत्ताले झुक्याएर मारियो लगायतका प्रसंग व्यक्त गरिएका छन् । भूतकालदेखि वर्तमानसम्मका सत्ताले खासगरी आदिबासी समुदायलाई ठूलो धोका दिएका छन् भन्ने कविताको मात्र होइन पुरै कृतिकै भाव महसुस हुन्छ । यस कृति ठूलो प्रश्न पनि हो सत्तालाई ।
साहित्यकार पुण्य बरालको शब्दमा यस कृतिको विशेषताः कवि देशु वनेमको खण्डकाव्य सम्बोधन नेप्टीलाई पढिरहँदा लाग्छ, यो लेख्नु भन्दा बढी कुँदिएको खण्डकाव्य हो । विसङ्गतिवादी जीवन दृष्टि, विषयवस्तु, शिल्प, शैली आदिको दृष्टिले यो कृति विसङ्गतिवादी साहित्यको उत्कृष्ट नमूना हो । विभिन्न शीर्षकमा शीर्षकृत खण्डकाव्य सम्बोधन नेप्टीलाईमा भावानुकूल बिम्व र प्रतीकको प्रयोग, अत्यानुप्रासयुक्त गद्यलय, विश्रृङ्खलित शैली, परम्पराभन्दा भिन्न भाषिक प्रयोग, निर्वैयक्तिक अनुभूति आदि विशेषताहरु पाइन्छन् ।
कवि वनेम कुनै कवितामा अज्ञात मान्छेहरुले रातको फाइदा उठाउँदै तिम्रा बाजे र बोजूको चिहानको ढुंगा उखेलेर नयाँ ढुंगा गाडेका छन् रे भन्छन्– कुनै कवितामा भन्छन् धिक्कार छ सत्ता शासनलाई करोड पटक थुक्छु थुक्क–थुक्क–थुक्क, कुनै कवितामा मैले पसिना दिएँ पानी नपाई म मरेँ, मैले रगत दिएँ रछ्यान जाबो नपाई म ढलेँ सतीले सरापेको यो देशमा भन्छन्– कुनैमा हो नेप्टी तिमी हामी भुरा हुँदै बदलसिङे बाजेले डबकाभरिको जाँड सिनित्तै पारेर पातलो जुँगामा अल्झिएको छोक्रा पुछ्दै भनेको किस्सा भुल्यौ कि क्या हो ? भनि सोध्छन्, कुनैमा नेप्टी ! लासहरुको शहरमा मलामी खोज्दै म त बुढो भै सकेछु फूलहरुको सपनामा फक्रने मौसम कुर्दाकुर्दै म त बुढो भै सकेछु भन्छन्, कुनैमा नेप्टी ! तिम्रो पोयाङ मैनाम राखेर तिम्रा माइतिले माङ्गेना गरिदिएको हिजो जस्तो लाग्छ औँसी मेलामा भाका राखेर भेट भा पनि हिजै जस्तो लाग्छ भन्छन् अनि भन्छन् धेरै कवितामा धेरै कुराहरु ।
वनेमका थुप्रै कविताहरुमा मातृ भाषा तथा लवजहरु र स्थानीयताको सुन्दर संयोजन र मिठासहरु पनि पाइन्छन् । खण्डकाव्यभित्रका केही कविताहरुका शीर्षकहरु यस प्रकार रहेका छन्ः
नेप्टी मलाई माफ गर, हैन मेरो गाउँलाई के भ’को छ ? अप्रिय भोलि कसरी म स्वीकारुँ ? बेइमान छिमेकी, म गधा भएको भए, किर्नाहरुको किर्तनमा क्रन्दन, सतीले सरापेको यो देशमा, बिरामी देश, अन्तिम सम्बोधन । शीर्षकहरु नै निकै चाखलाग्दा छन् भने कविताहरु कति पढौँ लाग्ने होलान् ? भनिन्छ नि कुनै साहित्यकारको सिर्जनाहरु पढ्नुको मजा नै अर्कैै । हो, कवि देशु वनेमका सिर्जनाहरु पढ्नुको मजा नै अर्कै ।
मेरो गाउँमा एउटा करोडपति छ शीर्षकको काव्यको लाइनहरुले घत्लाग्दो यथार्थ उजागर गर्दछ ः
प्रिय नेप्टी
सोझा र निमुखा विचरा गाउँलेहरु
हेर्दाहेर्दै सुकुम्बासी भए
