शिवसताक्षी।

विद्यालयको काम नियमित स्कूलको पढाइ, विद्यार्थीको गृहकार्य अनि उनिहरुको परीक्षा केन्द्रितका विषयबस्तु मात्र हुन् जस्तो सबैलाई लाग्छ । तर कहिलेकाहीँ त्यस्तो काम पनि विद्यालयले गर्छ, जसले बालबालिकाको मनमा गहिरो पाठ छाडिदिन्छ ।
शिवशताक्षी नगरपालिका–८ को अरुणोदय आधारभूत विद्यालयले त्यस्तै एउटा सम्झनलायक र प्रेरणादायी काम बुधबार गरेको छ । विद्यालयको प्राङ्गणमा रहेका वर र पिपलका रूख स्थानान्तरण गर्दै विद्यार्थीलाई शैक्षिक भ्रमणमार्फत प्रकृति, परम्परा र आस्थाको बन्धनमा गाँस्ने काम गरेर नौलो पाठ सिकायो । विद्यालयको वार्षिक कार्यक्रम अनुसार बनभोज बाहेकको यो नयाँ कार्यक्रम हो ।
विद्यालयको हाताभित्र भक्तवहादुर लावतीले ०४५ सालमा रोपेका वर र पिपलका रूख विद्यार्थीहरूको खेल्ने, बस्ने र रमाउने स्थानमात्र थिएनन् । ती रूखहरूले विद्यालयको आफ्नै सान दिएका थिए । गाउँलेका लागि ती ’देवताहरूको बास’ थिए भने बालबालिकाका लागि ती रुख‘छायाँका साथी’ थिए । विद्यालयको वरिपरि पर्खाल लगाउने सरकारी योजना आएपछि ती रूखलाई मास्नु पर्ने बाध्यता विद्यालयलाई आयो ।
विद्यालयकी प्रधानाध्यापक तारा लावती भन्छिन्, ‘हामी अलमल्लमा परेका थियौँ । धार्मिक मान्यता अनुसार बर र पिपलका रूख काट्न हुँदैन भन्ने संस्कार थियो । अर्कोतर्फ सरकारी संरचना निर्माणमा अवरोध पनि हुन दिन सकिँदैनथ्यो ।’
गाउँका एक अभिभावकको सुझाबले बाटो खोल्यो । ‘रूख मास्ने होइन, स्थानान्तरण गर्ने ।’ त्यो उपाय व्यवहारिक मात्र नभई सांस्कृतिक रूपमा पनि सम्मानजनक देखियो । धार्मिक विधिपूर्वक रुखको पूजा गरेर, गाउँलेहरूको सल्लाहमा नयाँ ठाउँमा लगेर रोप्ने योजना तयार भएको प्रधानाध्यापक लावतीले बताइन् ।
बुधबारको दिन विद्यालयलाई त्यही ऐतिहासिक दिन बन्यो । जब अरुणोदय परिवारका शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक र वडाध्यक्ष सन्तकुमार फेउदेनसहित सबैको सहभागितामा वर र पिपल रूख सताक्षीधाममा रोपियो । रूखहरूलाई ‘अरुणो’ र ‘दया’ उपमा दिइयो । ‘अरुणो’ छात्रको प्रतीक, ‘दया’ छात्राको ।
ती दुई रूख १८ फिटको फरकमा रोपिएका छन् । तीन महिनासम्म गमलामा हुर्काइएका यी बिरुवाहरू अब सताक्षीधामको माटोमा रोपिएर पर्यावरण, परम्परा र शिक्षा तीनैको साक्षी बन्नेछन् ।
विद्यालयका कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरूको बुधबारको दिन रमाइलो बन्यो । सताक्षीधामको एक दिने यात्रा विल्कुल नयाँ अनुभव, अध्ययन र आनन्दको संगम विद्यार्थीमा भनुभुती भईरहेको थियो । उनीहरूले सताक्षीधाम परिसरभित्रको ८७ धारा, द्वादश ज्योतिर्लिङ्ग, दिगम्बेश्वर महादेव, सताक्षी देवीको मन्दिर, बराह भगवानको स्थल, रुद्राक्ष शिवलिङ्ग जस्ता ठाउँहरू नजिकैबाट हेर्न पाए । केही विद्यार्थीहरूले सताक्षीधाम पहिल्यै आएको बताए । धेरैका लागि त्यो पहिलो पटकको भ्रमण थियो ।
‘पहिलो पटक सताक्षीधाम आएँ, धेरै नयाँ कुरा थाहा पाएँ,’ कक्षा ५ की छात्रा कृष्टिना पोर्तेलले भनिन् । ‘गुरुआमासँग सताक्षीधाम जान पाउँदा र यहाँका बारेमा सोध्न पाउँदा खुसी लाग्यो ।’ साथीहरूबीच धेरैले फोटो खिचे, कतिले नदेखेका कुरा देखे, कसैले नबुझेका कुरा बुझ्ने मौका पाए । शिक्षकहरूसमेत विद्यार्थीहरूसँगै खुशी देखिन्थे ।
कार्यक्रममा वडा अध्यक्ष सन्तकुमार फेउदेनले पनि सहभागी भएर बालबालिकासँगै रूख रोपे । ‘बर र पिपल रूखको वैज्ञानिक र धार्मिक महत्व दुवै छ । यी रूखहरूले वातावरण सफा राख्छन्, आस्थाको प्रतिक हुन,’ उनले भने ।
बर र पिपल रूख रोपिएको सानो कामजस्तो लागे पनि यसको प्रभाव भने दीर्घकालीन हुनेमा शंका छैन । यो रूख रोप्ने अभियान थिएन । यो संस्कार, सम्मान र शिक्षाको प्रयोगात्मक अभ्यास भएको विद्यालयकी अर्की शिक्षिका गंगामाया ढकालले बताईन ।
शिक्षालय अब पाठ्यक्रम मात्रै सिमित नभएर परम्परा र प्रकृतिको सम्मान सिकाउने थलो बन्नुपर्नेमा अभिभावकको पनि जोड छ । अरुणोदयले यसकोे सुन्दर सन्देश दिएको छ ।






























