झापा ।

चाँदीका गरगहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा झापा गाउँपालिका-३ का १९ वर्षीय निर्मल बराइली र सोही ठाउँका १९ वर्षीय दीपेश रसाइली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार साउन १४ गते करिब दिउँसो १ बजेको समयमा झापा गाउँपालिका-३ का २० वर्षीय लरेश मुर्मुको घरबाट विभिन्न किसिमका चाँदीका गरगहना चोरी भएको थियो ।
घटना पश्चात् प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा निर्मल बराइलीको घरबाट चोरी गरिएको चुरा (बाला) एक जोर, चाँदीको कल्ली एक जोर, चाँदीको बिच्छी (सिक्री) एक थान, पाउजु एक थान, चाँदीको सिक्री एक थान, चाँदीको औँठी तीन थान फेला परेको थियो ।
चाँदीका गरगहनासहित पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