कति बसाई सरे कति उठिबास भए
अहिले उसको गाउँमा
सबैभन्दा ठूलो र सुन्दर घर छ
सहरमा बिल्डिङ बनाउने सुर छ
तर अभैm पनि महंगो व्याजमा गाउँलेलाई
दिएको ऋण नउठ्ने पो हो कि भन्ने
मनमा कता–कता सारै ठूलो डर छ
उसलाई सावैँ डुब्ला कि भन्ने पिर छ
मेरो गाउँमा एउटा करोडपति छ ।
नेपाली गाउँको विशेषता व्यक्त गरिएको छ यो काव्यमा । गरीब तथा सिमान्तकृत समुदायहरु चरम शोषणमा परेका छन् अझै पनि । कविले यी लाइनहरु मार्फत नेपालमा कतिपय जातिहरुको यथार्थता व्यक्त गरेका छन् । सत्ताको नजिक रहनेहरुले नेपालमा धेरै समुदायलाई सिनोतुल्य पारेका छन् । यही भाव पोखेका हुन सक्छन् कविले । कवि वनेमका यस खण्डकाव्यमा जुन मिठास र निर्मलपन पाइन्छन् ती साँच्चै नबिर्सने खालका छन् । अनि कवि वनेमका कविताहरुमा देशप्रतिको माया तथा नेपालको गिजोलिएको राजनीतिप्रतिका चिन्ता र चिन्तनहरु पनि पाइन्छन् ।
कवि वनेमका काव्य सिर्जनाहरु कति ओजपूर्ण छन् भनेर जान्न कृतिमा साहित्यकार पुण्यप्रसाद खरेलको विचार महत्वपूर्ण छ । कवि देशुको मन, देशको वर्तमान अवस्थामा अझैपनि यथार्थ लोकतन्त्र स्थापना भएको छैन । अझैपनि एकथरीको हैकम छ । एकथरी मानिसहरु शासित छन् । शान्त छैनन्, विद्रोहको ज्वालाले रन्किरहेका छन् । देशुको मनले नेपाली जनताले मानेको २००७ सालको प्रजातन्त्रलाई प्रजातन्त्र, २०४६ सालको प्रजातन्त्रलाई पनि र २०६३ मा प्राप्त गरेको भनेको लोकतन्त्र वा गणतन्त्रलाई पनि लोकतन्त्र वा गणतन्त्र मानेको छैन । दार्शनिक माध्वाचार्यको एउटा उक्ति पढ्न पाइन्छ सर्वदर्शन संग्रहमा ‘परतन्त्र्य बन्धः स्वातन्त्र्य मोक्ष’ अर्थात् परतन्त्र नै बन्धन र स्वतन्त्रता नै मोक्ष हो । यही स्वतन्त्र नभएको र परन्तन्त्रमा रहेको बोध भएको एक व्यथित्, मार्मिक कवि आफ्नो पे्रयसी नेप्टीलाई सम्बोधन गरेर अनेक गथासा गर्नुहुन्छ । तिनै गथासाहरुको कवितात्मक संकलन हो यो खण्डकाव्य भनिएको कृति ।
वास्तवमा साहित्यहरु विभिन्न परिस्थितिका उपज हुन् । सुन्दर फूलहरु हुन् । जसले पाठकवर्गमा सुगन्धयुक्त सन्देश छर्दछन् । कवि वनेमले आफूले साहित्य सिर्जना गरेको अवस्था बताए जस्तै गरी नै सिर्जना हुने हुन् साहित्यहरु । जब मानिस कुनै अनुकूल या प्रतिकुल परिस्थितिमा पर्दछ तब उसबाट घत्लाग्दा सिर्जनाहरु पलाउन सक्दछन् । वनेमका कविताहरु यसरी नै जन्मेका हुन् भन्न सकिन्छ । यो कृति गुनासा मात्र नभएर, आग्रह, अनुरोध, विद्रोह, आन्दोलन र शान्तिपूर्ण क्रान्ति पनि हो ।
अब ती नेप्टी चाहिँ को होलिन् त ? मात्र ५९ पृष्टसम्मको एकै बसाईमा पढिसकिने सुन्दर कृतिभित्रका तीन दर्जन जति घत्लाग्द काव्यहरु पढेर पत्ता लगाउने जिम्मा पाठक वर्गमा ।



























