विनोद सापकोटा,
झिलझिले।

शिवशताक्षी नगरपालिकामा बसोबास गर्दै आएका नेवार समुदायले पहिलोपटक क्वाँटी तथा लाखे नाचसहितको सांस्कृतिक सम्मेलन गर्न लागेका छन् । नेवार देयु दबु (नेवार राष्ट्रिय संगठन) शिवशताक्षी नगर समितिको आयोजनामा साउन २४ गते रक्षाबन्धनको दिन हुने यो कार्यक्रमले नेवा समुदायको संस्कृति, परम्परा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्नुका साथै सामाजिक एकता बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रम शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ फुलबारी चोक उत्तरको प्रस्तावित फुलबारी रङ्गशालामा बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा वि फोर ब्यान्ड, स्थानिय गायक सानाहाङ लिम्बु, रोम मगर, रोशन श्रेष्ठ लगायतका कलाकारहरूका गायन तथा नृत्य प्रस्तुति रहने छन् । नेवा समुदायको मौलिक भेषभुषा, रितिरिवाज र परिकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष प्रदिउन श्रेष्ठले बताए ।

यो कार्यक्रम नेवा समुदायको पहिलो सांस्कृतिक सम्मेलन पनि हो । यसले नेवा समुदायभित्र रहेका व्यक्तिहरूको व्यक्तित्व विकासमा टेवा पुग्ने, सामाजिक रहनसहनको आदानप्रदान हुने र सांस्कृतिक महत्वलाई अझ गहिरो बनाउने आयोजकको विश्वास छ ।
क्वाँटी के हो?
क्वाँटी नेवार समुदायको मौसमी विशेष परिकार हो । साउन शुक्ल पूर्णिमामा क्वाँटी पकाइने चलन छ । यसमा नौ थरी गेडागुडी गहत, भटमास, केराउ, मास, मुग, चना, बोडी, मसुर, मस्यौरा आदि मिसाएर अङ्कुर झारेर पकाइन्छ । मसला हालेर बनाइने यो झोलिलो सुपजस्तो परिकार स्वादिलो मात्र नभई पाचन सहयोगी र रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।
लाखे नाच के हो ?
लाखे नाच नेवा समुदायको परम्परागत नृत्य हो । राक्षसी स्वरूपको लाखे पात्रले नाचेर अशुभ शक्तिमाथि शुभाङ्गको विजय दर्शाउँछ । यो नाच गुरु पूर्णिमा अर्थात (जनै पूर्णिमा) आसपास सुरु हुन्छ । लाखेनाच दशैंसम्म विभिन्न ठाउँमा देखाईने प्रचलन् छ । शिवशताक्षीमा हुने लाखे नाच नगरका बजार र टोलटोलमा प्रस्तुत गरिने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।
नेवा समुदायलाई एकताको सूत्रमा बाँध्ने, स्थानीय संस्कृति प्रेमीहरूको सम्मान गर्ने, विपद् व्यवस्थापन कोष निर्माण गर्ने, सताक्षीधाम क्षेत्रको प्रचारप्रसार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको सचिव सचिन श्रेष्ठले बताए ।
३ लाख ५० हजार रुपैयाँको खर्च अनुमान गरिएको यस कार्यक्रममा कम्तिमा २ हजार दर्शक तथा संस्कृति प्रेमीको उपस्थिति रहने अपेक्षा आयोजकले लिएको छ । आयोजकले कार्यक्रमस्थलमा निःशुल्क क्वाँटी खाजा–नास्ताको व्यवस्था समेत मिलाउने कोषाध्यक्ष चन्द्र प्रधानले बताएका छन् ।
शिवशताक्षी नगरपालिकामा ७४ हजार ७७ जनसंख्यामा २ हजार २५१ नेवार समुदायका नागरिकको बसोबास छ । यो संख्या कुल जनसंख्याको ३.०३ प्रतिशत हो । नगरमै पहिलोपटक आयोजना हुन लागेको यो कार्यक्रम नेवा समुदायको मौलिकता झल्काउने सांस्कृतिक कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।





























